देउडामय शिवधाम, एकसाथ नाच्छन् ३ पुस्ता

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता छुट्टै रौनक देख्न पाइन्छ। हरेक दिन यहाँ ९० वर्षीय वृद्धदेखि किशोरसम्म भेला हुन्छन्। सबै एउटै गोलो घेरामा गोलबद्ध हुन्छन्। खुट्टाको चालमा चाल मिलाएर तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन्। 

गोलो घेराको बीचमा देउडिया ९गीतकार०ले गीत गाउँछन्। त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्‍याउँछन्। शिवधाम अचेल देउडामय बनेको छ। महेन्द्रनगरका विभिन्न ठाउँमा आजभोली यसरी नै तीन पुस्ता एक साथ देउडामा रमाएको छ। जसलाई जता पायक पर्छ त्यतै त्यतै देउडा खेल्ने गरिएको छ। 

८४ वर्षीय रामदत्त जोशी देउडा खेल्कै लागि बैतडीको ग्वाल्लेकबाट महेन्द्रनगर पुगेका छन्। उनी युवा जस्तै देउडा खेल्न सक्रिय छन्। “अचेल पहाडमा जनसंख्या थोरै छ, देउडा खेल्न पहिला जस्तो रमाइलो छैन, त्यसैले यहाँ आएको हुँ,” देउडा खेल्दै गरेका जोशीले भने, “मान्छे बूढो भए पनि मन बूढो हुँदैन भन्थे हो रैछ।” 

जोशी १६ वर्षको उमेरदेखि देउडा खेल्दै आएका हुन्। “देउडा खेल्दा आनन्द आउँछ, सबैसँग भेट हुन्छ,” उनले भने। जोशी देउडा गीतकार पनि हुन्। देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको उनले बताए। “कैलाली कञ्चनपुरलगायत सुदूरका सबै जिल्लामा देउडा खेलेको छु,” जोशीले भने, “देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्छ। यसमै आनन्द लाग्छ।”

देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत सिकिने भएकाले युवापुस्ता समेत देउडामा आकर्षित हुने गरेका छन्। “गीतमार्फत सवाल–जवाफ हुँदा पुराना कुरा जान्ने अवसर मिल्छ,” स्थानीय नरेश पन्तले भने, “गीतमार्फत मनोरञ्जन पनि हुने, हाम्रो पुर्खा र देवी–देवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ।”

देउडामा गीतकारले देवी–देवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा समेत गीतमार्फत सवालजवाफ गर्ने गरेका छन्। गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ। देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो। यो विधा लोकगीतसँग सम्बन्ध राख्छ। देउडा गायन र खेल दुवै रूपमा प्रस्तुत हुने गर्छ। देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतालाको तालमा घुम्ने गरिन्छ। पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन्।

“देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो,” साहित्यकार कविराज भट्टले भने, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो।” यो सुदूरपश्चिमको  ऐतिहासिक, धार्मिक महत्त्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उनले बताए। देउडामा देवगाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ।

“देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्छ,” भट्टले भने, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल उत्तर दिनुपर्ने हुन्छ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यंग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक संघका अध्यक्ष रमेश पन्त बताउँछन्। 

“यसमा समाजका राम्रा नराम्रा पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्,” उनले भने, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ।”

देउडामा सुख दुःख, मायाप्रेम, हास्यव्यंग्यका साथै विविध ज्ञानगुन र अर्ति उपदेशका प्रश्न उत्तरमा आधारित गीत प्रस्तुत गरिने गीतकार मञ्जु गिरीले बताइन्। “माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौँ,” उनले भनिन्, “देउडामार्फत हुने सवालजवाफ रोचक हुने भएकाले युवापुस्तादेखि पाका पुस्तासम्मको सहभागिता हुने गरेको छ।” गौरा पर्वमा गौराको महत्त्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको उनको भनाइ छ।

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ। देउडामा कुनै भेदभाव पनि हुँदैन। यो खेल नारी, पुरुष, युवा, बालबालिका सबैले एकसाथ खेल्न पाउँछन्। यसमा जातीय विभेद पनि हुँदैन।

पछिल्लो समय देउडाको महत्त्व अझ बढ्दै गएको छ। सुदूरपीश्चमेली रहेका ठाउँमा अचेल देउडा खेल्ने गरिएको छ। पछिल्लो समय विश्वका विभिन्न मुलुक जहाँ सुदूरपीश्चमेली रोजगारका लागि गएका छन् त्यहाँ पनि देउडा खेल्ने गरेका छन्।