अफ्रिकी मुलुक ग्याबोनमा सेनाद्वारा सत्ता कब्जा, 'कु'विरुद्ध बाेल्न राष्ट्रपतिकाे आग्रह

सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई  ‘कु’ विरूद्ध बाेल्न आह्वान गरेका छन्।

मध्य अफ्रिकी मुलुक  ग्याबोनमा सैन्य विद्रोह भएको छ। गणतन्त्रका सबै संस्था भङ्ग भएकाे घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता कब्जा गरेकाे बीबीसीले जनाएकाे छ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन्। विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति अलि बोन्गोले दुई तिहाइ मतले  जितेको निर्वाचन आयोगले बताएको छ। बोङ्गो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य भएकाे छ। 

तेलको धनी मध्य अफ्रिकी राज्यमा सैन्य अधिकारीहरूले ‘कु’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई  ‘कु’ विरूद्ध ‘हल्ला गर्न’ आह्वान गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको क्लिपमा उनले भनेका छन्- “मलाई र मेरो परिवारलाई पक्राउ गर्ने यहाँका मानिसहरू (सेना) विरूद्ध आवाज वुलन्द पार्न म स्वदेश र विदेशमा रहेका हाम्रा सहयोगीहरूलाई आग्रह गर्दछु।” 

अहिले बाेन्गाेलाई उनकै घरमा नजरबन्दमा राखिएकाे छ। सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको थियाे। शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोङ्गोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुवा ओमरको निधन भएपछि उनले कार्यभार सम्हालेका थिए। 

यसअघि बोन्गोका छोरा तथा निकट सल्लाहकार नुरेदिन बोन्गो भ्यालेन्टिन, उनका चिफ अफ स्टाफ इयान गिस्लेन नगोउलोउ, सहयोगी, राष्ट्रपतिका अन्य दुई सल्लाहकार र सत्तारुढ ‘ग्याबोनिज डिमोक्र्याटिक पार्टी (पीडीजी)का दुई उच्च अधिकारीलाई पक्राउ गरिएको एक सैन्य नेताले बताएका थिए।