सरकार र नियामक निकायहरूले लिएको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष ढकाल

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरूले लिएको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन्।

काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरूले लिएको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन्।

बुधवार काठमाडाैँमा बाह्रखरी मिडियाले आयाेजना गरेकाे ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताएका हुन्। उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरूलाई तलब खुवाउन पनि समस्या आएको बताए। सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको गुनासाे व्यक्त गरे। 

उनले भने,- "मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ। सरकारको नीतिगत कारणबाट वा कोभिडको कारण वा विश्वव्यापी समस्याको कारण अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ। सरकार र नियमक निकायहरूले लिने नीतिहरूमा निजी क्षेत्रले गर्न हुँदैन भन्दा भन्दै पनि आयात प्रतिवन्ध लगायत लगाउने काम भयो। त्यो बेला सरकारले निजी क्षेत्रले सधैँ व्यापारको मात्रै कुरा गर्छ। आफ्नै मात्रै कुरा गर्छ। समाजिक उतरदायित्व लिने हिसाबले कुरा गर्दैनन् भन्ने आराेप लगायाे।"

सरकारको नीतिगत व्यवस्था,कोभिड महामारी,विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको उनकाे भनाइ छ।