जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ। 

बेलबारी– पूर्वी तराई क्षेत्रमा जुटको उत्पादन बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार ३५१ मेट्रिक टन जुट उत्पादन भएको थियो। 

आव २०७९/७० मा सात हजार ४०९ मेट्रिक टन जुट उत्पादन भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए। 

मोरङमा विगतमा प्रतिहेक्टर १.४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्यांक छ। यस वर्ष उत्पादन बढेर प्रतिहेक्टर १.५ मेट्रिक टन पुग्ने प्रमुख सिंहले बताए। 

तर, जुटको मूल्यमा भने गिरावट आएको छ। केन्द्रका अनुसार २०७८/७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार थियो। गत आवमा प्रतिक्विन्टल नौ हजार रुपैयाँमा कारोबार भएको जुट यसवर्ष भने आठ हजार ३०० मा झरेको प्रमुख सिंहले जानकारी दिए। 

कोशी प्रदेशमा छ हजार ९६२ हेक्टर जमिनमा जुटखेती हुने गरेको छ। झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ। ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रंगेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ। 

मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ। झापामा ५५० हेक्टर र सुनसरीमा एक हजार ३३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ। नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ। 

रातो खैरो रङको जुटलाई एक, सेतो रङको जुटलाई दुई र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ।