दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो।
काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ।
उनले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न साउन २२ गते उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलान्चोकका डीएसपी ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो। उनी नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए। उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो। सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले किर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले बताए।
“निमा लामाको नामबाट नागरिकता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सीआईबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागरिकता भएको पुष्टि गरेका छौँ,” उनले भने। समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ। थप अपराध अनुसन्धान भने सीआईबीले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ।
दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो। १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो।
उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ। केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो। गत साउन ३ गते ब्रेक ‘शु’मा राखेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन विभागले बरामद गरेको थियो।
अहिले उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छ विदेशीसहित २५ जना पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन्। सुन प्रकरणकै सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
