सुशासन कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी स्वार्थबाट माथि उठ्नुपर्छ : बालेन शाह

काठमाडौँ महानगर प्रमुख शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीडीओले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमानदारीपूर्वक काम गरे शहरमा सुशासन ल्याउन सफल भइने बताएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय सबैखाले स्वार्थबाट माथि उठे शहरमा सुशासन कायम हुने बताएका छन्। 

बिहीबार महानगर प्रहरीको ३१ औँ नगरप्रहरी दिवसका अवसरमा आयोजित  कार्यक्रममा उनले सबै संस्थाले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमानदारीपूर्वक काम गरे शहरमा सुशासन ल्याउन सफल भइने बताएका हुन्। नगरप्रहरी बलले कसैको प्रभावमा नगरी कार्य गरेको दाबी गर्दै उनले सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले काम गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे।

“जसरी हाम्रो नगरप्रहरी बल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक प्रभावबिना सुशासनका लागि दबाबबिना काम गर्न सफल भएको छ। त्यसरी नै हाम्रो नेपाल प्रहरीको महानिरीक्षकज्यू पनि हुनुहुन्छ, सशस्त्र प्रहरीका महानिरीक्षकज्यू पनि हुनुहुन्छ, सशस्त्र प्रहरी र नेपाल प्रहरीले नि यसरी नै कुनै पोलिटिकल दबाबमा नआईकन गर्दिनुभयो भने नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरीलगायत सीडीयो कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ,” उनले भने। उनले त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीले ध्यान दिए मिलेर सहकार्यमा काम गर्न सकिने धारणा व्यक्त गरे।

त्यस अवसरमा प्रमुख शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरी बललाई निर्देशन दिए। उनले नगरप्रहरीलाई संवेदनशील भएर हिम्मतका साथ काम गर्न आग्रह गरे। उनले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भूमिकाको प्रशंसासमेत गरेका थिए।

महानगरले प्रहरी दिवसको अवसरमा नगरप्रहरी बलबाट नगरमा सुशासन कायम गर्न सहयोग पुर्‍याएको तथा उत्कृष्ट काम गरेका नगरप्रहरीलाई सम्मान गरेको छ। महानगरले नगरप्रहरी बलका सहायक निरीक्षक लीला थापा क्षेत्रीलाई महानगर गौरव पुरस्कारबाट सम्मानित गरेको छ। पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ। त्यस्तै, उत्कृष्ट महानगर प्रहरी पुरस्कारबाट नगर प्रहरी निरीक्षक विष्णुराज शर्मा दाहाल सम्मानित भए। महानगर प्रहरी पुरस्कारबाट नगरप्रहरी नायव निरीक्षक कर्णबहादुर थापा, नगरप्रहरी सहायक निरीक्षक नवराज अधिकारी, नगरप्रहरी सहायक निरीक्षक अमरविक्रम कार्की, नगरप्रहरी हवल्दार शुरेस डेउडा, नगरप्रहरी हवल्दार रामप्रसाद भुसाल सम्मानित भएका छन्।