रक्षामन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पतालमा पोस्टेटको शल्यक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ।

अस्वस्थ भएर बुधबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका खड्काको बुधबार राति नै शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ।

बुधबार राति अस्पतालका प्राविधिक सहायक प्राध्यापक डा. भरत भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। शल्यक्रियापछि मन्त्री खड्कालाई अस्पतालकै नर्मल वार्डमा सारिएको उनको सचिवालयले जनाएको छ। 

मन्त्री खड्कालाई भेटेर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीघ्र स्वास्थ्य लाभको काम गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री दाहाल उपचाररत रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेका थिए।