तातोपानी नाकाबाट ८ वर्षपछि आवतजावत

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण नाका बन्द गरिएको थियो।

मेलम्ची– नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत शुरू भएको छ।

शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका हुन्। 

सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटासहित तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीलाई नाकामा चिनियाँले स्वागत गरेका थिए। 

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्ण रूपमा बन्द थियो। नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण नाका बन्द गरिएको थियो। भूकम्पबाट सिर्जित कठिनाइ पन्छाएर सीमित रूपमा मात्रै सञ्चालन भएको नाका २०७६ फागुनमा कोरोना महामारी फैलिएपछि पुनः बन्द भएको थियो। 

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ बाट दोहोरो आयात–निर्यात खुलाइएको थियो। केही समयअघि चिनियाँ अधिकारीले मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयारी रहेको खबर पठाएका थिए। 

त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।