पाँच वर्ष पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ : कामु प्रधानन्यायाधीश कार्की

उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे।

काठमाडौं– कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन्।

नेपाल कानुन व्यवसायी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिका मुद्दाको चाङलाई व्यवस्थापन गरेर पीडितलाई न्याय दिन यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन्।

"न्यायालयको सुधारको दिशामा केही प्रयासअगाडि बढाइराखेका छौँ। अहिले हामीलाई सबैभन्दा ठूलो समस्या भनेको मुद्दाको संख्या नै हो। १३ वर्षदेखिका मुद्दा सर्वोच्च अदालतमा छन्। सर्वोच्च अदालतमा भएको भारलाई कम गर्ने विषयमा अत्यन्तै चिन्तित छौँ," उनले भने।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दालाई सल्टाउनका लागि त्यसलाई स्थगितको लिस्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए। उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे। 

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंसासमेत गरे। 

न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उनले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाको रूपमा काम गरेको बताए। उनले बार र बेञ्चको सहकार्यमा मात्रै न्यायलयलाई उचाइ पुर्‍याउन सकिने पनि बताए।