माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको भूभाग नसमेटी जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको बताउँदै भने, “मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस बेलामा कुराकानी हुन्छ। र यसबारेमा प्रष्ट हुनुपर्छ। सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट गर्नुपर्छ र यो विषय त्यसरी पहलकदमी अगाडि बढाउनुपर्छ भन्ने लाग्छ।”
नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ छ। उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए। “चीनले जारी गरेको नक्साको सम्बन्धमा त्यो के भयो? किन त्यस्तो हुन गयो? किन त्यसरी धेरै महत्त्वपूर्ण विषयलाई समेटिएन? यसको बारेमा त कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,” उनले भने।
उनले आफूले थापा पाएअनुसार तत्कालीन सरकारले सदनबाट पारित नेपालको ‘चुच्चे नक्सा’बारे चीन सरकारलाई जानकारी गराएको बताउँदै त्यसबारे प्रधानमन्त्री दाहालबाट थप जानकारी लिने बताएका हुन्।
त्यस्तै फरक प्रसंगमा प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसद्बाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताए। औपचारिक र संस्थागत रूपमा १२बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने उनको भनाइ छ। माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे।
नेपालको सार्वभौमसत्ता सम्पन्न संसद्ले पास गरेको बताउँदै उनले भने, “अरू धेरै कुराभन्दा पनि त्यहाँ (संसद्बाट) पास भएको १२ बुँदे घोषणापत्र सम्झौताको अंग बन्नुपर्छ भन्ने छ। त्यसै अनुसार जान्छ।” वर्तमान सत्तारूढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने उनको भनाइ छ। उनले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
