माधव नेपालले नेता–कार्यकर्तालाई भने : सके काम गर्नूस्, नसके बाटो छोड्नुहोस्

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे। उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए। उनले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आबद्ध पार्टीका सबैलाई आग्रह गरे।

उनले नेता–कार्यकर्तालाई खुट्टा नतानी आपसमा मिलेर काम गर्न आग्रह गर्दै सके काम गर्न र नसके बाटो छोड्न पनि निर्देशन दिए। “तपाईंहरूलाई म भन्न चाहन्छु, खुट्टा तान्ने होइन। यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन। काम गर्नूस्। गर्नुहुन्न भन्ने पन्छिनूस्। कि काम गर्नूस् कि बाटो छोड्नुहोस्,” उनले भने।

उनले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरू पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। विद्यार्थीलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ। उनले नेपालको शिक्षण संस्थालाई बढवा दिने नीति बनाउनुपर्ने बताए।