घर छाड्नेका दशैँ-तिहार: नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू

क्षितिजलाई टिकाको दिन शहरै बन्द होला भन्ने पूर्वाभास थिएन। घट्टेकुलोबाट निस्केर रत्नपार्क आसपास फेरो लगाउँदा उनी थाके, खाना खाने ठाउँ भेट्टाएनन्।

एक समय थियो, जतिखेर मान्छेका हातमा अहिलेझैँ स्मार्टफोन हुन्थेनन्। घरमा रेडियो हुनु मात्रै रवाफ (स्ट्याटस सिम्बोल) को विषय हुन्थ्यो। त्यस निस्पट्ट अँध्यारो युगमा बाँचेका हामी सूचना र प्रविधिको आजको जस्तो दिन आउला भनेर कल्पनै गर्न सक्दैनथ्यौँ। एउटा गाउँबाट अर्को गाउँमा खबर पठाउनु धेरै चुनौतीपूर्ण थियो।

खबर आदानप्रदानको माध्यम चिठीपत्र थियो, टाढा भएका आफन्त/साथीभाइलाई चिठी पठाइन्थ्यो–सरकारी हुलाक कार्यालयमार्फत। मृत्यु र बिमारीको खबर पुर्‍याउन स्वयं मान्छे जाने/पठाउने चलन थियो। केही ठूला शहरबजारबीच भने उतिखेर पनि तारवाला टेलिफोन थियो, महँगो भएका कारण त्यसको पहुँच हुनेखाने/सम्भ्रान्त बीचमै सीमित थियो। टेलिफोनका तारका कुरा छाडौँ, बिजुलीका तारसमेत गाउँ बस्ती पुगेका थिएनन्। मट्टितेलमा सलेदो (सुतीको कपडा) चोबेर बाल्दै रात साँझको अँध्यारो हटाउँथे गाउँले/देहातीहरू।

अँध्यारो यस्तो हुन्थ्यो, साँझको सात बज्दा नबज्दै खानपिन सक्काएर बिछ्यौना तताउँथे गाउँलेहरू। जुठा भाँडा बेलुका माझ्न प्राय: सम्भव थिएन। माझेकै खण्डमा पनि भोलि पल्टको उज्यालोमा जुठो बाँकी छ कि भनेर नियाल्दै फेरि पखाल्नुपर्थ्यो। 

रजिस्ट्री गरिएका चिठीलाई बढी भरपर्दो ठानिए पनि पाउनुपर्ने व्यक्तिको हातमा पुग्छ नै भन्ने कुनै ग्यारेन्टी थिएन। उतिखेर आम प्रचलनमा चिठीका दुई क्याटगरी थिए; एउटा साधारण, अर्को रजिस्ट्री (दर्तावाल)। रजिस्ट्री चिठीचाहिँ सम्बन्धितको हातमा नपरे फर्केर पठाउने व्यक्तिकैमा आइपुग्थ्यो।

पाउनुपर्नेले चिठी पाए पनि प्रतिउत्तर पठाउँदासम्म समय निकै घर्किसकेको हुन सक्थ्यो। परदेशबाट "म बिरामी भएँ बाआमा, उपचार गर्दैछु" भनेर छोराले चिठी पठाउँथ्यो, चिठी आमाकहाँ पुग्दा छोरो सशरीर नहुन पनि सक्थ्यो।

अहिले एकाध घण्टा कोही आफन्त/प्रियजन जानकारीबिना सम्पर्कबाहिर हुँदा त हामी कायल हुन्छौँ, उतिखेर वर्षौं परदेशिएको मान्छेको खोजखबर नै हुन्थेन। जिउँदै छ कि बित्यो, थाहै हुन्थेन। पढ्न लेख्न जानेकाले विदेशबाट चिठी पठाउँथे, तर जो चिठी लेख्न जान्दैनथे वा अरूलाई लेखाएर पठाउन सक्दैनथे, तिनका परिवार 'परदेशी छोरा/लोग्ने/भाइ/बाऊ'को प्रतीक्षा गर्दै बाटो हेर्दै बस्थे। चाडपर्वमा यो प्रतीक्षा अझै सघन/पीडादायी हुन्थ्यो। गाउँमा खान लाउन नपुगेर बिरक्तिँदै परदेश भासिएकाहरू कोही दुईचार वर्षमा टुप्लुक्क घर आइपुग्थे, कोही त १० र १५ पछि पनि आइपुग्थे।

साँच्चै हामीले कति छिटो परिवर्तनको युग भेट्यौँ!

१९६८ मा काठमाडौँको फर्पिङमा नेपालकै पहिलो जलविद्युत सेवा सञ्चालनमा आए पनि नेपालका अधिकांश गाउँघरमा बिजुलीको उज्यालो पुग्न गणतन्त्र नै पर्खनुपर्‍यो। जानकारहरूका अनुसार त्यसको दुई वर्षपछि नेपालमा टेलिफोन आएको हुनुपर्छ। तर तारवाला त्यो टेलिफोन दूर दराजमा कहिल्यै पुगेन। अहिले अधिकांश गाउँ वस्तिमा बिजुली र स्मार्टफोन पुगिसकेको छ। 'राष्ट्रिय बिजुली' नपुगेको ठाउँमा पनि लघु जलविद्युतका कारण मान्छेका घर आँगन र गोठ उज्याला छन्। सूचना र प्रविधिको यति धेरै विकाश लोकतन्त्र कालमै भयो।

नागरिकको आत्मसम्मानको उज्यालो र बिजुलीको उज्यालो दुवै कोणबाट हेर्दा त्यो युग निस्पट्टै अँध्यारो थियो। त्यस अँध्यारोमा कतिपयको मुहारमा खुसी ल्याउँथ्यो बेलाबेला आउने चाडपर्वले। दुई चार पैसाको समेत जोहो गर्न कठिन हुनेका लागि त पर्व उल्टै कहर हो र छँदै छ।

गाउँबाट पढ्न भनेर २०४३ सालमा काठमाडौँ आएका रमेश क्षितिज पनि एक प्रकारले लाहुरे नै थिए। सल्यानमा जन्मेर दाङको मिरौलीमा हुर्केका उनी काठमाडौँको नेपाल ल क्याम्पसमा कानुन विषयमा स्नातक पढ्दै थिए। २०४८ सालको दशैँले छोपिसक्दा उनले घर जानका लागि सिधै  दाङ जाने बसको टिकट पाएनन्। छतमै चढेर या बसभित्र मुढा राखेर जान्छु भन्दा पनि पाएनन्। उतिखेर लामो यात्राका बसमा दुई तीन दिनको यात्रासमेत बसको छतमा चढेर यात्रा गरिन्थ्यो। पर्याप्त सवारी साधन नहुनु कारण थियो। 

काठमाडौँबाट नारायणगढ, नारायणगढबाट बुटवल र बुटवलबाट गर्दै पनि घर जान सकिन्थ्यो, तर त्यसरी जाँदा घर पुग्न धेरै दिन लाग्थ्यो। अतः उनले घर नजाने निधो गरे। नजिकै स्नातकको परीक्षा पनि आइरहेकै थियो। आफू नजाने खबर घर पुर्‍याउन सम्भव थिएन। काठमाडौँ आएर मात्र टेलिफोनको सेट देखेका थिए उनलाई गाउँमा खबर पठाउन सम्भव भएन। घरपरिवारले छोरो/दाइ आउँछ भनेर पर्खेर बसे, यता क्षितिज भने दसैँको टिकाको दिन झन्डै भोकै परे।

काठमाडौँको घट्टेकुलो डेरा गरेर बस्ने उनी आफ्नो कोठामा नभई सधैँ होटेलमा खाना खान्थे। कोठामा पकाउने तुल्याउने भाँडाकुँडासमेत थिएन। होटेलवालाले अघिल्लै दिन टिकाको दिन खाना नपाक्ने पूर्व सूचना दिएका थिए। तर क्षितिजलाई टिकाको दिन शहरै बन्द होला भन्ने पूर्वाभास थिएन। (गाउँघरका मान्छे गाउँ फर्कने कारणले गर्दा त्यस समय खासगरी दशैँमा शहरहरू प्राय: चकमन्न हुन्थे।) घट्टेकुलोबाट निस्केर रत्नपार्क आसपास फेरो लगाउँदा उनी थाके, खाना खाने ठाउँ भेट्टाएनन्। किनेर केही खाऊँ न त भन्दा पसलसमेत खुलेको पाएनन्। लखतरान उनी कोठामा फर्के र ओच्छ्यानमा पल्टे। 

यति खेरसम्म उनका मनमा धेरै कुरा खेले। घरमा आमाले खाना पस्केको, बहिनीहरूले दाइको बाटो हेरेकोलगायत कुरा कल्पे।

भोकले कायल भएका उनी कुनै साथीकहाँ जान सके त्यहाँ केही खान पाइएला कि भन्ने ठाने। मैतीदेवी मन्दिर नजिक बस्थे उनका एक साथी–झापाका रेवत खरेल। उनीचाहिँ पक्कै घर गएका छैनन् होला भन्ने कामना गर्दै बेलुकाको नौ बजेतिर त्यता लागे। क्षितिजको अनुमान सही निस्कियो। उनी खाना खाएर भर्खरै सुतेका रहेछन्।

यति हुँदासम्म क्षितिजलाई आफू भोको रहेकोबारे साथीलाई भन्न असहज लाग्यो। तर झापाली मित्रले फ्याट्ट आफै सोधेर उनलाई सजिलो पारिदिए, "तिमीले खाना खायौ त?" क्षितिजले नखाएको बताए। खरेलले भने, "अघि नै भन्नुपर्दैन त? तरकारी पहिल्यै बनाएर राखेको छ। फ्याट्ट प्रेसर कुकरमा भात पकाउँछु। भैगो त।"

टिकाको दिन संयोगले प्राप्त खाना खाएर ११ बजे कोठामा फर्केपछि क्षितिजले कापीमा गीत लेखे: 

दशैँ सम्झेँ तिहार सम्झेँ अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्ला अग्ला पहाडहरू

लाहुर/जागिर/अध्ययनबाट समय मिलाएर चाडबाडमा परदेश/शहरबाट गाउँघर/देहात फर्कनु सबैका लागि चुनौतीपूर्ण हुन्थ्यो/हुन्छ, जसरी त्यस साल क्षितिजलाई भयो। बसको टिकट नै उनको अगाडि अग्लो पहाड भएर उभियो। मुखैको परीक्षा सानोतिनो ढिस्को हुन गयो। रहर हुँदाहुँदै, आफ्नो पाखा र पखेरामा बाआमा, बहिनीसँगै चाड मनाउने र पिङ खेल्ने उनको रहर त्यस साल पूरा हुन पाएन। कुनै साल पनि दशैँतिहार नछुटेको क्षितिजलाई हुनुसम्म सकस भयो।  

रातिसम्म भए पनि आउँछ कि भन्दाभन्दै
भाग्यो होला खुसी त्यसै सधैँ औँला गन्दागन्दै
लायौ होला सबैलाई खानेकुरो भागबन्डा
सानो रहिछ संसार यो आमा तिम्रो मायाभन्दा

यो नियति धेरै परदेशिएका सन्तानको परिवारको हुन्थ्यो। सञ्चारको व्यापकताले त्यो समस्या अहिले छैन। अहिले त कमसेकम सन्तान घर आउन नमिल्ने सूचना पहिल्यै पाइन्छ। तर पहिले त कतै खोलापारि, डाँडा पारि र तल मैदानबाट कोही घर/गाउँतर्फ आउँदै गर्दा "हाम्रै छोरो, बा, दाइ पो होला कि!" भन्दै परिवारका सदस्य आँखा च्यात्दै ढुकी बस्थे।

नजिकै सो व्यक्ति आइपुग्दा आफ्नो परिवारको सदस्य नरहेको थाहा हुन्थ्यो र बाटो हेरेर बस्नेको मन मन झनै अमिलो हुन्थ्यो। यति खेरसम्म त उ पक्कै आउला भन्दाभन्दै अँधेरी रातसम्म औँला गनेर बस्नुको कष्ट वर्णनातित हुन्थ्यो, जसरी भीमनिधि तिवारीको एकांकी 'टिका'मा मध्यरातसम्म बिदेसिएको छोराको आसमा आमा बस्छिन्। 

शहरबजार, लाहुर या भर्ती (सेना/प्रहरी) मा कमाउन गएका लोग्ने, बाउ, छोरा र दाजुभाइ (छोरी मान्छे शहर/बजार/विदेश गएर जागिर खाने कुरा दुर्लभ विषय थियो तीन दशक अघिसम्म पनि।) चाडपर्वको छेको पारेर लाहुरेहरू गाउँ फर्कँदा तिनका घर कमेरो-माटोले रङ्ग्याएका घर झनै उज्याला हुन्थे। छोरा गाउँ फर्केर चाडबाडलाई सजिलो बनाइदिँदा बाआमा दंग पर्थे। भाइबहिनी फुरुङ्ग। लोग्ने/प्रेमीको दर्शन पाउँदा श्रीमती/प्रेमिका खुसीले मखलेल। विदेशतिर काम गरेर, केही पैसा कमाएर फर्कनेलाई धेरैलाई पहाडतिर लाहुरे भन्थे। कुनै जमानामा नेपालीहरू कमाउनकै लागि पाकिस्तानको लाहोरसम्म जाने भएकाले त्यसयता घर छाडेर अलि पर कमाउन जानेलाई लाहुरे भनिएको कथन छ।

यहाँनिर क्षितिजले मर्मभेदी सन्दर्भ कोट्याएका छन्, जहाँ आमाले सन्तानलाई खाने कुरा भाग लगाउँछिन् र एक भागचाहिँ छोरा/छोरीलाई लगाउँछिन्। छोरा/छोरी आउने र नआउने टुंगो छैन, तर घरमा खानाको भाग लागिसक्छ! पक्कै आउला/आउली भन्ने ठान्दै आमाहरू पहिल्यै खाना पस्केर राख्छन्। क्षितिज ठिकै भन्छन्–आमाको मायाको तुलनामा संसार सानो छ। सृष्टिका अधिकांश प्राणीको सन्तान प्रतिको ममता हेर्दा त्यस्तै लाग्छ–आमाभित्र प्रकृतिले विराट प्रेम रोपण गरेको छ।

गाउँभरि रंगीचंगी खेले होलान् देउसी भैलो
यसपालि त फेरूँ भन्थेँ चौबन्दीको धुलोमैलो
रोपी होली बहिनीले आँगनीमा सयपत्री
बिर्स्यो भनी रोई होली मैले सम्झेँ कति कति

लाहुरेहरूले शहर/विदेशबाट 'गाउँ लैजाने' दशैँमा आफ्ना भाइबहिनीका, बाआमा, प्रेयसीका लागि नयाँ लुगाफाटो र शहरीया खानेकुरा पनि हुन्थे। गाउँघरमा पाउरोटी र क्यान्डीसमेत 'डेलिकेसी' (अति मिठो भोजन) हुने त्यस युगको नोस्टाल्जिया क्षितिजभन्दा झन्डै डेढ दशकपछि जन्मिएको पङ्क्तिकारलाई समेत छ भने, उनी र परिवारमा पक्कै थियो।

null

त्यस साल धुलोमैलो लागेका चौबन्दीको साटो नयाँ चौबन्दी लग्ने क्षितिजको आकांक्षा पूरा भएन, आँगनमा फुलेको फूलका माला कसलाई लगाउने होला भन्दै तिहारमा समेत दिदीबहिनी बिरक्तिएलान् भन्ने सुर्ता लाग्यो क्षितिजलाई। दाइ या भाइले बिर्स्यो भन्दै तिहारमा मन कोक्याएर रोएका धेरै गाउँले दिदीबहिनी यस गीतको पङ्क्ति सुन्दै गर्दा याद आउँछन्। 

एक झमटमै क्षितिजले यो गीत लेखे। हृदयमा जे आयो, त्यही लेखे। पछि कुनै पत्रिकामा दशैँ तिहार शीर्षकमा सो गीत छापियो पनि। २०५० सालमा क्षितिज रेडियो नेपालद्वारा आयोजित एक गीति प्रतियोगितामा सर्वोत्कृष्ट गीतकार ठहरिए। क्षितिजको त्यस गीतलाई उत्कृष्ट सङ्गीतकार घोषित भरत लामाले सङ्गीत गरे। केशव उप्रेतीको स्वरमा रेडियो नेपालमा ५० या २०५१ सालमा यो गीत रेकर्ड भयो। त्यसयता कमसेकम दशैँ तिहारताक यो गीत बजिरहेकै छ। कतिले बिर्से होला, तर पनि रेडियो नेपालकालीन एक पुस्ताले यो गीत सुनेकै हुनुपर्छ।)  

दर्जा र दाम फरक होलान्, अधिकांश नेपालीका घरमा लाहुरे छन् आज। पहिले छोरा मात्रै लाहुरे हुन्थे, अहिले छोराबुहारी पनि लाहुरमा छन्। तिनले विदेशमा बगाएको रगत पसिनाले नेपालीका यताका घर कोठा उज्यालासमेत छन्, तर चाडबाडमा सबैका घर सधैँ उज्याला छैनन्।

विश्वव्यापीकरण र सूचनाको उर्लँदो प्रवाहमा मान्छेका सपना अझै फैलिएर क्षितिजको उपल्लो कुनामा पुग्न खोज्दैछन्। पहिले केही दर्जन पहाडले चाडपर्वको बाटो छेक्थे, अहिले त हजारौँ पहाड पर्वतले छेकिरहेका छन्। जागिरको चापले छेकेका छन्, बिदा नपाइनुको मार या हवाई टिकटको महँगीले बाटो छेकेका छन्।