करिब ११ वर्षकी मेरी साथी चिम्पुसँगको मेरो सम्बन्ध ‘सौख’को उपज होइन, २०७२ सालको महाभूकम्पपछि शुरू भएको एक अनाथको संघर्ष र प्रेमको कथा हो।
“पप्पु दाइ! अगाडि चोकमा एउटा स्यानु कुकुर आको छ! डराएको छ! हेर्न आउनु न!” भूकम्प गएको केही महिना पछिको कुरा हो। हाम्रो टोलछेउ बस्ने बाह्र वर्षकी पुतली तामाङको तिखो पुकारले एकाबिहानै मेरो निद्रा खुल्यो।
“अर्को आपत्! फेरि अर्को कुकुरको जिम्मा मैले लिनु नपरोस्, प्रभु! घरमा हेर्ने अरू कोही छैनन्! सधैँ मलाई नै यस्तो पर्छ! बाहिरकाले पनि मलाई नै बोलाउँछन्!” सोच्दै म पुतलीसँगै चोक पुगेँ। चोकमा एउटा ठेलागाडामुनि डल्लोझैँ कुक्रुक्क परेर बसिरहेकी सानो पोथी कुकुर देखेँ। उसले आफ्नो टाउको उठाई र जाडोले काँप्दै रसिला आँखा पिलिक पिलिक पार्दै मलाई एकटक हेरिरही।
'हरे! कति टीठलाग्दी!'
मैले “चुचु” गर्दै उसलाई परैबाट बोलाएँ। उसले कुनै प्रतिक्रिया नदिएपछि म घुँडा टेकी ऊ बसेको कुनातिर गएँ। डरले आफ्ना आँखाछेउको सेतो भाग देखाउँदै, पुच्छर लुकाउँदै ऊ जुरुक्क उठेर भाग्न खोजी। तर, ठेलाछेउको पर्खालले उसलाई निस्किने ठाउँ दिएन।
मैले नजिक गई उसको टाउको मुसार्न खोजेँ। ऊ झनै तर्सिई र ‘क्वाँक्क’ कराएर आफ्ना दाँत मेरो हातमा गाड्न खोजी। म अलि पर सरेँ र केही नगरी चुपचाप बसिरहेँ। एक छिनपछि ऊ आफैँ जिज्ञासु हुँदै मछेउ आएर मेरा खुट्टा सुँघ्न थाली। मैले “के छ फुच्ची?” भनेपछि पिलपिले आँखाले मतिर हेर्दै उसले पहिलो पटक पुच्छर हल्लाई। मैले उसलाई मुसारेँ अनि बिस्तारै बोकेर आफ्नो काखमा बसाएँ। केही बेर मुसारेपछि ऊ काखैमा निदाई। 
ऊ बिउँझिएपछि उसका लागि केही खानेकुरो ल्याइदिऊँ कि जस्तो लाग्यो। “एकै छिन हेरिदेऊ न है!” भनेर उसलाई पुतलीको हातमा राखी म घरतिर लागेँ। तर ऊ उम्किएर मलाई नै पछ्याउन थाली। एकै छिन हिँडेपछि ऊ एउटा रेस्टुराँअघि रोकिएर सुँघसाँघ गर्न थाली। त्यहाँ एउटा प्लास्टिकको बाटामा भाँडा माझेर बचेको साबुन पानी राखिएको थियो। ऊ त्यही पानी खान थाली!
“हा! जा! जा !” मैले उसलाई रोक्न नपाउँदै रेस्टुराँ मालिकले उसलाई कराउँदै धपाए। “कठै! कति तिर्खाएकी! यस्तो सुक्खा मौसम छ – कति दिन भो होला तिर्खा लागेको!” सोच्दै मैले उसलाई फेरि बोकेँ अनि शिरदेखि पाउसम्म नियालेँ। ख्याउटे फोहर शरीर, ठूला पिलपिले आँखा, सडकको बास, चर्को प्यास, थकाइ र त्रास – सफा पानीसमेत नपाइने यो अजङ्गको ‘मरुभूमि’मा अलपत्र एक्लो ज्यान। साह्रै टीठ लाग्यो, जिम्मेवारी बोध पनि भयो। तर, अब के गर्ने?
मैले उसलाई राख्ने निधो गरेमा घरमा विरोध हुने पक्का थियो। त्यसमाथि, सेती (मेरो अर्को कुकुर) र टोलका केही कुकुरलाई सम्हाल्नै मलाई हम्मे थियो। तैपनि उसलाई पाल्न चाहने कुनै असल परिवार खोज्नै पर्छ भन्ने लागेर मैले उसलाई घरै ल्याएँ।
रक्तस्राव हुने रोग
त्यति बेला एमबीबीएसको इन्टर्नसिप गरिरहेकी मेरी सखी आस्था (नाम परिवर्तित)ले उसको हेरचाहमा मलाई सघाइन्। चिम्पुको पेटको छालामा अनौठा राता पातला धर्साहरू देखेपछि आस्थाले “मसिना रक्तनली फुटेपछि यस्तो हुन्छ” भन्दै चिम्पुलाई जँचाउन लैजाने सल्लाह दिइन्।
रक्त परीक्षणमा उसलाई किर्नाबाट सर्ने ‘इ-क्यानिस’ नामको रोग लागेको पाइयो। सामान्यतया डेढ लाखभन्दा बढी हुनुपर्ने प्लेटलेटको सङ्ख्या उसमा जम्मा सात हजार मात्र रहेछ। डाक्टरले कुनै पनि बेला रक्तस्राव भएर ऊ मर्न सक्ने बताएपछि हामीले तुरुन्त उसको उपचार थाल्यौँ।
केही हप्ताको उपचारपछि उसको चुस्ती फुर्ती बढ्यो। सुरक्षा र मायाको अनुभूतिले होला–मानिसदेखि तर्सिने उसको बानी पनि हट्यो र ऊ लुटुपुटु गर्दै सबैसँग खेल्न थाली। चिम्प्यान्जीजस्तै चकचक गरिरहने भएकोले हामीले उसको नाम ‘चिम्पु’ राख्यौँ।
‘ब्रीड’-मोहबीच एडोप्ट गराउने प्रयास
चिम्पु स्वस्थ भएपछि उसको एडोप्सनका लागि मैले फेसबुकमा उसको तस्वीरसहितको पोस्ट राखेँ। आस्थाका घरबेटीले उसलाई पाल्ने इच्छा व्यक्त गरेपछि मैले आस्थाकै निगरानीमा चिम्पु उनलाई सुम्पिएँ। तर, दुई दिनपछि नै उनले आफ्नी श्रीमतीले ‘राम्रो ब्रीडको कुकुर’ लिने इच्छा गरेको बताउँदै चिम्पुलाई फर्काइदिए।
केही दिनपछि मेरो फेसबुकको पोस्ट देखेर एक सम्भ्रान्त महिलाले उसलाई अपनाउने इच्छा व्यक्त गरिन्। उनले “चिन्तै नलिनुस्। आफ्नै छोरीजस्तो गरी राख्नेछु” भनी भरोसा दिलाएपछि मैले चिम्पु उनलाई सुम्पिएँ। एक हप्तापछि उनको फोन आयो। “हेर्नुस् न! उसले कार्पेटमै फोहर गरिदियो। कस्तो गन्हायो, मलाई त उल्टी नै आयो। म त सक्दिनँ यस्तो!” भन्दै चिम्पुलाई फर्काइदिइन्।
लगत्तै, अर्की एक महिलाले पनि उसलाई अपनाउने बाचा गरिन् तर सम्पर्कविहीन भइन्। केही सिप नलागेपछि मैले उसलाई आफूसँगै राख्ने निधो गरेँ।
'कुन ब्रीडको?'
घरमा उसले मेरो बिरालो तोफुको साथ पाई। किन हो कुन्नि, तोफु उसलाई असाध्यै माया गर्थ्यो। उसलाई शिरदेखि पाउसम्म चाटेर चिल्लै बनाउँथ्यो। माया र स्याहारले होला, चिम्पु झनझनै राम्री हुँदै गई। चिल्लो रौँ, सानो कद, गाजल लगाएजस्ता आँखा, फुर्तिलो शरीर अनि मायालु स्वभाव देखेर सबैले “कुन ब्रीडको हो?” भनी सोधिहाल्थे।
म भन्थेँ, “ऊ ‘सडकवंशी’ ब्रीडकी हो। सडकमा हिँड्ने सबै कुकुर कुनै न कुनै ‘खानदानी’ ब्रीडकै वंशज हुन्। सडकमा फोहर, हाडछाला देखिने भएकाले हामी तिनलाई ‘भुस्याहा’ भनिदिन्छौँ। मायाले पाले तिनै कुकुर विदेशी ब्रीडभन्दा कम हुँदैनन्। वास्तवमा हाम्रो ब्रीडमोहले गर्दा नै स्थानीय कुकुर हेपिन्छन्, चिम्पुजस्ता ‘सडकवंशी’ फालिन्छन् र ब्रीडिङ उद्योगका खोरभित्र आमा-कुकुरहरूले जीवनभर सास्ती पाउँछन्। अब कुकुर किन्न छाडौँ, अपनाउन थालौँ!” धेरै फलाक्ने बानी नभए पनि ब्रीडको प्रश्न उठेपछि यति भन्न म बाध्य हुन्थेँ।
फेसबुकका फोटोहरूमा चिम्पु अझै सप्रिएको देखेपछि “उसले कार्पेटमा फोहर गरिदियो” भनेर उसलाई फिर्ता पठाउने महिलाले उसलाई फेरि एडोप्ट गर्ने इच्छा व्यक्त गरिन्। मैले “मिल्दैन हजुर। रूप मात्र हेरेर माया गर्नेहरूले रूप ढलेपछि हेला गर्छन्,” भन्दै अस्वीकार गरेँ।
मानिससँग डराएर कुनामा लुकी बस्ने, पहिलो भेटमै तर्सिएर मलाई टोक्न खोज्ने चिम्पुले त्यसपछि कसैलाई झम्टेकी वा टोकेकी छैन। घरमा आउने अतिथिहरूलाई साह्रै खुसी भई सत्कार गर्ने चिम्पुलाई देख्दा लाग्छ, घरमा चोर नै पसे पनि “बल्ल आउनुभो? किन ढिला गर्नुभो?” भनेझैँ गरी लुटुपुटु गर्दै उसलाई पनि स्वागत गर्थी होला।

कुकुरहरूसँगको अनुभवले मलाई सिकाएको कुरा: सानैदेखि माया पाएका, सबैसँग घुलमिल गराइएका कुकुरले प्राय: चिम्पुले जस्तै माया नै फर्काउने रहेछन्। हिंसा, बेवास्ता वा त्रासको वातावरणमा थुनिएर प्राय: एक्लै हुर्किएका कुकुरले प्राय: डर र अत्यासका कारण टोक्नेलगायत व्यवहार देखाउने रहेछन्।
सौख, प्रेम या बाध्यता?
करिब ११ वर्षकी चिम्पुले मसँगै नेपालका विभिन्न ठाउँ घुमेकी छ। टोल छिमेकका पशुलाई नजिकैका क्लिनिकसम्म लान सहज होस् भनी मैले बनाएको काठको ठेलामा बसेर ऊ गाउँशहर घुम्छे। बाटोमा केहीले “तपाईं त साह्रै सौखिन हुनुहुँदो रहेछ है!” भन्छन्। मचाहिँ, “सौखले होइन, मायाले हो, बाध्यताले हो हजुर! ‘सौख’ पाल्न ढेवा छैन, के गर्नु!” भन्दै हाँस्छु।

यात्राका क्रममा चर्को मूल्य तिरी विदेशी ब्रीडका कुकुर पाल्ने सौखिन सज्जनहरू पनि भेटिन्छन्। चिम्पुलाई देखेर “मलाई पनि कुकुर मन पर्छ। मैले पनि जर्मन सेफर्ड पालेको छु नि! गजबको चटक देखाउँछ!” वा “रटवाइलर पालेको छु। दैनिक एक किलो मासु खान्छ!” भन्छन्।
तर, मानिसको ‘ब्रीडको सौख’ पूरा गर्न बच्चा पाउने मेसिनका रूपमा साँघुरा खोरभित्र जीवन बिताउने र बच्चा पाउन नसक्ने भएपछि सडकमा फालिने आमा-कुकुरहरूको नियति देखेकाहरूलाई ‘ब्रीड’को रवाफ पचाउन गाह्रै हुँदो रहेछ!
चिम्पु आज ऊजस्तै ‘सडकवंशी’ कुकुरका पक्षमा बटुवाहरूसँग बहस छेड्ने अब्बल ‘पशु’अभियन्ता भएकी छ – उसको सन्देशको सार एउटै छ: “किन्न छाडौँ, अपनाउन थालौँ।”
…
तर, हाम्री ‘अभियन्ता’लाई नेपाली बोल्न आउँदैन। त्यसैले ऊ आँखाले संवाद गर्छे, म उसका भावलाई शब्दमा उतार्छु।
तिहारको बेला उसका आँखा अलि बोझिल देखिन्छन्, ऊ अलि न्यास्रिन्छे। पटकाका आवाजले तर्सिएकी ऊ र उसका साथीहरूको वेदनालाई एकैछिन चिम्पुकै ‘शब्द’मा बुझौँ:
२०८२ कार्तिक ३
प्रिय मानव दाजुदिदीहरू,
तपाईंहरू सबैलाई म चिम्पु ‘सडकवंशी’को नमस्कार अनि कुकुर तिहारको धेरै शुभकामना। तपाईंलाई मेरो जीवन कथाको अंश कस्तो लाग्यो? यही मौकामा एउटा कुरा मलाई पनि राख्न मन लागेको छ – नरिसाई सुनिदिनुस् न है!
“तँलाई बहुला कुकुर! घरभित्रै छिर्न पो खोज्दो रैछ! टाँसिन पो खोज्दो रैछ! यसलाई भगाइहाल्!” अस्ति भर्खर एक जना अङ्कल यसैगरी गर्जिएको सुनेँ। तिहारमा यस्तो गर्जन मैले अनेक पटक सुनेकी छु।
तपाईंले पनि तिहारमा सडकका कुकुरले अनौठो व्यवहार देखाएको, घरभित्र छिर्न खोजेको, आफूसँग टाँसिन खोजेको याद गर्नुभएको छ? छ भने बुझ्नुहोस् – ती बहुलाएका होइनन्! ‘अटेरी, दुर्गुणी वा मात्तिएका’ पनि होइनन्। बरु, पटकाको आवाजले बेसरी तर्सिएर कतै लुक्न खोजेका हुन्।
हामी कुकुरहरूको कान साह्रै तीखो हुन्छ। तपाईंहरूले सुन्नै नसक्ने मधुरा टाढाटाढाका आवाज पनि हामीले सजिलै सुन्न सक्छौँ। तपाईंका बाबुनानीले खेलौना बन्दुकमा हाल्ने टिकटिके पटकाको ‘प्वाट्ट’ पनि हाम्रा लागि बमको ‘ड्वाङ्ङ’जस्तो हुन्छ। अब सोच्नुस् त – यस्तो संवेदनशील कानछेउ ‘माल्टाबारा’ वा ‘सुतली बम’जस्ता ठूला पटका पड्किँदा हामीलाई कस्तो आघात पर्छ होला?
तिहारले तपाईंहरूलाई हाम्रो सम्मान गर्न सिकाउँछ रे। तर, कुकुर तिहारकै दिन विभिन्न ठाउँका मेरा साथीहरू घर वा टोल छोडी भाग्ने गर्छन्। केही त त्यसपछि कहिल्यै फेला पर्दैनन्। आफ्नो टोलछिमेक छोडेर हिँडेपछि हामी कुकुरलाई अन्यत्र गई बस्न धेरै गाह्रो हुन्छ। अरू कुकुरले टोक्छन्, घाइते बनाउँछन्। मानिसले नि नयाँ कुकुरलाई देखिसहँदैनन्, ढुङ्गा हानी भगाउँछन्। तिनलाई लाग्ने घाउ महिनौँ कुहिन्छ र कति साथीहरूको त ज्यानै जान्छ।
पटकाले तर्सिएर धेरै चरी-बरीको त मुटु नै बन्द हुन्छ रे! त्यसलाई ‘हृदयाघात’ भनिन्छ रे! मेरा टोलभरका साथी तिहारमा डरले काँप्दै हाम्रो ‘ग्यारेज’को कुनामा लुक्न आउँछन्। केही साथी लुक्ने ठाउँ खोज्दै घरघर छिर्छन्, अनि घर मालिकको गाली र चप्पल खाँदै फेरि रुँदै बाहिरिन्छन्। कठै बरा!
वर्षभरि मेरा सडकवासी साथीहरूलाई मानिसले हेला गरेको, कुटेको र मारेका खबर सुन्छु। कमसेकम, कुकुर पूजाको दिन तपाईंहरू सबै मिलेर तिनलाई चैनसँग बस्न मिल्ने वातावरण बनाइदिन मिल्दैन र? पटका नपड्काई, दियो मात्र बालेर नाचगान गरी रमाइलो गरिदिनुभए कति जाती हुने थियो! अनि त हामी पनि तपाईंहरूसितै रमाउन सक्थ्यौँ।
साँच्चै, एउटा कुरा सोधूँ? नरिसाउनुस् ल! बाबा बेलाबेला भन्नुहुन्छ, “गाईको पूजा हुने देशमा गाईबाच्छाको दुर्दशा, नदीको पूजा हुने देशमा नदीको दुर्दशा, कुकुरको पूजा हुने देशमा कुकुरको दुर्दशा हेर्दा लाग्छ – हाम्रो ‘पूजा’ वर्षभरि हामीले पशुपक्षीलाई गर्ने बेवास्ता र हेलाको पाप वा ग्लानि कटाउने ‘सर्टकट’ मात्र हो।” बाबाले कस्तो नराम्रो कुरा गर्नुभा है! मेरो त चित्तै दुख्छ! तर, उहाँले यो साँच्चै भन्नुभाको कि त्यसै बर्बराउनुभाको! तपाईंलाई पो थाहा छ कि!
सानो मुख ठूलो कुरा भयो होला! के गर्नु – अनुभवले अनेक बोल्न सिकाउँदो रहेछ! बेसी बोलेको रहेछु भने मेरो सानो ज्यान हेरेर माफ गर्नुहुने नै छ!
तपाईंहरू सबैकी प्यारी
चिम्पु ‘सडकवंशी’
(आदित्यको ‘शाकाहार तर्काधार’ नामक पुस्तक प्रकाशित छ। उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्। चिम्पुको यात्रालगायत अनेकन् विषय चिम्पुको फेसबुक पेजमा समेटिएको छ।)
तस्वीर-सौजन्य: रघु आदित्य
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

प्यारी चिम्पू, धेरै धेरै माया ! संसारमा कुनै अनुशासनहिन, बिकृतीले भरीपूर्ण चाड छ भने त्यो हो नेपालको तिहार ! मानिस भन्ने प्राणी कति बेमान र दुष्ट हुन्छ भन्ने कुरा नेपालमा पटका पड्काएर तिहार मनाउनेहरुले प्रमाणित गरेको छ! तिहारमा तिमिहरुमात्र होइन, हामी पटका मन नपराउने , बिमारी , मुटुको रोग भएको मानिसहरु, साना साना बालबालिकाहरु पनी ती दुष्ट मानिसहरुबाट पिडित छौ ! तिहारमा तिमीहरुलाई पुजा गरेको तिमीहरुको सम्मान होइन, नेपालीहरुको पाखण्ड मात्र हो ! पुजा गरेर तिमीहरुको बफादारीको सम्मान गरेजस्तो गर्ने , पटाका पड्काएर तर्साएर तिमीहरुलाई बिस्थापित गर्ने अर्थात मिठाईमा सियो राखेर खान दिएको जस्तै हो ! तिमीहरुलाई लाई चैनसँग बस्न मिल्ने वातावरण यी बेबकुफ मानिसहरुबाट कुनै पनी हालतमा आशा नगर्नु ! अब अन्त्यमा श्री पशुपतिनाथसंग ती पटका पड्काउनेहरुलाई चाडै नै Original पटकाको अनुभब गराउन युक्रेन र रसियाको युद्धमा पठाउने व्यवस्था गरिदिन अनुरोध गर्दछु !
Anil Prasad Shrestha
4 weeks ago