खेलाडीको उपचार गर्ने अस्पताल निर्माणबारे अध्ययन गर्न कार्यदल गठन

डा. अभिषेक राज सिंह संयोजक रहेको कार्यदलमा डा. घनश्याम पाण्डे सदस्य र खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ सचिव रहेका छन्।

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद्ले ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ स्थापना र सञ्चालन प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ।

मेडिसिन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि आवश्यक स्वीकृति र व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित डा. अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरिएको परिषद्ले जनाएको छ।

युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयअनुसार कार्यदललाई ९० दिनभित्र प्रतिवेदन पेस गर्न समय तोकिएको छ। कार्यदलले खेलाडीको स्वास्थ्य उपचारका लागि रिसर्च सेन्टर सञ्चालनको मोडालिटीलगायत पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने छ।

कार्यदलको सदस्यमा डा. घनश्याम पाण्डे र सचिव खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ रहेका छन्।

खेलकुद मन्त्रालयले कात्तिक २८ गते राष्ट्रिय खेलकुद परिषद् मातहतमा सेन्टर सञ्चालनको स्वीकृति सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।