न्युयोर्क सिटीको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पद मानिन्छ। राष्ट्रिय राजनीतिमा हाम फाल्नेका लागि यो सबैभन्दा गतिलो ‘ट्रान्जिट स्टेसन’ हो।
बसमा हिँड्छन्। रेल चढ्छन्। साइकलमा हुइँकिन्छन्। भोक लागे ‘घण्टा हानेर’ थाकेको श्रमिकझैँ सडक पेटीमा बसेर ठेलावालाको सस्तो ‘चिकेन ओभर राइस’ हातैले खाइदिन्छन्। कसैले चिनेर बोलाए मुसुक्क हाँस्छन्। मीठो बोल्छन्। जीवनशैलीमा ‘डिट्टो’ गरिखाने वर्गका मान्छे। उनीहरूले जोहरान मलाई त्यसै ‘हाम्रा मान्छे’ भनेका होइनन्, भलै अतिवादीहरूले मार्ने धम्की दिएपछि अचेल जोहरान बस वा रेलमा एक्लै भेटिन्नन्।
यी ३४ वर्षे र्यापर अमेरिकाको सबैभन्दा शक्तिशाली स्थानीय कार्यकारी पद (न्युयोर्क सिटी मेयर) मा पुग्ने इतिहासमै पहिलो मुस्लिम हुन्। विश्वकै सबैभन्दा धनी शहर, आर्थिक राजधानी वा राष्ट्रसंघको मुख्यालय हुनुजस्तो थुप्रै कारणले भन्दा पनि आर्थिक स्रोत परिचालन गर्ने शक्ति र प्रशासनिक आकारका कारण न्युयोर्क सिटीको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पद मानिन्छ। अमेरिकी राष्ट्रिय राजनीतिमा हाम फाल्नेका लागि यो सबैभन्दा गतिलो ‘ट्रान्जिट स्टेसन’ हो। यहाँसम्म उनलाई जनताले पुर्याएका हुन्।
जोहरानको 'सबैले धान्न सक्ने (एफोर्डेबल) न्युयोर्क सिटी' नाराको पछि मानव सागर त्यसै उर्लेको होइन। करिब ८५ लाख जनसंख्या भएको यो सहरमा १२ लाखदेखि १४ लाख मानिस त खाद्य संकटमै छन्। रबिनहुड फाउन्डेसन पोभर्टी ट्रयाकर भन्छ–न्युयोर्क सिटीका २५ प्रतिशत मानिस अर्थात् हरेक चारमा एक जना चरम गरिबीसँग जुझिरहेको छन्। कोर्नेल आइएलआरवेज एट्लस थप्छ–कम्तीमा ६० प्रतिशत मानिसको कमाई ‘अन्डर द लिभिङ वेज इन न्युयोर्क सिटी’ छ। पाएसम्म ओभरटाइम वा डबल सिफ्ट काम गर्ने यी मानिसलाई ‘एफोर्डेबल न्युयोर्क सिटी’को नाराले नछुने कुरै भएन।
त्यसमाथि काम गर्ने कानूनी अधिकार नभएका, भए पनि भाषागत समस्या र दक्षताको अभाव भएका आप्रवासी समुदायमा न्युयोर्क सिटीको बढ्दो बेरोजगारीको मार कहालीलाग्दो छ। न्युयोर्क सिटी आउनुभयो भने नाङ्लो पसल शैलीमा ट्रेन स्टेसन, पुल, पार्क आदिमा दुधे बालक च्याप्दै ‘म्याङ्गोम्याङ्गो’ भन्दै कराइरहेका आमाहरू देख्नुहुनेछ। इम्प्लोइमेन्ट एजेन्सीहरू भरिभराउ। अनि, नगदमा काम गर्न लैजान्छ कि भन्ने आसाले ज्याक्सनहाइट्सका कतिपय चोकमा ब्याकप्याक बोकेर उभिएका ‘अमिगो’हरू भेट्नुहुनेछ। यस शहरमा गाडी बिस्तारै चलाउनुभयो भने उनीहरू कुद्दै झ्यालमै आइपुग्छन् र सोध्छन्, “नेसेसिता त्राभाहादोर? (कामदार चाहिएको छ?)”
त्यसका बाबजुद अमेरिकी कानूनले वैध मान्ने र काम गर्ने अधिकार दिएका धेरैजसो मानिस अमेरिकी सरकारले निर्धारण गरेको गरिबीको रेखामुनि पर्दैनन्। यहाँको ‘पोभर्टी गाइडलाइन’ नै १९६३–६४ मा बनेको हो, जुन हालसम्म पुनरावलोकन गरिएको छैन। पुनरावलोकन भए न्यूनतम पारिश्रमिक बढाउनुपर्छ। यसले अरबपतिहरूको नाफा घट्छ। अझ मजाको कुरा के छ भने अमेरिकाको पोभर्टी गाइडलाइनमा खर्चको सबैभन्दा ठूलो हिस्सा ओगट्ने आवास (कोठा भाडा) समेटिएको छैन। विमा, यातायात, सञ्चारजस्ता आधारभूत खर्च समेटिएको छैन। करिब ६३ वर्ष अघिको खानाको लागतका आधारमा बनाइएको यो पोभर्टी गाइडलाइनमा हरेक वर्ष महँगी वृद्धि भने समायोजन गरिन्छ।
पुँजीवादी देशको एउटा मूल विशेषता भनेको दोहनमा आधारित अर्थव्यवस्था अर्थात् ‘एक्स्ट्रयाक्टिभ इकोनोमी’ हो। यस्तो अर्थव्यवस्थाको प्राकृतिक स्रोतसाधन दोहनको पाटो अहिले नखोतलौँ। यहाँ आफूले देखेका र भोगेका मानव संसाधन दोहनको पाटोबारे मात्र छोटो कुरा गरौँ। संसारकै सबैभन्दा महँगो सहर न्युयोर्क सिटीमा घर र गाडी त परको कुरा भयो, ‘घण्टा हान्ने’ र ‘सेयररिङ’ मा बस्ने एउटा सामान्य मानिसको कमाइ आइफोन, ल्यापटप, कपडा आदिको किस्ता, क्रेडिट कार्डको चर्को (३६ प्रतिशतसम्म) ब्याज, भाडा, इन्सुरेन्स, बिजुली, हिटर, इन्टरनेटजस्ता तिर्नै पर्ने आधारभूत खर्चमै सकिन्छ।
त्यसबाहेक प्रणालीगत रूपमा हुने रङ्गभेद र विभेदको दास्तान छुट्टै छ। कार्यस्थलमा कुटिएर ‘कलरबोन’ भाँचिएका र यहाँको न्यायप्रणालीले उपचारबाहेक ११ हजार डलर क्षतिपूर्ति दिएर बिदा गरेका नेपालीको भावानुवाद गरेको छु मैले। प्रणालीले दिएका यस्ता घाउका धेरै उदाहरण दिन सकिन्छ। यस्ता घाउ क्षेत्र र अवस्थाअनुसार सैयौँ होइन, हजारौँ प्रकार र स्वरूपमा प्रकट हुन्छन्। ‘कुनामा बस्ने, दुनामा खाने’ ‘घण्टे’हरूले भने महिनाको २/४ सय डलर जोगाउलान्, नत्र ‘अमेरिकी सपना’ मजस्ता धेरैका लागि सपना मात्र हो।
प्रणालीगत विभेद र पुँजीवादी अर्थतन्त्रका दोहनकारी सुइराहरूले छ पाटाबाट ३६ ठाउँमा घोचेपछि म ‘अ क्याट अन अ हट टिन रुफ’ बनेँ। न हाम फालेर भाग्ने जोखिम मोल्न सकेँ, न त जेठको घामले तातेको टिनले पोलेर शान्त बस्न नै सकेँ। पोलाइबाट जोगिन उफ्रिने क्रममा म जोहरानको अभियानसँग जोडिन पुगेँ। ‘एफोर्डिबिलिटी विथ डिग्निटी’ मेरो पनि जीवनको केन्द्रीय मुद्दा जो थियो।
लाग्थ्यो–कम्तीमा नेपालमा डिग्निटी त थियो!
म जोहरानको प्राथमिक निर्वाचन (पार्टीभित्र हुने निर्वाचन, उदाहरणका लागि डेमोक्रेटिक पार्टीले न्युयोर्क सिटीको मेयर पदमा कसलाई उठाउने भन्ने तय गर्न दाबेदारहरूबीच चुनावी प्रतिस्पर्धा गराउँछ, जसमा त्यही पार्टीका मतदाताहरूले मात्र भोट हाल्न पाउँछन्) मा परिचालन भएका ५० हजार र न्युयोर्क सिटीको आम निर्वाचनमा परिचालन भएका कम्तीमा ९० हजार स्वयंसेवकमध्ये एक हुँ। स्वयंसेवकहरूको यो संख्या आफैँमा ऐतिहासिक हो, जसले एक दिनमै दुई लाख ‘डोर नकिङ’ गरेर रेकर्ड कायम गरेको छ। जोहरानलाई जिताउन नेपालमा घरदैलो गरेजस्तो हामीले न्युयोर्क सिटीमा ‘डोर नकिङ’ गर्यौँ, ‘फोन ब्याङ्किङ’ (फोनबाट भोट माग्ने काम) गर्यौँ। नेपालीका पसल र रेस्टुरेन्ट नछुटाईकन पोस्टर टाँस्यौँ।
दर्जनौँ सभा र जुलुसमा सहभागी भयौँ। ‘अर्ली भोटिङ’ (मतदाताले सुविधाअनुसार भोट दिन पाउन् भनेर यहाँ १० दिन अघि मतदान केन्द्र खुल्छन्, जसलाई अर्ली भोटिङ भनिन्छ) र ‘इलेक्सन डे’ (निर्वाचनको मुख्य दिन) मा मतदान केन्द्र वरपर बसेर पर्चा बाँड्यौँ। धेरैभन्दा धेरै मानिसलाई जोहरानको अजेन्डा सुनायौँ। मन मिल्ने साथीभाइ र सहकर्मीहरूलाई त ‘नत्र...’ भनेरै हकले धम्क्यायौँ। म प्राथमिक निर्वाचनमा जोहरानको ‘क्याभासिङ’ (प्रचारप्रसार)मा खटिएका ४० नेपाली स्वयंसेवकमध्ये एक हुँ, तर आम निर्वाचनमा खटिने नेपाली स्वयंसेवकको संख्या आइसकेको छैन। हाम्रो दायित्व करिब दुई हजार पाँच सय रजिस्टर्ड नेपाली डेमोक्र्याट मतदातासम्म पुग्नु थियो। भोट एकै ठाउँमा खसे पनि यस्तो ठूलो निर्वाचनमा यो खास अर्थ राख्ने मतसंख्या भने होइन।
फोन ब्याङ्किङ र डोर नकिङका क्रममा नेपाली मतदाताबाट केही थान नकारात्मक प्रतिक्रिया पाउनु स्वाभाविक थियो। पायौँ। केहीले जोहरानलाई भोट नदिने आशयले ‘मुस्लिम’ भने। डोर नकिङका क्रमका एक ठाउँबाट त घरबाट बाहिर निस्कनसमेत भनियो। आफू नेपाली मूलको नभएझैँ गरी उल्टै अंग्रेजीमा बाहिर निस्कन भन्ने ती महिलादेखि कन्पारो तात्यो। ‘ओके! ओके!’ भन्दै निस्कियौँ।
कतिपयले सीधै भने, ‘‘एन्ड्रयु कुमोलाई भोट दिन्छु।’’ प्रचारप्रसारका क्रममा ‘‘मलाई सिकाउनु पर्दैन’’ भन्नेदेखि ‘‘यो नेपाल होइन, अमेरिका हो, अमेरिकामा सबैका मुद्दा राम्रै हुन्छन्’’ विद्धता छाँट्ने सम्मका ‘सामाजिक अभियन्ता’ भेटिए। त्यसका बाबजुद हामी मठ, नेपाली मन्दिर मात्र नभई नेपाली चर्चमा समेत पुग्यौँ। जोहरानको सन्देश लिएर गयौँ। यो अभियानमा भुल्नै नहुने नेपाली नाम भनेको ड्रम बिट्सका नेपाली कम्युनिटी अर्गनाइजार आदित सिवाकोटी र नेपाली कम्युनिटी च्याप्टर लिडर गीता अधिकारी पनि हुन्। युगान्डामा जन्मेर अमेरिकामा हुर्के पनि बाबु भारतीय मुस्लिम र आमा भारतीय हिन्दू भएकाले जोहरान धार्मिक रूपमा सहिष्णु छन् भन्ने हाम्रो विश्वास रह्यो। यद्यपि, मका अभिव्यक्ति र व्यवहारले त्यसलाई पहिल्यै प्रस्ट्याउँथे।
द पावर अफ ग्रासरुट अर्गनाइजिङ
डोर नकिङका क्रममा हामी इन्दिरा राईको निवासमा पुग्यौँ। घरमा नभेटिएपछि मैले फोन गरेर भोट मागेँ। चिनेकै मान्छे भएकाले उहाँले संक्षिप्तमा ‘‘हुन्छ’’ भन्नुभयो। केही दिनपछि भएको भेटमा उहाँले भन्नुभयो, ‘‘होइन, यो जोहरान भन्ने कस्तो मान्छे हो, नेथन (छोरो) ले भोट दिनुपर्छ भनेर हैरानै गरेको छ।’’ यो घटना प्राथमिक निर्वाचनताकको हो। भोट दिन नेथनको उमेर पुगिसकेको छैन। तर, टिनएजर्सको भाषामा ‘अजीब’ बाबुआमालाई जोहरानलाई भोट दिन सम्झाउने, फकाउने र दबाब दिनेमा नेथन एक्ला रहेनछन्। यसमा नेथनजस्ता अनगिन्ती दक्षिण एसियाली मूलका ‘टिनएजर्स’ अमेरिकी रहेछन्। ड्रम बिट्सको प्राथमिक निर्वाचन समीक्षामा ‘टिन एजर्स’का थप चुनावी किस्सा सुनियो। केही दिनअघि मलाई बहिनी सिजन सिम्माले सुनाइन्, ‘‘आज मेरो पार्लरमा दुई जना स्कुले फुच्चेहरू आएका थिए। भनेको राम्ररी बुझिनँ, तर हाँसेर र नरम स्वरमा जोहरानको पर्चा थमाएर गए।’’
यी यस्ता उदाहरण हुन्, जसले जोहरानको अभियान ग्रासरुटको पनि कुन तहमा पुगेको छ भन्ने देखाउँछ। प्राथमिक निर्वाचनमा मतदान गर्ने ठूलो समूह सन् २०१२ यता मतदान गर्न योग्य बनेका तर मतदान नगरेका युवा थिए। उनीहरूमध्ये धेरैले आफ्नो पकेट खर्चका लागि बाबुआमाले दाँतबाट पसिना चुहाएको देखेका थिए। राजनीतिप्रति वितृष्णा राख्ने यो वर्गमा जोहरानको परिवर्तनका अजेन्डाले आशा जगाएको छ। प्राथमिक निर्वाचनमा दक्षिण एसियाली आप्रवासीको भोट ६० प्रतिशतले बढको र निर्णायक बनेको त्यसै होइन।
निष्ठाको राजनीतिले ल्याएको भुइँचालो
जोहरानले उद्घोष गरे: म गरिबका लागि काम गर्छु। उनले अरबपति र ‘ल्यान्डलर्ड’को चन्दा ठाडै अस्वीकार गरिदिए। गरिखाने वर्गबाट १०/२० डलरका हिसाबले चन्दा स्वीकारे। त्यसका बाबजुद चन्दाले ‘सिलिङ’ नाघेपछि उनले प्राथमिक र आम दुवै निर्वाचनमा भन्नुपर्यो, ‘‘भो अब पुग्यो’’।
सबैले धान्न सक्ने शहर निर्माणका लागि जोहरानले धनी र ठूला कम्पनीको कर बढाएर छिमेकी राज्य न्यूजर्सी सरह बनाउँछु भने। उनले भने, ‘‘२०३० सम्म प्रतिघण्टा न्यूनतम पारिश्रमिक साढे १६ डलरबाट ३० डलर पुर्याउँछु।’’ यो उद्घोषले पैसाको बलमा नीति प्रभावित पार्ने न्युयोर्क सिटीका अरबपति, रियल–स्टेट कम्पनी र धनाढ्यहरूको चुनावी कोष (सुपर–प्याक) हरूलाई ठाडो चुनौती दियो। अरबपतिहरू बिच्किए। मिडियामा आए। जोहरानलाई हराउन पैसाको खोलो बगाए।
यो खेलमा राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म लागे। आफ्नै पार्टीका उम्मेदवार कर्टिस स्लिवा र वर्तमान मेयर एरिक आडम्सलाई पदको प्रलोभन दिएर चुनावबाट ‘ब्याक’ हुन भने। स्लिवा र आडम्स मेयर पदको निर्वाचनबाट पछि हटे दोस्रो शक्तिशाली उम्मेदवार एन्ड्रयु कुमोले जित्ने उनीहरूको गणित थियो। आडम्स चुनावबाट पछि हटे। तर स्लिवा मानेनन्। उनले भने, ‘‘न्युयोर्क सिटीको मेयर छान्ने अधिकार न्युयोर्क सिटीका जनतासँग छ, अरबपतिहरूसँग होइन।’’ उनले चुनावबाट पछि हट्न पैसा र पदको ‘अफर’ आएको सार्वजनिक अभिव्यक्ति नै दिए। सञ्चारमाध्यममा यसलाई ‘घुस’ भनेर व्याख्या गरियो। डेमोक्रेसीमाथि प्रहार हो भनियो। त्यति बेला ड्रम बिट्सका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटीले मलाई भनेका थिए, ‘‘शक्ति र पैसाको बलमा बाहिरबाट यसरी चुनावको जित-हार तय हुन्छ भने ग्रासरुट अर्गनाइजिङ नगरे भयो।’’
तर, यो लेख तयार गरिरहँदा ग्रासरुट अर्गनाइजिङले जित्ने, शक्ति र पैसाको खेल हार्ने पक्का भएको छ। यो अमेरिकी राजनीतिक इतिहासमा विरलै देखिने ऐतिहासिक राजनीतिक मोड हो। यसले बाराक ओबामा र हिलारी क्लिन्टन युग पछिको डेमोक्रेटिक पार्टीको ‘पुँजी–मैत्री तथा सन्तुलित सुधार’ को मध्यमार्गी संस्थापन नीति धुजा धुजा पार्ने भएको छ।
डेमोक्रेटिक पार्टीभित्रको ‘लिबरल डेमोक्रेट’ र ‘सेन्टर टु राइट डेमोक्रेट’ वर्चस्ववादलाई जोहरान म नामक ‘डेमोक्रेटिक सोसलिज्म’ भुईँचालोले नराम्ररी हल्लाइदिएको छ। अरबपति र राजनीतिको पुरातन सम्बन्धलाई ‘जनमुखी र श्रमजीवी केन्द्रित’ नीतिको घनले बजारेर खुत्रुक्कै पारिदिएको छ। परिणामस्वरूप युवा पुस्ताका प्रभावशाली राजनीतिज्ञ एलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज, कोरी बुस, एल्हान ओमर लगायतले जोहरानलाई नयाँ पुस्ताको नीति नायक (पोलिसी टर्चबियरर) भनेका छन्।
जोहरानको यो जीत सत्ता संरचनाभित्रबाट उठेको एउटा जनपक्षीय विद्रोहको स्वरूप बनेको छ, जसले आप्रवासी समुदाय र राजनीतिबाट बिरक्तिएका युवाहरूमा आसा जगाएको छ। ट्याक्सी ड्राइभरदेखि घण्टा हान्ने श्रमजीवीहरूमा ‘मेरो भोटले फरक पार्छ’ र ‘न्युयोर्क सिटीमा मेरो अनुहार हेरेर व्यवहार गर्नेहरूले अब सोच्नुपर्छ’ भन्ने अनुभूति गराएको छ। त्यही भएर यो निर्वाचन विश्वभर चर्चाको विषय रह्यो।
अन्तर्राष्ट्रिय मिडियाले यसलाई ‘क्यापिटलिज्म भर्सेस कम्युनिटी’ को नाम दिए। यो केबल न्युयोर्क सिटीको मेयरको चुनाव रहेन। राजनीतिमा बल सधैँ जनताको कोर्टमा हुन्छ र निष्ठाको राजनीतिले जित्छ भन्ने विश्वलाई फेरी एक पटक देखाइदियो, जसको असर भविष्यमा देखिने नै छ। किनभने यो जीत विश्वका श्रमजीवी वर्गका लागि आफैँमा एउटा ‘स्टेटमेन्ट’ हो। नाइन इलेभेनको ओसामा बिन लादेन हमलापछि न्युयोर्क सिटीमा मुस्लिम समुदायलाई हेरिने दृष्टिकोणमाथि आएको परिवर्तन हो। अल्पसंख्यकहरूको पहिचानको सम्मान र पुनः स्थापना हो।
सडकदेखि सिटी हलसम्म
न्युयोर्क सिटीको अस्टोरियालाई न्युयोर्क स्टेट एसेम्ब्ली (तल्लो सभा) मा प्रतिनिधित्व गर्ने जोहरान एक वर्षअघि न्युयोर्क सिटीमा खासै सुनिएको नाम होइन। तर, दक्षिण एसियाली तथा इन्डोक्यारेबियन आप्रवासी समुदायको अधिकारका लागि लागि काम गर्ने ड्रम बिट्स नामक संस्थाले जोहरान के गरिरहेका छन् भनेर हेरिराखेको थियो, जुन उसको काम नै हो। न्युयोर्क सिटीमा ग्रासरुट अर्गनाइजिङ गर्ने पाँच हजारभन्दा बढी सदस्य रहेको यो संस्थाले स्थानीय राजनीतिज्ञलाई उसले आप्रवासी र श्रमजीवी वर्गबारे राख्ने अजेन्डा र नीतिका आधारमा ‘इन्डोर्समेन्ट’ गरी चुनाव जित्न सहयोग गर्छ। इन्डोर्समेन्ट ड्रम बिट्सका सदस्यहरूका मतका आधारमा तय हुन्छ।
ड्रम बिट्सले जोहरानसहित आप्रवासीप्रति उदार जेसिका रामोस र ब्राड ल्यान्डरको सुनुवाइ गरेको थियो। फरक के थियो भने यो सुनुवाइमा स्पेनिस, काला र चिनिया आप्रवासीको प्रतिनिधित्व गर्ने न्युयोर्क कम्युनिटी फर चेन्ज (एनवाईसीसी) र कमिटी अगेन्स्ट एन्टि–एसियन भायोलेन्स (क्याभ) जस्ता प्रभावशाली ‘ग्रासरुट अर्गनाइजेसन’ र उनीहरूका सदस्य पनि सहभागी थिए।
न्युयोर्क स्टेट सिनेटर रामोस र न्युयोर्क सिटी कम्प्ट्रोल ल्यान्डर जोहरानको तुलनामा धेरै चर्चित नाम थिए। सुनुवाइपछि हामी तीनै वटा संस्थाका सदस्यहरू अलग अलग कोठामा गयौँ। ड्रम बिट्सका सदस्य भेला भएको कोठामा म पनि थिएँ। मुस्लिम सदस्यको बाहुल्यता रहेकाले हुनुपर्छ–ड्रम बिट्सका निर्देशक फाहद अहमदले फरक अनुहार भएका मलाई पहिलो प्रश्न तेर्स्याए, ‘‘तपाईँलाई के लाग्छ, कुन उम्मेदवारलाई कुन स्तरको इन्डोर्समेन्ट (समर्थन) दिनुपर्छ? किन?’’ मैले जवाफ दिएँ, ‘‘जोहरान, एक नम्बर। किनभने उनले जति गहिरो गरी आप्रवासी र श्रमजीवीको समस्या अरूले बुझेको देखिनँ।’’ इन्डोर्समेन्टको स्तर प्राविधिक भएकाले म त्यता जान्न। यति बुझ्नुहोस्, करिब आधा घण्टाको छलफलपछि हामीले सर्वसम्मत रूपमा जोहरानलाई समर्थन गर्यौँ। जोहरानलाई एनवाइसीसी र क्याभले पनि ‘इन्डोर्समेन्ट’ दिएको खबर केही दिनपछि सुनियो।
जनस्तरमा संगठन गर्ने प्रभावशाली यी तीन संस्थाले जोहरानलाई सबैभन्दा पहिला इन्डोर्समेन्ट दिनु रणनीतिक हिसाबले ज्यादै महत्त्वपूर्ण थियो। यो कामको अगुवाइ ड्रम बिट्सले गरेको थियो, जहाँबाट जोहरानको मेयर पदको यात्रा शुरू भयो। यसपछि डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाजस्तो ‘पोलिटिकल लबिङ’ गर्ने ठूलो ‘ग्रासरुट अर्गनाइजेसन’ ले जोहरानलाई ‘इन्डोर्समेन्ट’ दियो। त्यसपछि तल्लो वर्गमा बलियो पकड रहेको वर्किङ फेमिलिज पार्टीले जोहरानलाई समर्थन गर्यो। त्यति बेला सर्वेक्षणहरूले जोहरानको पक्षमा दुई प्रतिशतभन्दा कम मत देखाएका थिए। त्यसका बाबजुद हामी जनस्तरमा चुनावी काम गरिरह्यौँ। ‘ग्रासरुट अर्गनाइजिङ’ गरिरह्यौँ, जुन छोटकरीमा माथि राखिसकेँ।
केही महिनापछि भएको सर्वेक्षणले जोहरानको पक्षमा १६ प्रतिशत मत देखायो। दुई प्रतिशतबाट सुरु भएको सर्वेक्षणको ग्राफ उक्लिँदै गयो र गत असार १०, २०८२ मा भएको प्राथमिक निर्वाचन जोहरानले जिते। त्यसपछि इन्डोर्समेन्टको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय स्तरमै चर्चा हुने गरी चल्यो। निर्वाचनको केही साता अघिसम्म यो क्रम जारी रह्यो। जोहरानले ल्याएको आँधी थेग्न सकिन्न भन्ने हिसाबले पनि धेरै इन्डोर्समेन्ट आए।
प्राथमिक निर्वाचनको दिन असार १० गते म दिउँसो ३ बजे कामबाट फर्किएँ। दिउँसो ४ बजेदेखि पीएस ८९ क्यू (सरकारी विद्यालय) मा रहेको मतदान केन्द्रमा खटिएँ। साँझ ९ बजे मतदान सकियो। म ड्रम बिट्सको कार्यालय पुगेँ। बंगाली कम्युनिटी अर्गनाइजर रसेल भुइयाँलाई सोधेँ, ‘‘जोहरान जित्लान?’’ उनले जवाफ दिए, ‘‘इन्साअल्लाह (भगवानले चाहे भने)।’’ मैले ड्रम बिट्सको कम्युनिकेसन हेर्ने आकाशलाई सोधेँ। उनले भने, ‘‘आई रियल्ली डन्ट नो!’’ (साँच्चै थाहा छैन।)
जोहरानलाई रणनीतिक रूपमा समुदायमा खडा गर्ने ड्रम बिट्सलाई नै थाह थिएन, चुनावी नतिजा के आउँछ भनेर। कुमो 'बिग सट' थिए। जोहरान हारे पनि हाम्रो मुद्दा एउटा ‘स्टेटमेन्ट’ बन्छ भन्नेमा चाहिँ म ढुक्क थिएँ। हामीले कौतुहलताका साथ याक रेस्टुरेन्टमा भएको नेपाली पार्टीमा चुनावी नतिजा सुन्दै खाना खायौँ। जोहरानले जित्ने पक्का भएपछि हुटिङ गर्यौँ। त्यसपछि नेपाली मूलकी न्युयोर्क स्टेट एसेम्ब्ली मेम्बर सारहाना श्रेष्ठ, उनको श्रीमान् र ड्रम बिट्सका सदस्यहरू जोहरान भेट्न अस्टोरिया हिँडे। मचाहिँ साथीहरूको आग्रह अस्वीकार गर्दै घर फर्किएँ। बिहान पौने ६ बजे उठेर ‘घण्टा हान्न’ जानु थियो।
यो लेख लेखिरहँदा हामी ढुक्क छौँ, जोहरान जित्छन्। ड्रम बिट्सका पोलिटिकल डाइरेक्टर जगप्रित सिंहको नाममा जोहरानको विजयलगत्तै जारी गर्ने प्रेस रिलिज समेत तयार भइसकेको छ। चुनावको मुख्य दिन म कामबाट फर्केपछि पुरानै मतदान केन्द्रमा खटिने तय भएको छ। त्यसपछि फेरी पार्टी हुनेछ। त्यससँगै एक समय राजनीतिमा ‘राइजिङ स्टार’ र सम्भावित अमेरिकी राष्ट्रपतिका रूपमा हेरिएका पूर्व गभर्नर कुमोको राजनीति सकिने छ।
यौन दुराचारको विवादपछि गभर्नर पदबाट राजीनामा दिन बाध्य भएका कुमोको ‘पोलिटिकल कमब्याक’का लागि यो निर्वाचन ‘डु अर डाई सिचुएसन’ थियो। त्यही भएर उनी राष्ट्रिय राजनीतिबाट स्थानीय राजनीतिमा ओर्लेका थिए। जितेका भए सम्भवतः संघीय राजनीतिमा फड्को मार्थे। सायद राष्ट्रपति पनि हुन्थे। तर, यो हारसँगै उनको राजनीति सकिने छ। जतिसुकै प्रयास गरे पनि राजनीतिमा उनी लामो समय फर्किन सक्ने छैनन्। फर्के नै भने पनि प्राथमिक निर्वाचन हारेपछि स्वतन्त्र उम्मेदवार बनेर आफ्नै पार्टीको उम्मेदवारसँग प्रतिस्पर्धा गरेका उनका लागि राजनीति सहज हुने छैन।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
