बांग्लादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा ज्यान गुमाएका र परिवारको सहमतिबिना गाडिएका करिब ११४ जनाको शव उत्खनन थालेको छ। पहिचान पुष्टि गर्न निकालिएका शवको पोस्टमार्टम र डीएनए परीक्षण गरिने छ।
बांग्लादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा ज्यान गुमाएका र परिवारको सहमतिबिना गाडिएका करिब ११४ शव उत्खनन थालेको छ। ढाकाको रेयरबजारस्थित सामूहिक चिहानबाट आइतबारदेखि शव निकाल्न थालिएको हो।
विद्यार्थी आन्दोलनबाट शुरू भएको उक्त जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गराएको थियो। संयुक्त राष्ट्रसंघको सहयोगमा अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको नेतृत्वमा उत्खनन प्रक्रिया अघि बढाइएको हो। फोन्डेब्रिडरले दशकौँदेखि विश्वका विभिन्न सामूहिक चिहान उत्खनन गरी मृतकको पहिचान गर्ने कार्यको नेतृत्व गर्दै आएका छन्।
स्वयंसेवी समूह ‘अन्जुमन मुफिदुल इस्लाम’ले सन् २०२४ जुलाईमा ८० र अगस्टमा ३४ गरी जम्मा ११४ लावारिस शव सो स्थानमा व्यवस्थापन गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सत्ता जोगाउने हसिनाको प्रयास र त्यसपछिको हिंसात्मक दमनका क्रममा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो। गत महिना बांग्लादेशको एक अदालतले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।
अपराध अनुसन्धान विभाग (सीआईडी)का प्रमुख मोहम्मद सिबगाट उल्लाहका अनुसार चिहान खनेर शव निकालेपछि मात्र मृतकको वास्तविक पहिचान पुष्टि हुनेछ। निकालिएका शवको पोस्टमार्टम र डीएनए परीक्षण गरिनेछ।
वरिष्ठ प्रहरी अधिकारी अबु तालेबले एएफपीसँग कुरा गर्दै यो प्रक्रिया समयसाध्य हुने बताए। “एक वर्षभन्दा बढी समय भइसकेकाले नरम तन्तुहरूबाट डीएनए निकाल्न सम्भव छैन, त्यसैले हड्डीहरूको अनुसन्धान गर्दा बढी समय लाग्नेछ,” उनले भने।
उत्खनन टोलीमा ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञ पनि सहभागी छन्। फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार निकाय (ओएचसीएचआर) सँगको सम्झौताअन्तर्गत प्राविधिक सहयोगका लागि ल्याइएको हो। उनले यसअघि अर्जेन्टिनाको सैन्य तानाशाहीका बेला बेपत्ता पारिएका हजारौँ व्यक्तिको पहिचान गर्न सन् १९८४ मा गठित फरेन्सिक समूहको नेतृत्व गरेका गरेका थिए।
अधिकारीहरूका अनुसार पहिचान खुलेपछि मृतकका शवलाई धार्मिक संस्कार र परिवारको इच्छाअनुसार पुनः अन्त्येष्टि गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
