तनहुँको एउटै गाउँबाट २ करोडको सुन्तला बिक्री

बेनीकोटमा एक जना किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ।

दमौली– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन्। 

सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइ नभ्याइ छ। 

बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताए। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनका अनुसार यस वर्ष गाउँबाट २ करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको छ। 

अर्का स्थानीय कालबहादुर रानाले आफूले ४ लाख रुपैयाँको सुन्तला बिक्री गरेको सुनाए। उत्पादन भएका सुन्तला बिक्रीका लागि समस्या छैन। “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन्,” उनी भन्छन्।

स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको उनको भनाइ छ। “प्रत्येक वर्ष मंसिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइ नभ्याइ हुन्छ,” उनी भन्छन्, “मैले यस वर्ष २ लाख १० हजार रुपैयाँको सुन्तला बिक्री गरेँ।”

भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए। “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्‍याउने गरिएको छ। जोखिमपूर्ण बाटो भएकाले असहज भने छ,” उनले भने।

बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ।