पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सको ५३ रनको जित

एनपीएलको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनको अन्तरले पराजित गरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनको अन्तरले पराजित गरेको छ। यस जितसँगै विराटनगरले एनपीएलको इतिहासकै सर्वाधिक उच्च स्कोर बनाउने कीर्तिमान पनि कायम गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको विशाल योगफल बनाउँदै पोखरालाई २२१ रनको लक्ष्य प्रस्तुत गर्‍यो। यसअघि एनपीएलको उच्च स्कोर पनि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध बनाएको १९३ रन थियो।

विराटनगरको इनिङ्समा लोकेश बम र मार्टिन गप्टिलले अर्धशतकीय पारी खेले। दोस्रो विकेटका लागि यी दुईले १३२ रनको उत्कृष्ट साझेदारी गरे। लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्कासहित ७२ रन बनाउँदा मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको योगदान दिए। यस्तै, शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिर अहमदले १३ बलमा १ चौका र १ छक्का सहित २३ रन जोडे। बलिङतर्फ पोखराका माट टेलरले २ विकेट लिँदा आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १८.५ ओभरमा १६७ रनमै अलआउट भयो। पोखराका लागि कप्तान कुशल भुर्तेलले ३१ बलमा ५ चौका र ३ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ्स खेले। योसँगै भुर्तेल जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौँ खेलाडी बनेका छन्। एडम रोसिङटनले पनि २१ बलमा ३९ रनको योगदान दिए। बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शुभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २-२ विकेट लिए।

एनपीएलको तेस्रो खेलमा विराटनगरले जितको शुरूआत गर्दा यसअघि आज भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले हराउँदै विजयी शुरूआत गरेको थियो। आठ टोली सम्मिलित प्रतियोगिता मंसिर १ गतेदेखि शुरू भई मंसिर २७ मा समापन हुनेछ।