विराटनगरको लगातार दोस्रो जित, काठमाडौँ ५ विकेटले पराजित

विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्दै एनपीएलमामा लगातार दोस्रो जित हात पारेको छ।

काठमाडौँ– दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

जारी प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो जित हो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि जित निकालेको थियो। 

यता, तीन खेल खेलेको काठमाडौँको भने यो दोस्रो पराजय हो। काठमाडौँले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो, तर दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

विराटनगरको जितमा जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए। यस्तै, मार्टिन गुप्टिलले २५, नरन भट्टले २४, बसिर अहमदले १९, र लोकेश बमले १४ रन बनाए।

बलिङतर्फ काठमाडौँका शहाव आलमले २ विकेट लिए भने करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले १-१ विकेट हात पारे।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो।

काठमाडौँका लागि आदिल आलमले सर्वाधिक ४८ रनको योगदान दिए। त्यस्तै, बेन चार्ल्सवर्थले ३२ रनको इनिङ्स खेले भने सन्तोष यादवले २६ रन बनाए। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन।

विराटनगरका लागि मर्चेन्ट डे लाङले सर्वाधिक २ विकेट लिए। शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए।

शनिबार नै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो।

प्रतियोगितामा हालसम्मको अवस्था
आठ टोली सहभागी एनपीएलमा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले मात्र लगातार दुई खेल जितेका छन्।

यसैगरी, कर्णाली याक्स, लुम्बिनी लायन्स र चितवन राइनोजले समान एक जित र एक हार बेहोरेका छन्।

काठमाडौँ गोर्खाजले खेलेका तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ।

पोखरा एभेन्जर्सले खेलेका दुवै खेलमा पराजय भोगेको छ।

साबिक विजेता जनकपुर बोल्ट्सले भने अहिलेसम्म एक खेल मात्र खेलेको छ र त्यसमा हार बेहोरेको छ।