देवी भट्टचन, कुसुम लामासहित ७ जनाविरुद्ध ठगी र राष्ट्र बैंक ऐन कसुरमा मुद्दा दायर

ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

काठमाडौँ— जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। क्याक्मी बचत तथा ऋण सहकारी संस्थाका ठाकुरप्रसाद मानन्धर र कञ्चन बचत तथा ऋण सहकारी संस्थाका विकास रानाको संयुक्त जाहेरीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

ठगी तथा राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा प्रभु मनी ट्रान्सफरका अध्यक्ष भट्टचन र प्रभु म्यानेजमेन्टकी अध्यक्ष लामासहित, प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु, प्रभु मनी ट्रान्सफरका नायब महाप्रबन्धक रामेश्वर सापकोटा, म्यानेजमेन्टकै पूर्वशेयरधनी श्रुतिका तामाङ, रामबाबुप्रसाद जयसवाल र सन्तोषकुमार लामालाई प्रतिवादी बनाइएको छ। संस्थागत रूपमा प्रभु मनी ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिलाई पनि प्रतिवादी कायम गरिएको छ। प्रतिवादीमध्ये कुसुम लामा, रामेश्वर सापकोटा र सन्तोष कुमार लामा फरार रहेको अभियोगपत्रमा उल्लेख छ।

प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’का रूपमा स्थापित ‘प्रभु म्यानेजमेन्ट प्रालि’ले देशभरका सहकारीलाई एजेन्ट बनाई वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिट्यान्स सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने काम गर्दै आएको थियो। सहकारी संस्थाहरूले आफ्ना सदस्य तथा गैर–सदस्यलाई रेमिट्यान्स भुक्तानी गरिसके पनि प्रभु म्यानेजमेन्टले उक्त रकम र धरौटी बापतको रकम फिर्ता नदिएपछि प्रहरीमा जाहेरी परेको थियो। प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनले कुसुम लामालाई साझेदार बनाएर सहकारीबाट उठाएको रकम हिनामिना गरेकोबारे उकालोले विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो।

सरकारी वकिलको कार्यालयले प्रतिवादीहरू कुसुम लामा, देवी प्रकाश भट्टचन, हेम कुमार महाजु, श्रुतिका तामाङ, रामेश्वर सापकोटा र सन्तोष कुमार लामासँग जनही  ६ करोड ५२ लाख रुपैयाँ बिगो र रेमिट कारोबारको नाममा भएको अबैध हुन्डी कारोबार गरेको ६ करोड १० लाख भराउनुपर्ने मागदाबी लिएको छ। यस्तै, रामबाबुप्रसाद जयसवालसँग हुन्डी कारोबारबापतको ६ करोड १० लाख रुपैयाँ मागदाबी गरिएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्र अनुसार, कुसुम लामा र देवी प्रकाश भट्टचनको मिलेमतोमा सहकारीबाट धरौटी बापत उठाइएको र रेमिट्यान्स भुक्तानी दिनुपर्ने रकम ‘प्रभु टेक्नोलोजी प्रालि’ लगायतका कम्पनी खडा गरी अपचलन गरिएको थियो। यसरी संकलित रकमबाट संस्थाको नाममा नभई विभिन्न व्यक्तिका नाममा जग्गा जमिन खरिद गरेको र व्यक्तिगत खातामा करोडौँ रकम जम्मा गरेको भेटिएको छ।

लामाको संलग्नतामा देवी भट्टचनलाई शेयर बिक्रीको नाममा तथा पेस्कीका रूपमा विभिन्न कम्पनीमार्फत प्रभु म्यानेजमेन्टको रकम दिई सहकारीको पैसा फिर्ता नगरिएको पाइएको छ। साथै, रेमिट्यान्स बापतको रकम सम्झौताबमोजिम 'रियल टाइम'मा सेटलमेन्ट नगरी ठगी गरेको अभियोग छ।

सहकारीहरूले रेमिट्यान्स कारोबारका लागि राखेको धरौटी र अग्रिम भुक्तानी दिएको रकमको सोधभर्ना दिनुपर्ने १० करोड ३९ लाख रुपैयाँ कुसुम लामाको व्यक्तिगत खातामा शंकास्पद रूपमा जम्मा भएको देखिन्छ। प्रभु म्यानेजमेन्टको सिस्टमबाट संकलित विवरणअनुसार सहकारी लगायतका एजेन्ट/सब–एजेन्टहरूलाई धरौटी र रेमिट्यान्स भुक्तानी बापत एक अर्ब ८८ करोड भुक्तानी दिन बाँकी देखिएको छ।

अभियोगपत्रमा भनिएको छ, “कुसुम लामा समेतले ठगी गर्ने योजनाका साथ प्रचलित कानून विपरीत प्रभु मनी ट्रान्सफर प्रालिले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेन्ट र सहकारीहरूलाई सब–रिप्रेजेन्टेभ बनाई सहकारीले अग्रिम भुक्तानी दिएको रकम सोही दिन वा भोलिपल्ट भुक्तानी दिनुपर्नेमा लामो समयसम्म नदिई ठगी गरेको देखिन्छ।”

अर्का प्रतिवादी देवी भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालि आफू अनुकूल सञ्चालन गरी व्यक्तिगत लाभ लिएको उल्लेख छ। प्रभु म्यानेजमेन्टको वास्तविक लगानी एक करोड मात्र रहेको अवस्थामा कागजी रूपमा १२ करोड देखाई पुँजी बढाउने क्रममा सहकारीहरूले जम्मा गरेको धरौटी रकम नै प्रयोग गरिएको जनाइएको छ।

त्यस्तै, प्रभु मनी ट्रान्सफर प्रालिले प्रबन्धपत्र तथा नियमावली विपरीत विभिन्न कम्पनीलाई कर्जा दिने, प्रभु म्यानेजमेन्ट प्रालिलाई समेत कर्जा दिएको भनी ठूलो रकम ब्याज असुली गर्ने र पेस्की स्वरूप लिएको रकम हालसम्म फिर्ता नगरेको पाइएको छ।

भट्टचनले प्रभु म्यानेजमेन्ट छोडिसकेपछि पनि कम्पनीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाताबाट १३ करोड ८ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ। आफू म्यानेजमेन्टमा आबद्ध नहुँदा समेत उनले सहकारीको रकम व्यक्तिगत खातामा लगेर म्यानेजमेन्टको लगानी नरहेका अन्य कम्पनीहरूमा रकमान्तर गरी दुरुपयोग गरेको पाइएको छ।

“रेमिट्यान्स नेपाल भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफैँ वा सब–एजेन्ट मार्फत सम्बन्धित व्यक्ति (बेनिफिसियरी) लाई भुक्तानी गर्नुपर्ने व्यवस्था प्रतिकूल हुने गरी प्रभु म्यानेजमेन्ट प्रालिमार्फत २०८१ असार १५ सम्म अवैध रूपमा पिरामिड स्वरूपको भुक्तानी प्रणाली बनाई राष्ट्र बैंकको नीति निर्देशन विपरीत कार्य गरेको देखिन्छ,” अभियोगपत्रमा भनिएको छ।

मुद्दामा प्रतिवादी बनाइएका रामबाबुप्रसाद जयसवालले ‘ममता मनी ट्रान्सफर’ दर्ता गरी त्यसको आवरणमा सिटिजन्स बैंक र एनआईसी एशिया बैंकमा रहेको प्रभु म्यानेजमेन्टको खातामा पटक–पटक गरी ६ करोड १० लाख जम्मा गरेका थिए। म्यानेजमेन्टको खातामा एकै दिन ९ लाख ९९ हजार ५० रुपैयाँका दरले जम्मा गरेको यो रकमको स्रोत खुलाउन नसकेको अभियोगपत्रमा उल्लेख छ।

रेमिटका नाममा अवैध हुन्डी कारोबार
देवी भट्टचनले मिलेमतोमा भारतबाट अवैध रूपमा हुन्डीमार्फत नेपाल रकम भित्र्याएको पनि अभियोगपत्रमा उल्लेख छ।  अभियोगपत्रमा उल्लेख भएअनुसार,  रामबाबुले भारतीय नागरिक हरिश जयसवालको निर्देशनमा ‘बीएन्डएससब रेमिट/रामबाबु प्रसाद जयसवाल’समेत उल्लेख गरी रकम जम्मा गर्ने गरेको बैंक स्टेटमेन्टबाट देखिएको छ। बीएन्डएस सबरेमिटका सञ्चालकमध्येका सुनिलकुमार मिश्र साबिकमा प्रभु मनी ट्रान्सफरका कर्मचारी थिए र उनले प्रभु बैंकसँग रेमिट कारोबार गर्ने सम्झौता गरेका थिए।

प्रभु इन्डियाका सुनिल मिश्र, प्रभु मनी ट्रान्सफरका देवी भट्टचन र नेपालका रामबाबुप्रसाद जयसवालको मिलेमतोमा भारतबाट आएको रेमिट्यान्स रकम प्रभु मनी ट्रान्सफरको ‘नोस्ट्रो खाता’ हुँदै मिलान गरी नेपाल पठाइनुपर्नेथियो। तर नियमविपरीत सो रकम सहकारीहरूलाई भुक्तानी गर्न प्रयोग गरियो। वैधानिक प्रक्रियाबाट रेमिट रकम नल्याई गैरकानूनी रूपमा भारतबाटै रकम संकलन गरी सिटिजन्स बैंक लगायतका खातामा जम्मा गरिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।

रामबाबुले बयानमा भारतबाट नेपाली मुद्रा नगदै ल्याई बाराको कोल्बीस्थित सिटिजन्स बैंकको शाखाबाट प्रभु म्यानेजमेन्टको खातामा जम्मा गरे बापत प्रति एक लाखको २५० रुपैयाँ कमिसन लिने गरेको समेत खुलाएको अभियोगपत्रमा उल्लेख छ।