चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।
काठमाडौँ— वीरगन्जमा हैजा के कारणले फैलियो अझै प्रस्ट छैन। त्यहाँ भदौ ६ गते हैजाको पहिलो बिरामीको अस्पतालले पहिचान गरेको थियो। अहिलेसम्म हैजा र झाडापखालाका ९०० भन्दा धेरै बिरामी अस्पताल पुगेका छन्। तीमध्ये अधिकांश उपचारपछि घर फर्किएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अझै ४३ जना उपचाररत छन्। तर अस्पताल नआएका बिरामी धेरै हुनसक्ने उनको अनुमान छ। “अस्पतालमा भएका बाहेक करिब चार हजार मानिस बिरामी परेको अनुमान गर्न सकिन्छ,” उनी भन्छन्, “कतिपयले घरमै उपचार गराए। कतिपय मेडिकलबाट औषधि लगेर खाएर निको भए। यसको तथ्यांक हुँदैन।”
त्यहाँ खानेपानी संस्थानले वितरण गर्ने पानीबाट हैजा फैलिएको प्रारम्भिक अनुमान थियो। तर डा. सिंहले संस्थानको पानीबाट हैजा फैलिएको पुष्टि नभएको बताएका छन्।
नेपालका शहरी र ग्रामीण क्षेत्रमा बेलाबेला हैजा फैलिएका समाचार आइरहन्छन्। २०६६ सालमा जाजरकोट र आसपासका जिल्लामा फैलिएको हैजाले ३७१ जनाको ज्यान लिएको थियो। अर्को वर्ष नेपालगन्ज र आसापासका क्षेत्रमा फैलिएको हैजामा पनि केही व्यक्तिको मृत्यु भएको थियो।
काठमाडौँमा २०७९ सालमा सामुदायिक स्तरमै हैजा फैलिएको थियो। डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु, थानकोटलगायत क्षेत्रबाट हैजाका बिरामी अस्पताल पुगेका थिए। नेपालमा प्रायः दूषित पानीबाट हैजा फैलिने गरेको छ।
काठमाडौँलगायत देशका विभिन्न ठाउँमा २०१५ सालमा हैजाले महामारी नै ल्याएको थियो। उक्त महामारीको समाचार १९५८ अगस्ट २ को न्युयोर्क टाइम्सले पनि ‘नेपाल ह्याज कोलेरा आउटब्रेक’ शीर्षकमा छापेको थियो। त्यस बेला भारत, पाकिस्तान, थाइल्यान्ड लगायत एशियाका केही देशमा समेत हैजा फैलिएको थियो।
नेपालमा त्यस बेलाको हैजा झिँगाले फैलाएको स्वास्थ्य मन्त्रालयले हैजा नियन्त्रणका लागि गठन गरेको कमिटीले निष्कर्ष निकालेको थियो। तत्कालीन काठमाडौँ नगरपालिका, परोपकार संस्था र हैजा निवारण कमिटीले हैजा फैलिन नदिन बजारमा बासी खानेकुरा, कुहिएको फलफूल, माछामासु जफत र नष्ट गरेका थिए। होटेल र रेस्टुरेन्टको अनुगमन गरिएको थियो। (गोरखापत्र, २०१५ साउन २२)
स्वयंसेवा सम्झाउने एउटा प्रमाणपत्र
काठमाडौँको दक्षिणमा पर्ने छैमले रिसोर्टको हलमा एउटा ६६ वर्ष पुरानो प्रशंसा–पत्र राखिएको फ्रेम झुण्डिरहेको छ। २०१५ सालको हैजा सम्झाउने त्यो प्रशंसा–पत्र परोपकार संस्थाले २०१६ जेठ २६ गते नीलकण्ठ श्रेष्ठलाई दिएको थियो।
प्रशंसा–पत्रमा लेखिएको छ, “२०१५ सालमा काठमाडौँ उपत्यकामा फैलिएको हैजा महामारीमा निस्वार्थ भावले हैजा पीडित रोगीहरूको सेवा गर्ने का.ई. मछिन्द्रबहाल बस्ने केलटोल परोपकार डिपोका स्वयंसेवक श्री नीलकण्ठ श्रेष्ठलाई परोपकार संस्थाबाट यो प्रशंसा–पत्र प्रदान गरिएको छ।”
प्रशंसा–पत्रमा परोपकारका तत्कालीन अध्यक्ष चूडानन्द वैद्य र सेक्रेटरी जनरल दयावीर सिंह कंसाकारको हस्ताक्षर छ। प्रशंसा–पत्र पाउने नीलकण्ठ उक्त रिसोर्टका सञ्चालक विजय श्रेष्ठका बाबु हुन्।
विजयका अनुसार २०७१ सालमा उनका बाबु नीलकण्ठको मृत्यु भयो। २०१५ सालतिर मछिन्द्रबहालमा उनीहरूको घरैनजिक परोपकारको क्लिनिक थियो। परोपकारका संस्थापकमध्येका दयावीर सिंह कंसाकार मछिन्द्रबहालकै थिए। उनकै प्रेरणाले कम्पाउण्डर नीलकण्ठ स्वयंसेवामा लागेका थिए।
हैजा महामारी फैलिएपछि बुवाले कति दिन त परोपकारको क्लिनिकमै रात बिताएको विजयलाई पनि सुनाएका थिए। उनी भन्छन्, “त्यति बेला बिरामीलाई छुनसमेत मान्छेहरू डराउँथे रे। बुवाहरूले क्लिनिकमै प्राथमिक उपचार गरेर नजिकैको वीर अस्पताल पठाउनुहुन्थ्यो रे।”
नीलकण्ठसँगै परोपकारमार्फत स्वयंसेवा गर्ने अर्का कम्पाउन्डर भाइकाजी स्थापित (८८) त्यस बेला घरैपिच्छे हैजाका बिरामी भएको बताउँछन्। हैजा उपचारका लागि टेकुमा ‘कलेरा अस्पताल’ बनाइएको थियो। तर त्यो व्यवस्थित भइसकेको थिएन।
कलेरा अस्पताल एउटा सानो टहरोमा थियो। यातायातको सुविधा राम्रो नहुँदा कलेरा अस्पतालसम्म बिरामी पुर्याउन पनि मुस्किल भएको भाइकाजी सम्झन्छन्।
नियन्त्रणमा अमेरिका र डब्लूएचओको सहयोग
हैजा काठमाडौँ उपत्यकासहित पूर्वमा मोरङ, धरान, धनकुटा र भोजपुरमा पनि फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदनमा उल्लेख छ। डब्लूएचओ फेलो भएर उक्त महामारी अध्ययनका लागि इजिप्ट (तत्कालीन यूएआर) का एएच अबोउ–गारीब सन् १९६० (२०१७ सालतिर) नेपाल आएका थिए। उनले गरेको अध्ययनमा नेपालमा वार्षिक रूपमा नै हैजा फैलिने गरेको उल्लेख छ।
डब्लूएचओको प्रतिवेदनअनुसार, २०१५ सालमा मात्र हैजाबाट ३४२ जनाको मृत्यु भएको थियो। त्यसपछि हिउँदका तीन महिनाबाहेक लगातार दुई वर्ष हैजा फैलियो। तीन वर्षमा हैजाले ४०५ जनाको मृत्यु भएको बुलेटिन अफ द वर्ल्ड हेल्थ अर्गनाइजेसनको रिपोर्टमा उल्लेख छ।
हैजाबारे अध्ययन गरेका डब्लूएचओका फेलो गारीबले नेपालमा त्यस बेला स्वास्थ्यसम्बन्धी कुनै पनि तथ्यांक व्यवस्थित राखिने नगरिएको लेखेका छन्। उनले मृत्यु र संक्रमणसम्बन्धी तथ्यांक संक्रामक रोग अस्पतालबाट संकलन गरेका थिए। त्यस्तो अस्पताल काठमाडौँमा मात्र भएको पनि जनाएका छन्। २०१५ सालमा मात्र २४ सय ५२ जना हैजाबाट संक्रमित भएको डब्लूएचओको तथ्यांक छ।
हैजा नियन्त्रणका लागि सरकारले दुईपटक २५–२५ हजार गरेर ५० हजार बजेट निकासा गरेको थियो। डब्लूएचओले २५ हजार बिरामीलाई पुग्ने हैजा निरोधक इन्जेक्सन दिएको थियो। त्यस बेला दिनमा ३६ जनासम्म बिरामी अस्पताल आउने गरेका थिए। (गोरखापत्र, २०१५ साउन २२)
अमेरिकाले पनि दुई लाख ८० हजार सीसी हैजा निरोधक भ्याक्सिन र दुई टन चिकित्सकीय वस्तु दिएको थियो। सुई लिन मान्छे कम आएकाले ‘रत्तिभर नदुखाउने इन्जेक्सन’ भनेर प्रचारसमेत गर्नुपरेको थियो। (उही)
हैजाको औषधि भने निःशुल्क दिने व्यवस्था मिलाइएको थियो। काठमाडौँबाहेक हैजा रोकथामका लागि ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा विशेष प्रबन्ध मिलाएर उपचार क्याम्प राखिएको थियो। ती क्याम्पबाट हैजा संक्रमण रोक्ने इन्जेक्सन दिइन्थ्यो। काठमाडौँको करिब दुई लाख जनसंख्यामध्ये दुई वर्षमा करिब ६६ हजारलाई खोप लगाइएको डब्लूएचओले उल्लेख गरेको छ।
उपत्यकाभित्र आवागमनका मुख्य ठाउँ बानेश्वर, बौद्ध, कालिमाटी, ललितपुर जाने बागमतीको पुललगायत ठाउँमा विशेषज्ञको टोली राखेर सुई लगाइएको थियो। डब्लूएचओको प्रतिवेदनमा पनि शहरका नाकामा ‘चेकपोष्ट’हरू राखेर उपचार गरिएको उल्लेख छ।
त्यस बेलाको गोरखापत्रमा प्रकाशित समाचारअनुसार, औषधि पसललाई रातिसम्म औषधि बेच्न निर्देशन दिइएको थियो। भक्तपुर–काठमाडौँ गर्ने सवारी साधनले बिहानको ३ बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको थियो।
२०१५ सालको हैजा वैशाखबाट शुरू भएको थियो। काठमाडौँको भित्री शहरमा हैजा बिस्तारै कम भए पनि पाँगा, र्कीतिपुरलगायत ठाउँमा नियन्त्रणमा आएको थिएन। साउन मध्यदेखि भदौ दोस्रो हप्ता एकै महिनामा १३६ जनाको मृत्यु भएको थियो।
असोजमा हैजा संक्रमण पुनः बढेको थियो। सरकारले नागरिकलाई दुईपटकसम्म खोप लगाउन अनुरोध गरेको थियो। उपत्यकामा असोजसम्ममा पूर्णरूपमा हैजा नियन्त्रणमा आएको गोरखापत्रले उल्लेख गरे पनि कात्तिक–मंसिरमा मृत्यु हुनेको संख्या उल्लेख्य भएको डब्लूएचओको तथ्यांकले देखाउँछ। १९५८ को अक्टोबर र नोभेम्बरमा (असोज १५ देखि मंसिर १५ सम्म) ८४ जनाको मृत्यु भएको थियो।
कस्तो थियो त्यस बेलाको काठमाडौँ?
त्यस बेलाको काठमाडौँको अव्यवस्थाबारे चन्द्रादेवी अधिकारीले आफ्नो पुस्तक मेरो जीवन यात्रामा उल्लेख गरेकी छन्। नेकपामा २००६ सालमै नेकपाको केन्द्रीय सदस्य भएका डीपी अधिकारीकी श्रीमती हुन्। उनले आफू २०११ जेठमा श्रीमानसँग काठमाडौँ आएर लगनको दलासीमा बसेको उल्लेख गरेकी छन्।
आफू बस्ने आसपासको क्षेत्रमा जताततै दिसा–पिसाप देखेको, गल्लीमा मरेका मुसाहरू फालिएको उल्लेख गरेकी छन्। स्थानीयले शौचालयको फोहोर कोपरा, बाटा आदिमा राखेर चोकमै फाल्ने गरेको पनि उनले लेखेकी छन्।
पुस्तकमा लेखिएको छ, “त्यो फोहोर पानी जमेकै ठाउँमा स्थानीय मानिसहरूले हात–खुट्टा, मुखसमेत धोएको देख्दा मलाई सिकसिको लाग्थ्यो। त्यस्तो ठाउँमा हामी धेरै बस्न सकेनौँ, डेरा सरिहाल्यौँ।” (मेरो जीवन यात्रा, पृष्ठ ८४)
प्रतिवेदनमा पनि त्यस बेला काठमाडौँमा इनारहरू खुला हुने उल्लेख छ। मलमूत्रको थुप्रोमा ब्लिचिङ पाउडर छर्किएको पनि उल्लेख छ, जसबाट जथाभाबी दिसा–पिसाप भेटिने बुझ्न सकिन्छ।
डब्लूएचओको प्रतिवेदनअनुसार, महामारीकै बेला चाडपर्वमा मानिसहरूले मन्दिरमा बिक्रीका लागि राखिएको खानेकुरा खाएका थिए। त्यसले पनि महामारी फैलाउन सहयोग गरेको थियो। त्यस बेला चाडपर्वमा खुला रूपमा खानेकुरा बनाएर बेच्ने चलन थियो।
चियाखाजा खाने होटल सीमित थिए। होटलमा राखिएका खानेकुरा पनि खुला र अव्यवस्थित हुन्थे। कतिपयमा त बासी खानेकुरा राखिएको हुन्थ्यो। त्यस्तो बासी खानेकुराबाट हैजा फैलिएको आशंकामा जफत गरेर नष्ट गरिएको समाचार गोरखापत्रमा छापिएको थियो। (२०२५ साउन २७)
डब्लूएचओको प्रतिवेदनअनुसार, हैजा नियन्त्रणका लागि पिउने पानीमा ब्लिचिङ पाउडर छर्किने अभियान चलाइएको थियो। सवारी साधन, फोहोरको थुप्रो र मलमूत्रमा पनि ब्लिचिङ पाउडर छर्किइएको थियो। महामारी नियन्त्रण गर्न झिँगा मार्ने अभियान चलाइएको पनि डब्लूएचओले उल्लेख गरेको छ।
झिँगा मार्नेलाई पुरस्कार
सरकारले तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा हैजा निवारण कमिटी बनाएको थियो। कमिटीको २०१५ साउन २० गते बसेको बैठकले होटलमा खुला राखिएको र बासी खानेकुरा भेटिए जफत गरेर नष्ट गर्ने निर्णय गरेको थियो।
कमिटीले जाँचबुझ गरी झिँगाबाटै हैजा फैलिएको निष्कर्ष निकालेको समाचार गोरखापत्रमा प्रकाशित छ। उक्त बैठकले खाना बेच्ने प्रत्येक पसलमा जाली राख्न निर्देशन दिएको थियो। नराखेमा वा राखेर पनि झिँगा भन्केको भेटिए प्रहरीले खानेकुरा फ्याँकदिने र पसलेलाई कारबाही गर्ने निर्णय भएको थियो।
हैजा निवारण कमिटीले झिँगा नियन्त्रण गर्ने रोचक निर्णय गरेको थियो। झिँगा मार्ने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरिएको थियो। एक माना झिँगा मार्नेलाई पाँच मोहर (हालको २ रुपैयाँ ५० पैसा) पुरस्कार घोषणा भएको थियो।
काठमाडौँ नगरपालिकाले पनि नगरबासीसँग झिँगा मार्न अपिल गरेको थियो। नगरपालिकाले झिँगा मार्नेलाई एक मानाको मोरु (मोहर रुपैयाँ) ५० पैसा दिने जनाएको थियो। त्यस बेला नगरपालिकाको कार्यालय नयाँ सडकमा थियो।
सरकारले उक्त घोषणा गरेपछि झिँगा मार्न केटाकेटीहरूमा उत्साह देखिएको थियो। १४ वर्षमुनिका बालबालिकाले धेरै झिँगा मारेका थिए। झिँगा मारेर पुरस्कार लिन नयाँ सडकस्थित काठमाडौँ नगरपालिकाको कार्यालय पुग्ने ८० प्रतिशत बालबालिका थिए। (गोरखापत्र, २०१५ साउन २७)
नगरपालिकाले विभिन्न व्यक्तिबाट ६ पाथी ४ माना झिँगा संकलन गरेर नष्ट गरेको थियो। हैजा शान्त भए पनि सरकारले पछि उपत्यकामा सबैभन्दा बढी झिँगा मार्ने तीन जनालाई पुरस्कार दिने घोषणा गरेको थियो। पहिलोलाई मोरु १००, दोस्रोलाई मोरु ७५ र तेस्रोलाई मोरु ५० दिने व्यवस्था थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
उपेन्द्र अर्याल
