अमेरिकी राजनीतिमा इजरायललाई किन सधैँ प्राथमिकता दिइन्छ? अमेरिकी इसाई समाजमा यहुदीप्रति किन यति गहिरो मोह देखिन्छ? किन इरानप्रति अमेरिकी इसाई समाज सधैँ अनुदार हुन्छ?
‘हाम्रा दुई राष्ट्रमा धेरै समानता छन्। दुवै देश अन्य देशको धार्मिक उत्पीडनबाट भागेका आप्रवासीहरूद्वारा स्थापित हौँ। दुवैले जीवन्त प्रजातन्त्र निर्माण गरेका छौँ। दुवै देशहरू एक सर्वशक्तिमान् ईश्वर छन्, जो मानवका गतिनिधिहरूको निरीक्षण गर्छन् र प्रत्येक जीवनको मूल्य राख्छन् भन्ने आधारभूत विश्वासहरूमा स्थापित छन्। यी सम्बन्धले हामीलाई स्वाभाविक सहयोगी बनाएका छन् र यी सम्बन्ध कहिल्यै टुट्ने छैनन्।’
अमेरिकी पूर्व-राष्ट्रपति जर्ज डब्ल्यु बुसले सन् २००८ मा इजरायलको स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसरमा इजरायलको संसद् कनेस्सेटमा सम्बोधन गर्दै अमेरिका र इजरायलबीचको गहिरो धार्मिक, ऐतिहासिक र लोकतान्त्रिक सम्बन्धबारे चर्चा गर्दै दिएको वक्तव्य हो यो।
गत जुन महिनामा १२ दिनजति इजरायल र इरानबीच लडाइँ भयो। मध्यपूर्वका दुई शक्ति राष्ट्र बीचको त्यस युद्धमा अप्रत्याशित रूपमा अमेरिकासमेत हाम्फाल्यो। अन्तर्राष्ट्रिय विरोधका बाबजुद उसले इरानमाथि आक्रमण गर्दै इजरायललाई सहयोग गर्यो।
आम रूपमा अमेरिकी अर्थतन्त्र र पुँजीमा यहुदी समुदायको प्रभावकै कारण इजरायलप्रति अमेरिकी समाजको अटल समर्थन रहेको मानिन्छ। पुँजीवादी संरचनामा सम्बन्धहरू उत्पादन साधन, आर्थिक शक्ति र सम्पदाको नियन्त्रणमा आधारित हुन्छन्, जुन परिवर्तन भइरहन्छ। तथापि, अमेरिका र इजरायल सम्बन्ध भने अर्थ राजनीतिका कुनै सूचकले तात्त्विक असर पारेको देखिँदैन।
उसो त, इसाई-यहुदी सम्बन्धको ऐतिहासिक पृष्ठभूमि सिंहावलोकन गर्दा परम्परागत रूपमा यी दुई एक अर्काका विरोधी देखिन्छन्। इसा मसिह (जिसस क्राइस्ट) ले आफूलाई ईश्वरको पुत्र र मसिहाको रूपमा व्याख्या गरेपछि सुरु भएको विवाद अन्ततः इसा मसिहको हत्यासम्म पुगेको बताइन्छ। तथापि, अमेरिकी इसाईहरू इजरायलका जस्तोसुकै मानवता विरोधी क्रियाकलापलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायोचित ठहर्याइरहेका हुन्छन्। यहाँ स्वाभाविक सवाल उठ्ने गर्छ–किन अमेरिकी राजनीतिमा इजरायललाई सधैँ प्राथमिकता दिइन्छ? किन अमेरिकी इसाई समाजमा यहुदीप्रति यति गहिरो मोह देखिन्छ? किन इरानप्रति अमेरिकी इसाई समाज सधैँ अनुदार हुन्छ?
यसको अन्तर्यमा खास किसिमको जटिल धार्मिक, सांस्कृतिक र वैचारिक आधार छन्, जसलाई डिस्पेन्सेसनालिजम् भनिन्छ। यस शब्दको ठ्याक्कै नेपाली रूपान्तरण नभए पनि यसलाई बुझ्नलाई 'ईश्वर (इसा मसिहा/जिसस) को कालचक्र सिद्धान्त' भनेर बुझ्दा सजिलो होला।
डिस्पेन्सेसनालिजम
डिस्पेन्सेसनालिजम् परिष्कृत बाइबलीय व्याख्या प्रणाली हो, जसलाई १९औँ शताब्दीको धार्मिक पुनर्जागरणको सन्दर्भमा बेलायती धर्मशास्त्री जोन नेल्सन डार्बी (१८००–१८८२)ले प्रतिपादन गरेका थिए। प्लिमथ ब्रेथ्रेन आन्दोलनका प्रणेतामध्ये एक डार्बीले मानव इतिहासलाई ईश्वरको दैवी योजनाको सात विशिष्ट युगहरूका रूपमा व्याख्या गरे, जसमा प्रत्येक युगले मानव जातिसँग ईश्वरका विभिन्न करार, जिम्मेवारी र नैतिक अपेक्षाहरूको प्रतिनिधित्व गर्छ।
इन्नोसेन्स (आदमको युग), ल (मोसाको युग) र ग्रेस (चर्चको युग) युगहरूका प्रमुख उदाहरण हुन्। बाइबलको ओल्ड टेस्टामेन्टका भविष्यवाणीहरू (यशैया, यिर्मयाह, यहेजकेल) र न्यु टेस्टामेन्टलाई केन्द्रमा राख्दै डार्बीको यस दृष्टिकोणले बाइबलको लिटरल (शाब्दिक) व्याख्यालाई प्राथमिकता दियो। उनको सिद्धान्तले यहुदी र इसाई चर्चलाई ईश्वरको योजनामै तय भएको पृथक् संस्थाको रूपमा चित्रण गर्यो, जहाँ यहुदीहरूले पृथ्वीको भौतिक करार र चर्चले स्वर्गीय-आध्यात्मिक करारको प्रतिनिधित्व गर्छन्।
यो द्वैतवादी ढाँचाले इजरायलमा यहुदीहरूको पुनर्स्थापना, तेस्रो मन्दिरको निर्माण र 'अन्त्य काल'मा यिसुको दोस्रो आगमनलाई अनिवार्य ठान्छ। डार्बीको यो विचारले बाइबललाई एक दैवी नाटकको रूपमा प्रस्तुत गर्छ, जसको कथा इजरायलको भौतिक र आध्यात्मिक पुनर्जन्ममा केन्द्रित छ। यो सिद्धान्तले १९औँ शताब्दीको बेलायती र अमेरिकी धार्मिक चिन्तनलाई गहिरो प्रभाव पारेको थियो, तर २०औँ शताब्दीमा यसले विश्व भूराजनीतिमा एक प्रभावशाली शक्तिको रूप लियो। स्कोफिल्ड नामका पादरी (१८४३–१९२१) ले सम्पादन गरेको बाइबलले बाइबल पढ्नेहरूलाई डिस्पेन्सेसनालिजम्को धारणा सहज रूपमा बुझाउन र स्वीकार गर्न सहयोग गर्यो, जसका कारण यो विचार संसारभर फैलियो।
स्कोफिल्डले बाइबलका प्रत्येक अध्याय र पदमा विस्तृत टिप्पणीहरू समावेश गरे, जसले ओल्ड टेस्टामेन्ट र न्यु टेस्टामेन्टका भविष्यवाणीहरूलाई समकालीन भूराजनीति र ऐतिहासिक घटनाहरूसँग जोड्यो। उदाहरणका लागि, यशैया ११:११ र यहेजकेल ३७ (बाइबलको ओल्ड टेस्टामेन्टका भागहरू) मा वर्णित यहुदीको 'भूमिमा पुनरागमन'लाई आधुनिक इजरायलको पुनर्स्थापनासँग जोडियो। स्कोफिल्डको यो बाइबलले अमेरिकी इभान्जेलिकल (धर्म प्रचारमा जोड दिने क्रिश्चियन समुदाय) र जडवादी क्रिश्चियन समुदायहरूमा व्यापक स्वीकार्यता प्राप्त गर्यो। यसले क्रिश्चियन जिओनिज्मको विचारधारालाई संस्थागत रूपमा सुदृढ बनायो।
स्कोफिल्डको व्याख्याले १९४८ मा इजरायलको स्थापना र १९६७ को छ-दिवसीय युद्धमा पूर्वी जेरुसेलमको पुनः एकीकरणलाई बाइबलीय भविष्यवाणीहरूको पूर्तिको रूपमा चित्रण गर्यो। यो सिद्धान्तले लाखौँ इसाईलाई इजरायलको समर्थनलाई एक धार्मिक कर्तव्यको रूपमा आत्मसात् गर्न प्रेरित गर्यो। किनकि, स्कोफिल्डको बाइबलले यहुदीहरूको इजरायल पुनरागमनलाई ईश्वरको दैवी योजनाको अपरिहार्य चरणको रूपमा स्थापित गरेको थियो, जसले इजरायलको भूराजनीतिक स्थानलाई धार्मिक वैधताले सशक्त बनायो। यो विचारले २०औँ शताब्दीको मध्यमा अमेरिकी धार्मिक र राजनीतिक परिदृश्यमा गहिरो प्रभाव पार्यो। आज पनि यसको प्रभाव विश्वव्यापी स्तरमा कायम छ।
धार्मिक कथानक र भूराजनीतिक रंगमञ्चको संगम
विशेषगरी उत्पत्ति १२:१-३ (बाइबलको ओल्ड टेस्टामेन्टको अध्याय १२, पद १ देखि ३ सम्म) मा अब्राहमलाई दिइएको प्रतिज्ञालाई आधार बनाई डिस्पेन्सेसनालिजम्ले इजरायललाई ईश्वरको अनन्त: करारको धुरीको रूपमा स्थापित गर्छ। यो प्रतिज्ञाले कनान भूमि (आधुनिक इजरायल र प्यालेस्टाइन) लाई अब्राहम र उनको सन्तानको लागि शाश्वत सम्पत्तिको रूपमा वर्णन गर्छ। डिस्पेन्सेसनालिस्टहरू यो करारलाई अटल र अपरिवर्तनीय ठान्छन्, जसलाई कुनै मानवीय वा राजनीतिक शक्तिले खण्डन गर्न सक्दैन।
प्रकाशको पुस्तक (बाइबलको अन्तिम पुस्तक) र ड्यानियलका भविष्यवाणीहरूले 'अन्त्य काल'मा इजरायलको केन्द्रीय भूमिकालाई थप जोड दिएको छ, जसमा तेस्रो मन्दिरको निर्माण, आर्मागेद्दोनको युद्ध र यिसुको दोस्रो आगमनका विषय समावेश छन्। यी ग्रन्थहरूले इजरायलको भौतिक र आध्यात्मिक पुनर्जन्मलाई ईश्वरको योजनाको अपरिहार्य सर्तको रूपमा प्रस्तुत गर्छन्।
सन् १९४८ मा इजरायलको स्थापना र यहुदी डायस्पोराको पुनरागमनले दैवी कथानकलाई गति प्रदान गरेको भन्नेमा डिस्पेन्सेसनालिस्टहरू विश्वास गर्छन्। यो विश्वासले विश्वभरका इभान्जेलिकल क्रिश्चियन समुदायलाई इजरायलको समर्थनलाई एक धार्मिक अनिवार्यताको रूपमा स्वीकार गर्न प्रेरित गरेको छ। पादरी जोन ह्यागी र उनको संगठन क्रिश्चियन युनाइटेड फर इजरायल (सियुएफआइ) ले यो सिद्धान्तलाई सशक्त बनाएका छन्, जसले इजरायलको समर्थनलाई ईश्वरको इच्छासँग अभिन्न रूपमा जोड्छन्। ह्यागीको कथन 'इजरायलको समर्थन गर्नु ईश्वरको योजनासँग सहकार्य गर्नु हो' ले अझ यो विश्वासको गहिरो प्रभाव प्रस्ट पार्छ। भूराजनीतिक दृष्टिकोणबाट, यो सिद्धान्तले इजरायललाई मध्यपूर्वको एक रणनीतिक शक्तिको रूपमा सुदृढ बनाउँछ, जसलाई धार्मिक र राजनीतिक समर्थनले अभूतपूर्व वैधता प्रदान गर्छ।
इरानको भूराजनीतिक र बाइबलीय भूमिका
डिस्पेन्सेसनालिस्ट व्याख्याले इजरायल र खाडी मुलुकहरू (विशेष गरी इरान) बीचको शत्रुतालाई बाइबलीय भविष्यवाणीहरूको प्रत्यक्ष अभिव्यक्तिको रूपमा चित्रण गर्छ। यहेजकेल ३८–३९ मा वर्णित 'गोग र मागोग'को युद्धलाई प्रायः आधुनिक मध्यपूर्वको भूराजनीतिक तनावसँग जोडेर हेर्ने गरिन्छ। विशेष गरी इरानको इजरायलविरुद्धको कट्टर वैचारिक विरोध, हिजबुल्लाह र हमासजस्ता प्रोक्सी समूहहरूलाई समर्थन र यसको परमाणु महत्वाकांक्षाका कारण 'गोग'लाई कतिपयले इरानसँग तुलना गर्छन्।
१९७९ को इस्लामिक क्रान्तिपछि इरानको सिया नेतृत्वले इजरायललाई 'जायनवादी शत्रु'को रूपमा चित्रण गरेको थियो र यसको क्षेत्रीय प्रभाव—सिरियामा सैन्य उपस्थिति, यमनमा हूथी विद्रोहीहरूलाई समर्थन र लेबनानमा हिजबुल्लाहको सशक्तीकरणले इजरायल र पश्चिमी शक्तिहरूसँगको तनावलाई गहिरो बनाएको छ।
डिस्पेन्सेसनालिस्टले यहेजकेल ३८:५ मा उल्लिखित 'पर्सीया' (प्राचीन इरान) लाई आधुनिक इरानसँग जोड्छन्, जहाँ 'अन्त्य काल'मा इजरायल पक्षीय गठबन्धनमा सहभागी हुने भविष्यवाणी गरिएको छ। यो धार्मिक व्याख्याले इरानविरुद्धको कठोर नीतिलाई धार्मिक वैधता प्रदान गर्छ, जसले अमेरिकी इभान्जेलिक समुदायमा इरानमाथि आर्थिक प्रतिबन्ध, कूटनीतिक अलगाव र सैन्य कारबाहीको समर्थन गर्न प्रेरित गर्छ।
२०१८ मा इरानसँगको न्यूक्लियर सम्झौता (जेसीपीओए) बाट तत्कालीन ट्रम्प प्रशासनको पछि हट्ने निर्णय र २०२० मा कासिम सुलेमानीको लक्षित हत्या वा ताजा इरान-इजारयल युद्धमा इजरायलको समर्थनले यो विश्वासलाई प्रत्यक्ष समर्थन गरेको देखिन्छ। यी नीतिहरूले इजरायललाई क्षेत्रीय प्रभुत्वको स्थिति प्रदान गर्न खोज्छन्, जुन डिस्पेन्सेसनालिस्ट कथानकसँग मिल्छ।
अब्राहम सम्झौता: क्षेत्रीय पुनर्संरचना र प्यालेस्टिनी प्रश्न
२०२० को अब्राहम सम्झौताले इजरायल र खाडी मुलुकहरू (संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्को) बीच कूटनीतिक सम्बन्ध स्थापना गरी मध्यपूर्वको भूराजनीतिक परिदृश्यमा परिवर्तनकारी मोड ल्यायो। ट्रम्प प्रशासनको मध्यस्थतामा भएको थियो सो सम्झौता। इरानविरुद्ध क्षेत्रीय गठबन्धनलाई सुदृढ गर्न र इजरायलको क्षेत्रीय एकीकरण प्रवर्द्धन गर्न यो रचिएको थियो।
डिस्पेन्सेसनालिस्टहरू यो सम्झौतालाई समेत इजरायलको बाइबलीय समृद्धिको प्रतीकको रूपमा हेर्छन्, किनकि यशैया ६० (ओल्ड टेस्टामेन्टको एक अध्याय) जस्ता ग्रन्थले 'अन्त्य काल'मा इजरायलको शान्ति र समृद्धिको भविष्यवाणी गर्छन्। यद्यपि, यो सम्झौताले प्यालेस्टिनी मुद्दालाई पृष्ठभूमिमा धकेलेको छ, जसले प्यालेस्टिनी समुदाय र इरान समर्थित समूहहरूमा आक्रोश उत्पन्न गरेको छ। प्यालेस्टिनीहरूले यो सम्झौतालाई आफ्नो आत्मनिर्णयको अधिकारमाथिको उपेक्षाको रूपमा देख्छन्, किनकि यसले इजरायलको क्षेत्रीय वैधतालाई सुदृढ गर्छ, तर प्यालेस्टिनी राज्यको सम्भावना कमजोर बनाउँछ।
डिस्पेन्सेसनालिस्टहरू प्यालेस्टिनीहरूलाई प्रायः ईश्वरको योजनामा बाधकको रूपमा चित्रण गर्छन् र इजरायलमा यहुदीको पूर्ण प्रभुत्वलाई दैवी इच्छासँग जोड्छन्। इजरायलद्वारा गाजामा गरेको मानवता विरोधी अपराधलाई अमेरिकी इसाई समाजले अन्ध समर्थन गर्नुको पछाडि पनि यही कारण रहेको मान्न सकिन्छ। प्यालेस्टिनी इसाई र मुसलमान समुदायहरू भने यसको आलोचना गर्छन् र डिस्पेन्सेसनालिजम्लाई 'धार्मिक उपनिवेशवाद'को एक रूप मान्छन्। उनीहरू अब्राहम सम्झौतालाई भूराजनीतिक रणनीतिको हिस्साको रूपमा विश्लेषण गर्छन्, जसले इरानको क्षेत्रीय प्रभावलाई सन्तुलनमा राख्ने र साउदी अरबजस्ता अन्य घटकहरूलाई इजरायलसँग अप्रत्यक्ष सहयोगको लागि प्रेरित गर्ने उद्देश्य राख्छ।
विश्व राजनीतिमा डिस्पेन्सेसनालिजम
वर्तमान विश्व राजनीतिमा डिस्पेन्सेसनालिजम्को प्रभाव धार्मिक क्षेत्रको परिधिबाट बाहिर निस्केर विश्व भूराजनीतिमा एक शक्तिशाली कारकको रूपमा स्थापित भएको छ। संयुक्त राज्य अमेरिकामा अनुमानित ५०–८० लाख इभान्जेलिकल मतदाता यो विचारधारासँग जोडिएका छन् र उनीहरूको प्रभाव रिपब्लिकन पार्टीका नीतिहरूमा गहिरो रूपमा प्रकट हुन्छ।
अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी (अइप्याक) जस्ता प्रभावशाली लबिङ समूहहरूले आफ्नो देशलाई इजरायललाई सैन्य र आर्थिक सहायता वृद्धि गर्न र इरानविरुद्ध कठोर नीति अपनाउन दबाब दिन्छन्। पछिल्लो ट्रम्प प्रशासनका नीतिहरू (जस्तै: २०१७ मा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता, २०१९ मा गोलान हाइट्समा इजरायलको सार्वभौमिकताको समर्थन र अब्राहम सम्झौता) डिस्पेन्सेसनालिस्ट समुदायको समर्थनबाट प्रत्यक्ष प्रभावित थिए।
संयुक्त राष्ट्रसंघमा अमेरिकाले इजरायलविरुद्धका प्रस्तावहरूलाई बारम्बार भिटो गर्नु (जस्तै: २०११ मा प्यालेस्टिनी बस्तीविरुद्धको प्रस्ताव, प्यालेस्टाइन- इजरायल शान्ति प्रस्ताव) यसै प्रभावको परिणाम हो। थप रूपमा, डिस्पेन्सेसनालिजम्को धार्मिक कथानकले मध्यपूर्वमा युद्ध र शान्तिका निर्णयहरूलाई आकार दिन्छ। २००३ को इराक युद्ध र इरानविरुद्ध सैन्य कारबाहीको समर्थनलाई प्रायः बाइबलीय भविष्यवाणीहरू (जस्तै 'गोग र मागोग') सँग जोडेर प्रस्तुत गरिन्छ। यद्यपि, अर्को दृष्टिकोणले यी नीतिहरूलाई धार्मिक विचारधाराको सट्टा भूरणनीतिक र आर्थिक प्राथमिकताहरू (तेल संसाधन र क्षेत्रीय प्रभुत्व) द्वारा संचालित भएको भनी व्याख्या गर्छन्।
प्यालेस्टिनी दृष्टिकोण र नैतिक प्रश्नहरूको अन्तर्य
प्यालेस्टिनी दृष्टिकोणबाट हेर्दा डिस्पेन्सेसनालिजम् उत्पीडक र विवादास्पद विचारधारा हो, जसले प्यालेस्टिनी आत्मनिर्णयको अधिकार नकार्छ, इजरायलको विस्तारवादी नीतिलाई धार्मिक वैधता प्रदान गर्छ। आफूलाई यीशुका प्रारम्भिक अनुयायीहरूको सन्तान ठान्ने प्यालेस्टिनी इसाईहरू समेत यो सिद्धान्तलाई धार्मिक उपनिवेशवादको रूपमा आलोचना गर्छन्।
प्यालेस्टिनी बुद्धिजीवीहरूचाहिँ यो सिद्धान्तलाई पश्चिमी साम्राज्यवादको एक वैचारिक औजारको रूपमा विश्लेषण गर्छन्, जसले मध्य पूर्वमा उपनिवेशवादी परियोजनालाई समर्थन गर्छ। डिस्पेन्सेसनालिजम्मा यहुदीहरूलाई ईसाईकरणको सर्त रहेकाले यहुदी समुदायलाई पनि यसले असहज बनाएको छ। यसले यहुदी धर्मको स्वायत्तता कमजोर पारेको छ।
डिस्पेन्सेसनालिजमले गम्भीर नैतिक प्रश्नसमेत उठाउँछ: यदि इजरायलको समर्थन ईश्वरको दैवी योजना हो भने प्यालेस्टिनीहरूको विस्थापन, पीडा, र सांस्कृतिक तवाहीको नैतिक जिम्मेवारी कसले वहन गर्छ? त्यसो हुँदा प्यालेस्टिनी मुद्दा मानवअधिकार र आत्मनिर्णयको प्रश्न हो, जसलाई धार्मिक कथानकको सट्टा अन्तर्राष्ट्रिय कानून र कूटनीतिक समाधानको ढाँचामा सम्बोधन गर्नुपर्छ। यो प्रश्नले डिस्पेन्सेसनालिजम्को नैतिक र दार्शनिक आधारमाथि गहिरो बहस छेड्छ।
आलोचना र वैकल्पिक व्याख्या
डिस्पेन्सेसनालिजम्को आलोचना धार्मिक, दार्शनिक र भूराजनीतिक दृष्टिकोणबाट तीव्र छ। धार्मिक रूपमा क्याथोलिक, प्रेस्बिटेरियन र अन्य मुख्य धाराका इसाई सम्प्रदायले यो सिद्धान्तलाई बाइबलको अति व्याख्या र आधुनिक भूराजनीतिलाई जबरजस्ती बाइबलीय ढाँचामा ढाल्ने प्रयास ठान्छन्। डिस्पेन्सेसनालिजम्ले बाइबलको समग्र सन्देश (प्रेम, न्याय र सामाजिक समावेशिता) लाई बेवास्ता गर्छ।
कोभनन्ट थियोलोजीजस्ता वैकल्पिक व्याख्याले यहुदी र चर्चलाई एक एकीकृत दैवी योजनामा समाहित गर्छन् र इजरायलको भौतिक पुनर्स्थापनालाई अनिवार्य ठान्दैनन्। यहुदी समुदाय स्वयंले डिस्पेन्सेसनालिजमलाई अस्वीकार गर्छ, किनकि यसले यहुदीलाई यिसुको स्वीकारोक्तिमा 'बचाइने' सर्त राख्छ, जुन यहुदी धर्मको आधारभूत सिद्धान्तहरूसँग बाझिन्छ।
प्रगतिशील बुद्धिजीवीहरू र प्यालेस्टिनी अभियन्ताहरूले यो सिद्धान्तलाई पश्चिमी साम्राज्यवादको एक वैचारिक औजारको रूपमा आलोचना गर्छन्। वैकल्पिक दृष्टिकोणले मध्यपूर्वको तनावलाई धार्मिक भविष्यवाणीको सट्टा ऐतिहासिक, आर्थिक र सामाजिक कारकहरू (उपनिवेशवादको विरासत, तेल संसाधनको प्रतिस्पर्धा र शक्ति सन्तुलन) को परिणामको रूपमा विश्लेषण गर्छ। यी आलोचनाले डिस्पेन्सेसनालिजम्को विश्व दृष्टिकोण, विशेषगरी विश्वलाई एक रैखिक बाइबलीय कथानकमा बाँध्ने यसको प्रयासमाथि प्रश्न उठाउँछन्।
वैश्विक प्रभाव र भविष्य
डिस्पेन्सेसनालिजम् एक धार्मिक सिद्धान्त मात्र नभई वैश्विक भूराजनीतिक शक्ति हो, जसले चर्चका 'पवित्र ग्रन्थ'हरूबाट विश्वका शक्ति केन्द्रहरू (ह्वाइट हाउस, संयुक्त राष्ट्रसंघ र क्षेत्रीय गठबन्धन) हरूसम्म आफ्नो प्रभाव विस्तार गरेको छ। यो सिद्धान्तले इजरायललाई ईश्वरको योजनाको केन्द्रमा राख्छ, जसले इरानसँगको शत्रुता, प्यालेस्टिनी मुद्दा र क्षेत्रीय अस्थिरतालाई जटिल बनाउँछ।
इजरायललाई वार्षिक ३.८ बिलियन डलरको सैन्य सहायता, इरानमाथि आक्रमण र जेरुसेलमलाई राजधानीको मान्यतालगायत अमेरिकी नीतिहरू यस विचारधाराबाट गहिरो रूपमा प्रभावित छन्। थप रूपमा, डिस्पेन्सेसनालिजम्को कथानकले मध्यपूर्वमा शान्ति वा युद्धको भविष्यलाई आकार दिन्छ।
यदि यो सिद्धान्तले इरानविरुद्धको सैन्य कारबाही वा इजरायलको विस्तारवादी नीतिहरूलाई समर्थन गर्न जारी राख्यो भने क्षेत्रीय तनाव र अस्थिरता बढ्न सक्छ। अर्कोतर्फ, अब्राहम सम्झौताजस्ता कूटनीतिक पहलहरूले इजरायलको क्षेत्रीय एकीकरणलाई प्रवर्धन गरे पनि प्यालेस्टिनी मुद्दाको समाधानबिना दीर्घकालीन शान्ति सम्भव नहुने देखिन्छ।
वैकल्पिक दृष्टिकोणले मध्यपूर्वका समस्यालाई धार्मिक कथानकको सट्टा कूटनीति, समावेशी संवाद र अन्तर्राष्ट्रिय कानूनको ढाँचामा समाधान गर्न जोड दिने हुँदा मध्यपूर्वको अहिलेको हिंसा, अपराध र अन्यायको अन्त्य त्यसमै निहित छ, हुनुपर्छ।
(रिजाल युएइमा रोजगारी गर्छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
