नदी किनाराको खाली क्षेत्रः शहरलाई सास फेर्ने ठाउँ

काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण खुला स्थानको अभाव छ। पछिल्लो समय बागमती किनाराको सौन्दर्यीकरणले त्यहाँका पार्क र संरक्षित स्थान शहरबासीलाई ‘सास फेर्ने ठाउँ’ भएका छन्।

काठमाडौँ– गत चैतमा परेको पानीले गोकर्णेश्वरस्थित सर्वेश्वर मन्दिर नजिकैको खेल मैदान जलमग्न भयो। पानी परेपिच्छे कोर्ट जलमग्न हुँदा शुल्क तिरेर त्यहाँ भलिबल खेल्ने मनोज खड्कासहित युवाको समूहले नयाँ ठाउँ खोज्यो।

अछामको साँफेबगरबाट आएका उनीहरू अहिले बागमती किनारामा भलिबल खेल्छन्। नदी क्षेत्रको झाडीले ओगटेको भागलाई सफा पारी उनीहरूले बालुवा हालेर कोर्ट बनाए। तीन महिनादेखि उनीहरू त्यहीँ भलिबल खेलिरहेका छन्।

वर्षा लागेपछि बागमतीको पानीको सतह बढ्छ। तर उनीहरूले खेल्ने ठाउँसम्म आइपुगेको छैन। “यहाँ रोकतोक छैन, न त पैसा नै लाग्छ। वरपरका बासिन्दा पनि हाम्रो खेल हेर्न आउनुहुन्छ,” मनोज भन्छन्, “यस्ता प्राकृतिक स्थानमा निस्फिक्री समय बिताउन पाइन्छ। गाउँघरका खोलानालाको न्यास्रो पनि मेटाउँछ।”

साउन २६ गते साँझ साढे ७ बजे त्यहाँ पुग्दा उनीहरू खेलिसकेर नजिकै पोलेको मकै खाँदै थिए। साथमै थिए भलिबल र नेट। कुराकानीका क्रममा मनोजले भने, “यो खोलाको बाटो हो, खोलालाई नै छाड्नुपर्छ। हामीले पनि खेल्न नहुने हो। यसको उपयोगिता अल्पकालीन हुनुपर्छ। हामी यसमा सचेत छौँ।”

nullत्यस्तै, गौरीघाटस्थित दाइ इन्भेस्टमेन्टको भवनबाट पूर्वतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक बागमती किनारामा हरेक बिहान ५०–६० जना खाना पर्खिरहेका हुन्छन्। गासबासको ठेगान नभएका विपन्नका लागि यहाँ सेतो गुम्बा र कपन गुम्बाको सहकार्यमा बिहानको खाना बाँडिन्छ।

यहाँ २०७२ सालदेखि निःशुल्क खाना खुवाउने गरेको गुम्बाबाट खटिएकी एक कर्मचारीले बताइन्। भूकम्पको बेला दैनिक एक हजारभन्दा धेरैलाई खाना खुवाउने गरेका थिए। त्यस समय पर्याप्त खुला स्थानको खोजी गर्दै यहाँ आइपुगेको उनी बताउँछिन्।

खान खुवाएपछि उनीहरूले सरसफाइ पनि गर्छन्। “खुला स्थानमा खाना खुवाउँदा फोहोर नहोस् भन्ने हाम्रो चाहना हुन्छ। त्यही कारण स्टिलका भाडा ल्याउछौँ। उहाँहरूले त्यसैमा खाएपछि पखालेर फिर्ता गर्नुहुन्छ,” उनी भन्छिन्, “प्लास्टिकको प्रयोगमा पनि कमी आएको छ।”

nullउता, शंखमूलमा बागमती किनारामा नै पार्क बनेको छ। टेकु दोभानमा पनि पार्क छ। यहाँ नदी किनारामा स्थानीयले साँझ बिहान फुटबल खेल्छन्। बिहान पैदल हिँड्नेको त भिड नै हुन्छ। 

सुन्दरीजलको बागद्वारबाट निस्किएको बागमती गोकर्णेश्वर पार गरेपछि शहर पस्न शुरू हुन्छ। त्यसपछि चोभारको गल्छी पार नभएसम्म नदी क्षेत्रमा पर्ने धेरै खुला स्थान छन्। ती खुला स्थान शहरबासीलाई रमाउने ठाउँ भएका छन्। बागमतीका सहायक नदीका नमिचिएका क्षेत्रमा पनि खुला ठाउँ छन्।

किनारा सौन्दर्यीकरणले ल्याएको परिवर्तन
नदी र खोला तथा किनार क्षेत्र मानव सभ्यता र संस्कारसँग पनि गाँसिएका छन्। हिन्दू धर्मका धेरै संस्कार नदीनालासँग नजिक छन्। पछिल्लो समय बागमती नदी किनारालाई सौन्दर्यीकरण गरिँदैछ।

अधिकार सम्पन्न एकीकृत बागमती विकास सभ्यता समितिमार्फत सौन्दर्यीकरणको काम भइरहेको छ। समितिका सूचना अधिकारी उद्धव नेपालका अनुसार, नदी किनारा सौन्दर्यीकरणका लागि एशियाली विकास बैंक (एडीबी) को सहयोग छ।

एडीबीले ४ अर्बभन्दा बढी रकम दिनेछ। पहिलो चरणमा गोकर्णदेखि सिनामंगल पुलसम्म बागमतीको सौन्दर्यीकरण भइसकेको छ। थापाथलीदेखि टेकु दोभान खण्डमा काम भइरहेको सूचना अधिकारी नेपाल बताउँछन्।

nullयो योजनाअन्तर्गत खोलाको दुवै किनारतर्फ पर्खाल लगाएर क्रियापुत्री भवन, शौचालय, पैदलमार्गसहितको साइकल ट्रयाक बनाइनेछ। सोलार बत्ती जडान पनि गरिनेछ। ११ स्थानमा बाँध बाँधिनेछ।

अहिले सुन्दरीजल, माकलबारी, गौरीघाट हुँदै सिनामंगलसम्म नदीका दुवैतर्फ २०–२० गरी ४० मिटर बहाव क्षेत्रका रूपमा छाडिएको छ। नदीको बहाव परिवर्तन भइरहँदा प्राकृतिक रूपमै पनि खुला क्षेत्र बन्छ।

यो योजनाअन्तर्गत बागमतीका सहायक तथा उपसहायक नदी विष्णुमती, रुद्रमती (धोबीखोला), मनोहरा, नक्खु, टुकुचा (इच्छुमती), बल्खु, गोदावरी, हनुमन्ते लगायतको पनि सौन्दर्यीकरण हुनेछ। यसबाट नदीहरूलाई मौलिक स्वरूपमा फर्काउन सकिए हराइसकेका र हराउन लागेका मूर्त र अमूर्त सम्पदा जोगिने नेपाल बताउँछन्।

केही वर्ष अघिसम्म नदी किनारामा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू हुने गरेको यहाँका भुक्तभोगीको भनाइ छ। दशक अघिसम्म नदी किनारामा युवाहरू भेला भएर खेल्ने, गाईवस्तु चराउने गतिविधि हुने गरेको जलस्रोतविद् मधुसुदन उपाध्या बताउँछन्। “खोला आफ्नो राइट अफ वेमा कहिले यता कहिले उता बग्छ,” उनी भन्छन्, “वर्षामा ठूलो हुन्छ, अन्य बेला खुम्चिन्छ। खोला खुम्चिँदा अन्न बाली लगाउने, गाइवस्तु चराउने गरिन्थ्यो।”

उनका अनुसार, गौरीघाट पूर्णरूपमा नदी क्षेत्र थियो। कुमारी गाल हुँदै बौद्ध निस्कने एउटा मात्र बाटो थियो। यद्यपि, २०२२ सालको नापीसँगै नदी किनाराका जग्गा अतिक्रमण हुन थाले। व्यक्तिका नाममा दर्ता भए। बस्ती बढ्दै जाँदा खोलाकिनारा पनि मिचिँदै गएर खुला क्षेत्र नजोगिने अवस्था भयो। 

सौन्दर्यीकरण गरिएका स्थानमा पनि झाडी बढ्ने समस्या छ। शौचालय र फोहर राख्ने भाँडा सीमित छन्। गौरीघाटदेखि जम्बुडाँडासम्मको क्षेत्र सरसफाइ र संरक्षणका लागि पुडासैनी मैत्री समाजलाई जिम्मा दिइएको छ।

nullसमाजका महासचिव जयराज पुडासैनी पालिकाबाट खटिइएका कर्मचारीले सरसफाइमा सक्दो समय दिइरहेको बताउँछन्। पूर्व जनप्रतिनिधि तथा अधिकार सम्पन्न एकिकृत बागमती सभ्यता विकास समितिको बोर्ड सदस्यसमेत रहेका पुडासैनी संरक्षणमा विभिन्न क्लबलाई पनि आबद्ध गराउँदा समन्वय नभएको बताउँछन्।

अरबौँ खर्च भएका यस्ता स्थानको नियमनमा समितिको ध्यान जानुपर्ने उनी बताउँछन्। “हामीले संरक्षणको जिम्मा लिइरहेका थियौँ, लाइन्सलगायत विभिन्न क्लबलाई पनि गराउँदा तालमेल मिलिरहेको छैन,” उनी भन्छन्, “मान्छे हिँड्ने ट्रयाकमा समेत जताततै रुख रोपिदिएको छ।”

किनारा मिचेर सडक, अनि डुबान
समिर राई (२१) गोकर्ण नगरपालिकास्थित जम्बु डाँडाका स्थानीय हुन्। उनी साँझ बिहान हिँड्डुलका लागि बागमती किनारा पुग्छन्। “यहाँ बस्ती बाक्लिँदै गएको छ। डबल साइड बाटो पनि छैन। पैदलयात्रुको लागि फुटपाथ त झनै छैन,” उनी भन्छन्, “फुटपाथ नहुँदा बटुवाको विकल्प पनि खोला किनारा नै बनेको छ।” 

काठमाडौँका मूलसडकमा ट्राफिक व्यवस्थापन चुस्त नहुँदा करिडोरहरूमा चाप बढिरहेको छ। कतिपय करिडोर बनाउँदा खोला क्षेत्र नै मिचिएको छ। धोबीखोलामा करिडोर बनाउन सिधै खोलाबाट पर्खाल उठाइएको छ। त्यहाँ खोलाको किनारा नै छैन।

nullवर्षामा पानी पर्दा बर्सेनि धोबीखोला किनारको कपनक्षेत्र डुबानमा पर्छ। त्यहाँभन्दा तल बिजुलीबजारसम्मैको सडक पनि डुब्छ। मनसुनमा काठमाडौँका कतिपय बस्ती बर्सेनि डुबानमा पर्नुको मुख्य कारण खोला मिचिनु नै भएको जलस्रोतविद् मधुकर उपाध्या बताउँछन्। 

२०८१ असोज १२ गतेको बाढी बस्ती पस्नुको कारण पनि खोला क्षेत्र साँघुरो हुनु नै भएको उपाध्याको भनाइ छ। “बाढीको स्वरूपमा पानीको फोर्स फराकिला किनारामा भन्दा साँघुरा क्षेत्रमा तीव्र हुन जान्छ,” उनी भन्छन्, “गोकर्णमा आएको बाढी केही समयमै कोटेश्वर हुँदै नल्लु पुग्छ। गोकर्ण, कोटेश्वर अथवा थापाथलीमा नगरेको क्षति नल्लु अथवा टेकुमा पुगेर हुनसक्छ।”

सदियौँदेखि बग्दै आएको नदी, खोलाको व्यवहार परिवर्तन नहुने उपाध्या बताउँछन्। यसकारण पनि खोला किनारा फराकिलो र खुला हुनुपर्ने उनको भनाइ छ।