संसारकै खुशी भनिएको आफ्नै राष्ट्र फिनल्यान्डलाई हेलसिन्कीका एक खोज पत्रकारले गरिदिएको प्रश्न, जहाँ आधुनिक–दासत्वको कथा मात्रै छ।
काठमाडौँ– प्रतिव्यक्ति आयसहित सामाजिक सुरक्षाको सूचकांक आधारमा विश्वकै सबैभन्दा खुशी राष्ट्रको पंक्तिमा उभिएको फिनल्यान्डमा एकजना पत्रकार पाभो त्यैतिनैनको नाम अहिले सर्वाधिक चर्चामा छ।
स्थानीय पत्रिका ‘हेलसिन्की सानोमात’ सम्बद्ध पाभो यस्ता पत्रकार हुन् जसले आफ्नो खोज–अनुसन्धानका आधारमा भन्न सकेका छन्, “श्रम शोषण र मानव तस्करीको सञ्जाल हेर्दा फिनल्यान्डबाट तत्कालै यो दासत्व उन्मुलन हुनसक्ने कुनै सम्भावना देखिन्न।”
यो दासत्वको कथामा नेपाली श्रमिक पनि जोडिएका छन् जहाँ बर्षौंअघि होटल श्रमिक बनाएर लगिएका नेपाली युवायुवतीले बेहोरेको अत्यासलाग्दो श्रम शोषणको घटनालाई पत्रकार पाभोले बाहिर ल्याएका थिए। यो घटना ‘हेलसिन्की सानोमात’मार्फत सार्वजनिक मात्रै भएन, बरु अदालती प्रक्रियामार्फत नेपाली श्रमिकले न्याय पाए। यही दासताको कथा लेखिएको गैरआख्यान ‘पिट्का भुओरो’ (लङ–सिफ्ट)ले मुलुककै सर्वोत्कृष्ट पुरस्कार ‘फिनल्यान्डिया’ जितेपछि पाभो त्यैतिनैनले ख्याति कमाएका छन्।
पुस्तक ‘पिट्का भुओरो’ले नेपाली, उज्वेक, युक्रेनी, बंगाली सहितका होटल मजदुर तथा न्यून बेतनका कामदारमाथि भएको श्रम शोषणको अनुसन्धानले नेपाली श्रमजीवीको पीडालाई बाहिर ल्याएको थियो। यही मुद्दाको इतिवृत्ति समेटिएको पुस्तक पिट्का भुओरो अहिले फिनल्यान्डमा सर्वाधिक चर्चामा छ। पाभोले यही पुस्तकका निम्ति ३० हजार यूरो अर्थात् झन्डै ५० लाख रुपैयाँ पुरस्कारमा पाएका छन्।
“यो कथामा नेपाली श्रमिकले बेहोरेको दासत्व र बर्षौंसम्मको कानूनी लडाइँ पनि समेटिएको छ जसको आवाज र अधिकारका लागि म लडेको थिएँ,” पत्रकार पाभोले उकालोसँगको संवादमा भनेका छन्, “यो शोषणको कथा होटल–रेस्टुराँभित्रको मजदुरीमा मात्रै सीमित होइन रहेछ, नेपाली वा बंगालीजस्ता अति साधारण र झिनो आवाज हुने कामदारका बाहिर आउन नसकेकाअरू कथा पनि मैले यहाँ भेटेको छु।”
पाभोले पछिल्ला केही महिनायता नेपाली कामदारलाई अवैध उपायबाट ल्याएर फिनल्यान्डका जंगल फडानी गर्ने, काठ काट्नेलगायत जबरजस्ती श्रममा लगाइएको छ भन्ने जानकारी पाएका रहेछन्। “मानव तस्करी र अवैध श्रमको यो शृंखला पनि खोजबिनमा छ, यसमध्ये प्रहरीले पनि अनुसन्धान अघि बढाइसकेको छ,” पाभोले भने।
पाभोले सन् २०१९ यता हेलसिन्की सानोमात पत्रिकामा मानव तस्करी र आधुनिक दासताबारे खोजमूलक रिपोर्टिङ गर्ने क्रममा नेपाली मुलका रेस्टुराँ मालिकले नेपाली कामदारलाई बर्षौंदेखि गर्दै आएको श्रम शोषणबारे लेख्दै आएका थिए। सन् १९९० को दशकदेखि फिनल्यान्ड बस्दै आएका गुल्मीका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जु शर्माले सञ्चालन गर्दै आएको मानव तस्करीको गिरोहमाथि स्थानीय जिल्ला र उच्च अदालतले पनि न्यायिक सुनुवाइ गरेपछि उनको अनुसन्धानले ख्याति पाएको हो। अदालतले शर्मा दम्पतीको श्रम शोषणमा परेका दुई नेपाली श्रमिक दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने फैसला गरिसकेको छ।

“यसरी झट्ट हेर्दा आप्रवासी कामदारलाई काम दिलाइएको र न्यून तलब दिइएको देखिए पनि मानव तस्करी तथा ठगीको यो तरिका पनि एउटा अपराध थियो भनेर पुष्टि गर्नै समय लागेको अवस्था हो,” पाभोले भने, “मैले यिनै उदाहरण र व्याख्यालाई समेटेर लेखेको पिट्का भुओरो पुस्तकले फिनल्यान्डकै सर्वोत्कृष्ट गैरआख्यान पुरस्कार पाएको छ, मेरा निम्ति यो मेरो खोज पत्रकारिताले पाएको पहिचान पनि हो।” पुस्तकमा गरिएको श्रमिक दासताको बयानलाई समीक्षकले ‘कागजी रूपमा भनिने कल्याणकारी राज्यको आँखा खोल्ने दस्ताबेज’ भनेर टिप्पणी गरेका छन्।
पाभोका विचारमा, जबरजस्ती श्रममा लगाइएका र मानव तस्करीको घटना नेपाली कामदारका हकमा मात्रै होइन, सबै आप्रवासीका हकमा फिनल्यान्डमा उस्तै दयनीय छ। फिनल्यान्ड आफैमा मानव अधिकार र सेवा–सुरक्षाको सूचकांकमा अग्रगामी देखिए पनि आधुनिक दासत्व कायमै रहेको उनले बताए।
फिनल्यान्डमा युक्रेनी शरणार्थी (वार–रिफ्युजी) पनि रहेको र उनीहरूले अरू आप्रवासीभन्दा बढी सहानुभूति पाएको उनी बताउँछन्। यस्तो अवस्थामा उनीहरूसँग अरू आप्रवासीको तुलना गर्न नमिल्ने भए पनि नेपाली कामदारको अवस्था निकै दुःखदायी रहेको उनले बताए। “कामदारको दयनीय अवस्था देख्दा निकै माया लाग्छ तर, भावनाले मात्रै हुँदैन भनेर शुरूमा समाचार र अहिले पुस्तकका रूपमा यो आधुनिक दासताको कथालाई बाहिर ल्याएको हुँ,” उनले भने।
तस्करी र दासताको यो कथा बाहिर आएपछि प्रहरी–प्रशासनको निगरानी बढेको तथा श्रम–रोजगारीको सरकारी नीतिमै हेरफेर भए पनि यो वा अर्को रूपमा तस्करी भने जारी रहेको पाभोको बुझाइ छ। “मैले हालै पनि यहाँका केही नेपाली रेस्टुराँमा गएर कुरा गरेको थिएँ। अहिले पनि अवैध उपायबाट नेपाली कामदार ल्याउने र तोकिएको सेवासुविधा बिनै काममा लगाउने प्रवृत्ति यथावत् छ,” उनी भन्छन्, “आधुनिक दासताको यो चरण फिनल्यान्डबाट तत्काल निर्मूल भइहाल्नेछ जस्तो मैले देखेको छैन।”
झन्डै पाँच हजार नेपाली कामदार/विद्यार्थी फिनल्यान्डमा रहेको अनौपचारिक तथ्यांक छ। फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले हेर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
