ताप्लेजुङको मिक्वाखोलामा आगलागी, ४ घर जले

आगलागीबाट स्थानीय विष्णुप्रसाद साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाको घर जलेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए।

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेका छन्।  

मंगलबार राति भएको आगलागीमा विष्णु साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाको घर जलेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए। 

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले बुधबार बिहान ५ बजे आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा लत्ताकपडा, खाद्यान्न, अलैँची, सुनचाँदी तथा नगद जल्दा करिब १ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए। 

आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेको छ भने दुई वटा जिपमा सामान्य क्षति भएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। 

उक्त बजारमा यही मंसिर ७ गते शुरू हुने ‘फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला’को तयारी भइरहेको थियो।