लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै जेनजीहरूले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ।
मानव जीवन प्रश्नै प्रश्नको सँगालो हो। मानव जीवनमा कुनै प्रश्नको उत्तर बाआमाबाट पाइन्छ भने कुनै प्रश्नको उत्तर गुरु (शिक्षक) बाट पाइन्छ। कुनै प्रश्नको उत्तर भोगाइबाट पाइन्छ त कुनै प्रश्नको उत्तर आफै खोज्ने हो। प्रश्नैप्रश्नले भरिएको छ मानव जीवन र उन्नति यसबाटै हुन्छ। त्यसैले प्रश्न निरन्तर गरिरहनु पर्छ। लोकतन्त्रमा मात्र प्रश्न गर्न पाइन्छ। लोकतन्त्रको सुन्दर पक्ष भनेकै समर्थन, विरोध र प्रश्न गर्न पाउनु हो।
महान् दार्शनिक सोक्रेटसलाई मृत्युदण्ड दिनुअघि उनको अन्तिम इच्छा के छ भनेर प्रश्न सोध्दा त्यस क्षणमा पनि उनले एक मात्र प्रश्न बाँकी छ भनेका थिए। उनको हातमा हेमलक विष भरिएको कचौरा थियो। त्यो हेमलक पिउनु अघि उनले भने, “मैले जीवनमा सिक्ने कुरा अझै अधुरै रहेका छन्। त्यो के हो भन्दा प्रश्न र त्यसको उत्तर।”
यसरी हरेक मानिस धेरै प्रश्नको उत्तर खोज्नको निम्ति निरन्तर लागि रहेको हुन्छ। जसरी समुन्द्रले आफ्नो सतह आफै मिलाउँछ भनेझैँ हरेक मानिसले प्रश्नहरूको उत्तर खोज्दै आफ्नो जीवनको सतह आफै मिलाइरहेको हुन्छ। यस लेखमा प्रश्न, मानव जीवनका पाँच आयाम, लोकतन्त्र र यिनीहरू बीचको अन्तरसम्बन्धबारे सामान्य चर्चा गरिएको छ।
मानव जीवनका पाँच आयाम
१. जीवन
मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण आयाम स्वयम् जीवन हो। जीवनबिना मानव जीवनका अन्य आयामको परिकल्पना नै गर्न सकिँदैन। जीवन भए पछि नै ज्ञान, स्वतन्त्रता, सेवा र आनन्दको कुरा आउने हो। संसारमा हालसम्म अनुमानित १००–१२० अर्ब मानिस जन्मेका छन्। अहिले संसारमा करिब आठ अरब मानिस जीवित छन्। जो मानिसले मानव जीवनका लागि केही योगदान गरेका छन्, ती मानिस मानव इतिहासमा अमर भएका छन्। (कतिपय चिन्तक, ज्ञानी र सेवकहरू इतिहासको गर्तमा बिलाए पनि होलान्।) जो मानिसका योगदान र विचारले मानव जीवन सहज र सुन्दर बनेको छ, ती मानिस जीवित नरहे पनि तीमध्ये कतिपयका विचार र योगदान आज पनि हाम्रा सामुन्ने जीवित छन्।
मानव जीवनलाई सार्थक बनाउन ज्ञान, बुद्धि, विवेक, न्याय, समानता, स्वतन्त्रता र भ्रातृत्व आवश्यक पर्छ। यी कुरा व्यक्ति कस्तो परिवारमा जन्मेको छ? व्यक्ति हुर्केको समाज वा राज्यको चरित्र लोकतान्त्रिक छ कि छैन भन्ने आधारमा निर्धारित हुने हो। मानव जीवनको सर्वाङ्गीण विकासका लागि उपयुक्त वातावरण मिले मानिसले सार्थक जीवन बिताउन सक्छ।
अर्को दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानव जीवन एक संघर्ष हो। संघर्षमय जीवनबाट नै जीवनको उन्नति र प्रगति सम्भव हुन्छ। मानिसको इच्छा, चाहना र भावनाका आधारमा पनि उसको जीवन कस्तो बन्छ भन्ने तय हुन्छ। योजना, महत्वाकांक्षा, सकारात्मक सोच, धैर्यता र अथक संघर्ष मानव जीवनलाई सफलतामा पुर्याउने सूचकहरू हुन्। साथै असल पथप्रदर्शक पाएमा मानव जीवन दया, माया र करुणाले भरिपूर्ण बन्न सक्दछ।
हिन्दू धर्म-दर्शन अनुसार मानव जीवन एक यात्रा हो। बुद्ध दर्शन अनुसार मानव जीवन अस्थायी हो। जीवनमध्ये अति उत्तम जीवन हो यो। मानव जीवनमा विवेक र चेतना हुन्छ। त्यसैले मान्छेको इच्छा/योजनामा आजको संसारका धेरै कुरा चलेका छन्।
२. ज्ञान आर्जन
मानव जीवनको दोस्रो आयाम ज्ञान आर्जन हो। ज्ञान विनाको जीवन अधुरो रहन्छ। ज्ञान प्राप्त गर्न प्रश्नको आवश्यकता पर्छ। कुनै पनि प्रश्नको उत्तर अवलोकन, अनुभव, छलफल, अन्तर्क्रिया, अध्ययन वा अनुसन्धानको माध्यमबाट प्राप्त गर्न सकिन्छ। छलफलमा तर्क वितर्क, न्याय-अन्याय, सत्य-असत्य, धर्म-अधर्मको वस्तुनिष्ठ तवरले विश्लेषण गरिएको हुन्छ। अध्ययन–अनुसन्धान प्रश्नको उत्तर प्राप्त गर्ने वैज्ञानिक पद्धति हो। वैज्ञानिक अध्ययन–अनुसन्धानमा तर्क र प्रमाणका आधारमा, विधि र पद्धतिका आधारमा प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको हुन्छ।
ज्ञान जीवनपर्यन्त प्राप्त भइरहने मानव जीवनको एक आयाम हो। मानिस कहिले पनि ज्ञानले भरिपूर्ण हुँदैन। त्यसैले होला, ज्ञान प्राप्त गर्न प्राचीन कालमा ऋषिमुनिले कठोर तपस्या गरेका कथा हामी पढ्न पाउँछौँ। अनि यसरी तपस्या गरेर प्राप्त गरेको ज्ञानलाई आफ्ना शिष्यहरूमार्फत मानव समाजमा प्रचार प्रसार गर्थे। आधुनिक युगमा वैज्ञानिक तवरले नवीन ज्ञानको खोजी गरिन्छ। वर्तमानमा विज्ञान र प्रविधिको विकासले खोज र अनुसन्धान गर्न सजिलो पनि भएको छ।
यसरी मानवले प्राप्त गरेको ज्ञान जीवन उपयोगी हुन आवश्यक छ र ज्ञानले अक्सर लोकतान्त्रिक राज्यको निर्माणमा सघाउ पुर्याइरहेको हुन्छ।
३. स्वतन्त्रता
मानव जीवनको तेस्रो आयाम स्वतन्त्रता हो। स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो। यो मानिसको प्राकृतिक अधिकार पनि हो। आधुनिक राज्यमा हरेक नागरिक आफ्नो सरकारलाई प्रश्न गर्न स्वतन्त्र हुन्छ। क्रान्ति वा आन्दोलनको माध्यमबाट पनि नागरिकले राज्य वा सरकारसँग प्रश्न गरिरहेका हुन्छन्। यिनै प्रश्नबाट नागरिकले आफ्नो मानव अधिकार तथा राजनीतिक अधिकार प्राप्त गर्छन्। लोकतन्त्रमा हरेक मानिसलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, सभा–सम्मेलन गर्ने स्वतन्त्रता, घुमफिर र आवतजावत गर्ने स्वतन्त्रता, बसाइँ सराइ गर्ने स्वतन्त्रता प्राप्त हुन्छ।
स्वतन्त्रता ज्ञान उत्पादन गर्ने आधार पनि हो। जब मानिसलाई वैचारिक स्वतन्त्रता हुन्छ, तब उसले नवीन विचार र सिद्धान्त प्रतिपादन गर्न सक्छ। सभा–सम्मेलन, बहस र छलफलका माध्यमबाट पनि नवीन विचारको उदय हुन सक्छ। अध्ययन, अवलोकन वा घुमफिर गर्दा समेत नवीन ज्ञान प्राप्त हुन सक्छ।
स्वतन्त्रता मानव जीवनको अभिन्न अंग हो। राजनीतिक स्वतन्त्रता लोकतन्त्रमा मात्र सम्भव रहन्छ। अहिले भएको जेनजी आन्दोलन पनि लोकतन्त्रकै उपज हो। यही लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै नेपालको जेनजी पुस्ताले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ। वास्तवमा स्वतन्त्र रूपमा गरिने प्रश्नहरूले नै लोकतन्त्रलाई थप उन्नत बनाउँदै लैजान्छ।
४. सेवा
मानव जीवनको चौथो आयाम सेवा भाव हो। मानिसले प्राप्त गरेको ज्ञान, बुद्धि, विवेकका आधारमा समाजको सेवा गर्नु सेवा भाव हो। सेवा र शासन फरक कुरा हुन्। एउटा निर्वाचित जनप्रतिनिधिले जनभावनाअनुसार कार्य गर्नु पनि सेवा भाव हो। क्रान्ति, जनआन्दोलनका माध्यमबाट प्राप्त जनादेशका आधारमा कार्य गर्नु पनि राजनीतिक सेवा हो। तथापि शक्ति र सत्ता प्राप्त गरेपछि मानिसले अरूमाथि शासन गर्न चाहन्छ। सज्जन राजनीतिज्ञले सधैँ सेवा भावले आफ्नो कर्तव्यको पालना गर्छ भने दुष्ट वा धूर्त राजनीतिज्ञले जनतामाथि सधैँ शासन गर्न चाहन्छ। उन्नत लोकतन्त्रमा राजनीतिज्ञ सधैँ सेवक हुन्छ, शासक होइन।
५. सुख
मानव जीवनको अन्तिम आयाम सुखी हुनु हो। हरेक मानिस सुखी हुन चाहन्छ। धनी वा गरिब, ठूलो वा सानो, शिक्षित वा अनपढ जे भए पनि मानिस सुखी हुन चाहन्छ। ऊ आफूले गरेको कर्मका आधारमा सुखी हुन चाहन्छ। केही मानिस ज्ञान आर्जन गरेर सुखी हुन्छन्। केही मानिस व्यापार व्यवसाय गरेर सुखी हुन्छन्। केही मानिस धन आर्जन गरेर सुखी हुन्छन्। केही मानिस अरूको सेवा गरेर सुखी हुन्छन्। केही मानिस दान गरेर सुखी हुन्छन्। अथवा केही मानिस माथि उल्लेख गरिएका सबै कर्म गर्न खोज्छन्। त्यो पनि सुखी हुने प्रयत्न नै हो। हरेक मानिसले आफू सुखी हुनको लागि आफ्नो योग्यता र क्षमता अनुसार कर्म गरिरहेको हुन्छ। र, लोकतन्त्रले हरेक मानिसलाई सुखी हुने अवसर प्रदान गर्नुपर्छ।
लोकतन्त्र
सार्थक मानव जीवनका लागि प्रश्न र प्रश्नका लागि लोकतन्त्र आवश्यक छ। लोकतन्त्रको सुन्दर पक्ष आफूलाई मन नपरेका कुरामा प्रश्न गर्न पाउनु हो। लोकतन्त्रमा मात्र मानिसले प्रश्न गर्ने स्वतन्त्रता प्राप्त गर्छ। अन्यत्र यस्तो अवसर दिइँदैन।
जनताको शासन नै लोकतन्त्र हो। वास्तविक लोकतन्त्रमा मात्र वाद, प्रतिवाद र संवाद हुन्छ। प्रश्न र लोकतन्त्र एक अर्काका अनिवार्य र पूरक तत्त्व हुन्। लोकतान्त्रिक राजमा हरेक नागरिकले गरेका प्रश्नको उत्तर राज्यले दिनुपर्छ। लोकतन्त्रमा मानव जीवनका माथि उल्लेखित पाँच पक्ष र आयामहरूले राम्रोसँग फुल्ने र फल्ने मौका पाउँछन्। राज्यले लोकतान्त्रिक प्रणालीको अभ्यास संस्थागत गर्दै लग्न सके हरेक नागरिकले आनन्दको जीवन बाँच्ने सम्भावना ज्यादा रहन्छ। त्यस कारण लोकतन्त्रका लागि संसारमा ठूला–ठूला क्रान्ति र आन्दोलन भएका छन्।
सारमा भन्नुपर्दा प्रश्नहरूले लोकतन्त्रलाई थप बलियो बनाउँछ र बलियो लोकतन्त्रमा नै सार्थक जीवन, ज्ञान, स्वतन्त्रता, सेवा र सुखको प्राप्ति हुन्छ।
(लेखक पृथ्वीनारायण क्याम्पस, राजनीतिशास्त्र विभागका सहप्राध्यापक हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
