बर्सेनि बाढीको कहर खप्ने बल्खु सुकुम्बासी बस्तीकी चिरमाया

गत वर्ष उनको घरमा बाढी पस्दा एक्लैले सफा गर्न दुई महिना लाग्यो। यसपटक घर छाड्नु परे पनि बस्तीमा पानी नपस्दा खुशी छिन्, तर १५ वर्षदेखि हरेक वर्षा त्रासमा बस्नु परेको छ।

चिरमाया र उनका छोरा।

काठमाडौँ— त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनभित्र छिर्ने ढोकै छेउमा ओछ्यान छ। ओछ्यानका लागि पालमाथि दुई वटा म्याट, एउटा तन्ना र एउटा पातलो ओढ्ने ओछ्याइएको छ।

ओछ्यानमा बसेकी छन् चिरमाया गुरुङ। छेवैमा हतारमा भाग्दा सँगै ल्याएको एउटा जेब्रा झोला छ। अपांगता भएका छोरालाई उनले छेउमै सुताएकी छन्।

असोज १८ गतेको अविरल वर्षापछि उनी विस्थापित भइन्। सुरक्षाकर्मी र स्थानीयले राति १० बजे उनलाई उद्धार गरेर त्रिवि परिसरको स्मृति भवन पुर्‍याए। “म एक्लै भए सजिलो हुन्थ्यो, तर मेरो छोरा अपांग छ,” उनी भन्छिन्, “पानी पर्‍यो कि मुटु ढुकढुक गर्छ। बगायो भने त सकियो नि!”

चिरमायाले बल्खु सुकुम्बासी बस्तीमा १५ वर्ष बिताइसकिन्। हरेक वर्षामा आउने बाढीले तर्साइरहन्छ। “पहिले पनि दुईपटक पानी पस्दा सुत्ने ठाउँ नै भएन,” उनी भन्छिन् “हामीजस्ता मान्छेको भाग्यमा लेखिएको यही डर हो।”

शुक्रबार रातिबाटै अविरल वर्षा शुरू भएको थियो। त्यो रात उनले नसुती बिताइन्। कहिले उज्यालो होला भनेर पर्खिरहिन्। तर उज्यालो भएपछि झनै ठूलो पानी पर्‍यो। बाढीको त्रास अझै बढ्यो। “बिरामी छोराकै लागि भए पनि खाना बनाएँ। तर चिन्ताले मलाई खाना नै रुचेन। हिजो (शुक्रबार)देखि खाना खाको छैन,” उनले भनिन्।

बस्तीबाट निस्किँदै स्थानीय।शुक्रबार दिउसो करिब २ बजेतिर नदीको बहाब बढ्न थालेपछि बल्खुस्थित सुकुम्बासी बस्तीमा त्रास फैलिएको थियो। बस्तीमा बाढी पस्ने जोखिमपछि प्रहरी र उद्धार टोली पुगेका थिए। चिरमायाका छिमेकी पोकापतौरा बोकेर निस्किन थाले। 

चिरमाया भने ओछ्यानको छोरालाई समाएर बसिरहिन्। पछि छिमेकी र उद्धार टोलीले बाहिर निकाल्यो। उनलाई पहिला नजिकैको गोदाम भएको सटरमा राखे। “त्यो बेला मेरो शरीर काम्यो। आँखैअघि बाढीको छाल थियो। घर छोडेर निस्किनुपर्दा मन रोयो,” उनी भन्छिन्।

सटरमा १०० जना भन्दा बढीलाई राखिएको थियो। राति अबेरसम्म उनी अपांगता भएका छोरासँगै सटरमा कोचिएर बसिरहिन्। “घर जानसक्ने अवस्था थिएन। अरू जाने ठाउँ छैन,” उनी भन्छिन्, “रातिसम्म चाउचाउ र बिस्कुट खाएर छोरालाई कुरेर बसेँ। राति १० बजेतिर हामीलाई यता (स्मृति भवन) ल्याइयो।”

उनी छोरालाई लिएर स्मृति भवनमा बसिरहेकी छन्। “यहाँ सुरक्षित त छु, तर मन भने घरतिरै छ। घरमा सामान, कति कुरा त्यही छन्,” उनले भनिन्।

चिरमाया अहिले पनि घर फर्किने हतारोमा छिन्। उद्धार टोलीले जोखिम कम भएपछि पुर्‍याइदिने आश्वासन दिएको उनी बताउँछिन्।

चिरमाया।गोरखा घर भएकी चिरमायाको विवाह पनि गोरखामै भएको थियो। उनीहरू सुकुम्बासी थिए। श्रीमान् अरूकोे घरमा काम गर्न बसेका थिए। 

विवाहपछि पोखरा बस्न थाले। कोठा भाडामा लिएर ज्यामी काम गर्थे। उनी सानोतिनो व्यापार पनि गर्न थालिन्। तर श्रीमानले उनलाई छाडेर हिँडे।

उनी त्यहाँ बस्न सकिनन् र काठमाडौँ आइन्। बल्खुमा श्रीमानकी दिदी बस्थिन्। उनी पनि त्यहीँ बसेर ज्यामी काम गर्न थालिन्। पछि बल्खुमै छाप्रो बनाएर छुट्टै बसिन्। त्यहाँ बसेको १५ वर्ष भइसकेको छ।

कान्छो छोरा जन्मिएको चार महिनापछि अपांगता भएको थाहा पाएर श्रीमानले छाडेर हिँडेको चिरमाया बताउँछिन्। उनका छोरा २४ वर्षका भए, उनी ६० वर्षकी भइन्। जेठा छोरा भने ३० वर्षका छन्।

उनले ज्यालादारी मजदुरी गरेरै दुवै छोरा हुर्काइन्। जेठा छोरा विवाह गरेर अहिले चितवनतिर बस्छन्। केही वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका जेठा छोरा त्यहाँ कार्यस्थलमा आगलागी भएपछि फर्किएका थिए।

तर निकै समयदेखि उनीसँग कुरा भएको छैन। “जेठो छोरा आफै पालिन सकेको छैन, कान्छो छोराको हालत यो छ। यहाँबाहेक कहाँ जाने टुंगो छैन,” उनी भन्छिन्।

nullगत वर्ष पनि उनको घरमा बाढी पसेको थियो। त्यति बेला घर सफा गर्न दुई महिना लागेको उनी बताउँछिन्। यसपटक भने बस्तीमा पानी नपस्दा उनी निकै खुशी छन्।

तर जोखिम नटरेको सुन्दा उनलाई डर लागिरहन्छ। “प्राकृतिक प्रकोप हो, फेरि नहोला भन्न सकिन्न। डर नहुनलाई यस्तो ठाँउमा बस्नु भएन। तर सर्वस्व यहीँ छ मेरो, अन्त जाने ठाँउ छैन,” उनले भनिन्।