घान्द्रुकमा के छैन? प्रकृति छ, मिलेर बसेको गाउँसमाज छ, स्वाद र विविधता छ। गाडी कुद्ने बाटो आँगनमै पुगेको छ। तर हिजोको जस्तो चहलपहल भने घट्दै गएको छ।
घान्द्रुक– बेलायतमा ३० वर्ष गोर्खा सैनिक बनेर अवकाश प्राप्त गरेका घान्द्रुक, कास्कीका पृथिमान घोताने गुरुङ बेलायतको बसाइ टुंग्याएर आफ्नै घरगाउँ फर्किएका छन्।
उज्यालो भविष्यको खोजीमा ५० वर्षअघि गाउँ छाडेका पृथिमानको पोखरा हुँदै बेलायत कर्मभूमि बनेको थियो। तर, अहिले उनी भत्किसकेको पुरानो घरलाई परम्परागत शैलीमा बनाएर घान्द्रुकमै बसोबास गर्न थालेका छन्। उनी बेलायतको सेवा–सुविधा त्यागेर गाउँ फर्किएका हुन्।
पृथिमान लगायत केही लाहुरे परिवार गाउँ फर्किए पनि कुनै बेलाको मनमोहक पर्यटकीय थलो घान्द्रुकका पुराना घर–टहराहरूमा अहिले ताला लागेको छ। अन्नपूर्ण पदमार्गको मुखसम्म पोखरादेखि गाडी चल्न थालेपछि घान्द्रुक 'ट्रान्जिट–रुट' मात्रै बनेको छ, जसले गर्दा रात बिताउने पर्यटकहरू कमै भेटिन्छन्।
पृथिमानको अनुभवमा अहिले घान्द्रुकमा धनसार छैन, ढिकी र जाँतो पनि छैन। वरिपरिका ठाउँमा भेडाको उन कात्ने र सिस्नोको भांग्रो बुन्ने काम पनि छोडिएको छ। ढुंगा–माटोले बनेका घरहरू कमै देखिन्छन्।
“बाटोघाटो, पानी, बिजुली र शिक्षा, स्वास्थ्यको विकास ठिकै हुने रहेछ तर, पुराना घर, पौवापाटी भत्काइहाल्ने र जेमा पनि आधुनिक बन्ने खालको विकास भने ठिक नहुने रहेछ। घान्द्रुकमा यस्तै देखिएको छ,” पृथिमान भन्छन्।

घान्द्रुकमा ३२ वर्षयता ट्रेकर्स इन लज सञ्चालन गर्दै आएका व्यवसायी बेलबहादुर गुरुङ पनि विगतमा भारतीय गोर्खा सैनिकमा भर्ती भएका थिए। तर, पछि आफ्नै गाउँमा फर्किएर पर्यटन व्यवसायमा लागे। उनका अनुसार, घान्द्रुकमा अहिले १२० वटा जति होटल, लज तथा होमस्टे सञ्चालनमा छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, घान्द्रुक कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायका अनुसार, बाटोघाटो र यातायातको सहज पहुँच भएपछि पर्यटकीय चाहनासँगै पदमार्गबारेको योजनामा फेरबदल आएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा वार्षिक रूपमा करिब २ लाख ७० हजार जति पर्यटक वार्षिक रूपमा आउने गरेका छन्। विगतमा युरोप, अमेरिकाका पर्यटक बढी हुन्थे। अहिले भने स्वदेशी पर्यटक बढेका छन्।
“संरक्षण क्षेत्रभित्र सबैतिर बाटोघाटो लगेर पर्यटन प्रवर्द्धन गर्ने कि विगतमा जस्तै पदयात्राको उपाय तथा निश्चित मापदण्ड तोकेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने भन्नेमा बहस र विवादसमेत यथावत् छ,” उपाध्याय भन्छन्, “परम्परागत पद्धतिमै होटल, घरहरू निर्माण गरौँ र आफ्नो मौलिक पहिचानलाई जोगाएरै अघि बढौँ भन्नेमा सबै तहको सहमति जुटाउन सकिएको छैन।”
घान्द्रुकमा के छैन? प्रकृति छ, मिलेर बसेको गाउँसमाज छ, स्वाद र विविधता छ। गाडी कुद्ने बाटो आँगनमै पुगेको छ। तर हिजोको जस्तो पर्यटकको चहलपहल भने घट्दै गएको छ। घरमा ताला मारेर पोखरा, काठमाडौँ तथा विदेशतिर बसाइँ सर्नेहरू बढ्दै गएका छन्।
तैपनि आफ्नो पितापुर्खाको थलो सम्झेर आउने २/४ पात्रले भने गाइरहेकै छन् एउटा धुन, एउटा लय— आफ्नै गाउँ फर्की आएँ...।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
