फलोअप

होमस्टेका नाममा होटल र गेस्ट हाउसः अन्धाधुन्ध दर्ता गरिदिन्छन् वडा कार्यालय

दर्तामा सहज हुने र राजस्व पनि कम लाग्ने कारण काठमाडौँ महानगरमा होमस्टेका नाममा धमाधम खुलेका होटल र गेस्ट हाउसलाई वडा कार्यालयहरूले सहजै दर्ता गरिदिने गरेका छन्।

काठमाडौँ— काठमाडौँ महानगरपालिका–२३ ओमबहालस्थित अभी बी एन्ड बी (बेड एन्ड ब्रेकफास्ट) सञ्चालनमा छ। दुई तलामा पाँच वटा कोठा र एउटा भान्सा रहेको बी एन्ड बीमा बस्ने र खाजाको सुविधा छ। विदेशमा चल्तीमा रहेको बी एन्ड बी व्यवसाय काठमाडौँमा भने वडा कार्यालयमा होमस्टे भनेर दर्ता छ।

अभी बी एन्ड बीका सञ्चालक हुन् सुशान्त अमात्य र उनकी श्रीमती अनिता। आफूहरूको व्यवसायलाई वडाले नै होमस्टेको नाममा दर्ता गराएको उनीहरूको दाबी छ। “बी एन्ड बीको दर्ता प्रचलनमा नभएकाले वडाले नै होमस्टेको क्याटेगोरीमा दर्ता गर्न लगाएको हो। हामीले करिब २ हजार रुपैयाँ तिरेर दर्ता गराएका हौँ,” सुशान्तले भने।

काठमाडौँ–२३ का वडाध्यक्ष मचाराजा महर्जन महानगरले स्पष्ट कार्यविधि नबनाएको हुँदा बाध्य भएर होमस्टेको रूपमा दर्ता गर्नुपरेको बताउँछन्। वडा कार्यालयमा बी एन्ड बी दर्ताको व्यवस्था नरहेको उनको भनाइ छ। “दर्ता गर्ने क्याटेगोरी नै बनाइदिनु पर्ने हो, त्यो छैन। व्यवसाय दर्ता त गर्नुपर्छ,” उनी भन्छन्।

तर काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८२ मा बी एन्ड बी दर्ताको व्यवस्था छ। उक्त ऐनमा तीन वटा कोठासम्म भएको बी एन्ड बीलाई ३ हजार रुपैयाँ, पाँच वटा बेडसम्म ७ हजार र पाँचभन्दा बढी बेड भए १० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार अभी बी एन्ड बीले ७ हजार रुपैयाँ तिर्नुपर्छ।

काठमाडौँकै गल्कोपाखामा रहेको ब्लु माउन्टेन होमस्टे प्रालिका सञ्चालक बुद्धिलाल बस्नेतले सन् २०१४ देखि होमस्टे सञ्चालन गर्दै आएका थिए। २०१९ मा तला थपेर होमस्टे चलाउने योजना बनाए। तर होमस्टेको मापदण्डअनुसार परिवारबाहेक एकदेखि दुई वटा कोठा मात्र पाहुनाका लागि प्रयोग गर्न पाइन्छ।

त्यसपछि उनले लजको रूपमा व्यवसाय दर्ता गराए। नाम भने पहिलेकै ब्लु माउन्टेन होमस्टे राखेर कम्पनी रजिष्ट्रारमा प्रालि भनेर दर्ता गराए। “पहिलेदेखि नै त्यही नाम भएकाले नाम नफेरी दर्ता गराएँ। अनलाइनदेखि सबैतिर होमस्टे प्रालि छ। त्यसैले त्यति समस्या पर्दैन,” उनी भन्छन्।

कतिपयले भने होमस्टेका नाममा अपार्टमेन्ट वा होटल सञ्चालन गरेका छन्। काठमाडौँ महानगर–१७ मा पर्ने प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा योगेन्द्र श्रेष्ठले ‘एवान होमस्टे’ चलाएका छन्। वडामा समेत होमस्टे भनेर दर्ता गराए पनि उनले दुई वटा भवनलाई पाहुना राख्ने अपार्टमेन्टका रूपमा चलाएका छन्। 

उनी अपार्टमेन्टका फ्ल्याट भाडामा लगाउँछन्। पाहुना आफैले खाना पकाउने, सरसफाइ गर्ने गर्छन्। केही समयअघि उकालोसँगको कुराकानीमा काठमाडौँ उपत्यकामा वास्तविक होमस्टे नभएको बताएका श्रेष्ठले यसपटक आफूले मापदण्डअनुरूप नै सञ्चालन गरेको दाबी गरे।

आफू सोही घरमा बस्ने भएकाले होमस्टेको मापदण्ड पुगेको श्रेष्ठको जिकिर छ। “म आफू त्यही बसेपछि होमस्टे त भयो नि। तपाईं सरकारको मान्छे हो र? (होमस्टे हो कि होइन) म किन भनूँ?” उनले थप कुराकानी गर्न चाहेनन्।

nullआदर्शमान ताम्राकारले क्षेत्रपाटीमा सञ्चालन गरेको अर्वान अपार्टमेन्ट एन्ड रुम्स पनि काठमाडौँ महानगर वडा नं. १७ मा होमस्टेको रूपमा दर्ता छ। यहाँ होटलको जस्तै दैनिक, साप्ताहिक र मासिक रूपमा बस्न सकिने ताम्राकार बताउँछन्। उनी आफू पनि यसलाई ‘सर्भिस अपार्टमेन्ट’ भन्छन्।

यहाँ तीन वटा अपार्टमेन्ट छन्। सानो व्यवसाय भएकाले वडाले होमस्टेको रूपमा दर्ता गरिदिएको हुनसक्ने ताम्राकारको भनाइ छ। “योे त होटलजस्तै सेवा दिने सर्भिस अपार्टमेन्ट हो। सानो आकारमा सञ्चालन भएकोले वडाले होमस्टे भनेर दर्ता गरेको होला,” उनले भने।

काठमाडौँ–१७ वडा कार्यालयमा नौ वटा हामस्टे दर्ता छन्। तर अधिकांश अपार्टमेन्ट तथा गेष्टहाउसका रूपमा सञ्चालन भइरहेका छन्। वडाध्यक्ष नवीन मानन्धर यी होमस्टे दर्ताबारे आफूलाई थाहा नभएको बताउँछन्। “अपार्टमेन्टलाई होमस्टेको रूपमा दर्ता गर्नु गलत हो। राजस्व ऐन हेरेर यसलाई संशोधन गरेर वर्गीकरण गरी स्पष्टसँग दर्ता व्यवस्था मिलाउनेछौँ,” उनले भने।

वडाका कर्मचारी प्रज्वल रञ्जितका अनुसार यी होमस्टेले वार्षिक ५ हजार रुपैयाँ कर तिर्छन्। गेष्टहाउस सञ्चालन गर्दा पर्यटन लाइसेन्स लिनुपर्ने र वार्षिक नवीकरण शुल्क पनि बढी हुने भएपछि धेरैले होमस्टे भन्दै दर्ता गरेका छन्। 

होमस्टे दर्ता वडामा हुने हुँदा दर्ता प्रक्रिया पनि सजिलो भएकाले धेरैले होमस्टेको नाममा अन्य व्यवसाय चलाएको होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोला बताउँछन्। “स्थानीय सरकारले कार्यविधि बनाएर मात्रै मापदण्ड पूरा भए–नभएको जाँच गरी दर्ता अनुमति दिनुपर्ने हुन्छ। तर काठमाडौँमा मापदण्ड नहुनु र कार्यविधि नबनाउने कारण होमस्टे भन्दै कर छल्ने अवस्था भयो,” उनी भन्छन्। 

काठमाडौँ महानगरपालिकाले भने बल्ल चालु आर्थिक वर्षमा कार्यविधि बनाउने योजना बनाएको छ। महानगर संस्कृति तथा पर्यटन विभाग प्रमुख कुमारी राई होमस्टेको अवधारणा भित्रिँदै गरेकाले व्यवस्थित गर्न प्राथमिकतामा राखेर कार्यविधि बनाइरहेको बताउँछिन्।

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार १० जनासम्म बस्न मिल्ने होमस्टेले ५ हजार र १० जनाभन्दा बढी बस्न मिल्नेले १० हजार रुपैयाँ तिर्नुपर्छ। तर वडाअनुसार यो रकम भिन्न छ। साधारण होटल, लज र गेष्टहाउसलाई १० हजार रुपैयाँ तोकिएको छ।

होमस्टे सञ्चालन कार्यविधि २०६७ अनुसार, सामुदायिक होमस्टेमा कम्तीमा पाँच जना घरधनीको सामूहिक लिखित प्रतिबद्धता आवश्यक हुन्छ। निजी होमस्टेले सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्छ। जग्गाधनीको प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, स्थानीय स्वास्थ्य समिति, पालिका वा अन्य निकायको निरीक्षणमा मापदण्ड पूरा भएको ठहरिएपछि मात्र दर्ता हुन्छ। 

तर काठमाडौँमा दर्ता भएका होमस्टेमा यी मापदण्ड पूरा भएको पाइँदैन। दर्ता गर्ने वडाले नै पनि होमस्टे वा गेस्टहाउस, अर्पाटमेन्ट वा होटल हो भन्ने निश्चित गरेको पाइँदैन।