चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

असोज मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा देशको चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक प्रतिवेदनअनुसार, चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रहेको छ। यस्तै, पछिल्लो तीन महिनामा एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ। असोज मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ।

विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार आएको छ। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११.३ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको तुलनामा १०.५५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ। त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ। गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।