अन्तर्वार्ता

रास्वपा एउटा व्यक्तिको पछि लागेको छः सुमना श्रेष्ठ

‘रास्वपामा नेतृत्व निकट मान्छे प्रयोग गरेर बुलिङ गर्ने प्रवृत्ति छ। प्रश्न सोध्ने बित्तिकै आक्रमण हुन्छ। तुच्छरूपमा टिप्पणी गरिन्छ। बुलिङ गरेर त्यसलाई संस्कार दिइन्छ, त्यो संस्कार परिवर्तन हुनुपर्छ।’

तस्वीर: मनीष पौडेल/उकालो
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले केही दिनअगाडि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी छाडिन्। उनले जेन–जी आन्दोलन र त्यसपश्चात बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन गरेकी छन्। श्रेष्ठसँग उनको आगामी राजनीतिक यात्रा, जेन–जी आन्दोलन र अहिलेको सरकारका विषयमा उकालोका लागि किरण दहालले गरेको कुराकानीः

अब तपाईं कुन पार्टीमा जाने, अथवा नयाँ पार्टी खोल्ने?
मैले त्यो सोचेको छैन। तर मैले पहिलादेखि नै भन्दै आएको हो, परिवर्तन चाहनेहरू एकै ठाउँमा हुनुपर्छ र त्यसका निम्ति हरदम प्रयास गर्नेछु।

तपाईंले किन रास्वपा छाड्नुभएको?
रास्वपा अलिक गतिहीनजस्तो भएको थियो। त्यो चलायमान हुन्छ कि भनेर छाडेको हो। सुधार गर्न पटक–पटक प्रयास गरेँ, तर सोचेजस्तो भएन। एउटै स्थितिमा कति बस्ने, त्यसकारण पार्टी छाडेँ।

पुराना पार्टीले जहिले पनि एउटै अनुहार देखाए। बिहान आलु र प्याजको तरकारी, बेलुका प्याज र आलुको तरकारी गर्नु भएन नि। यही भएन भनेर म रास्वपा गएको हो। त्यो अनुहारप्रतिको विद्रोह मात्र थिएन, संस्कारप्रति पनि थियो। विगत एक वर्षमा एउटा व्यक्तिको मुद्दालाई लिएर जनतासमक्ष गए, जनताको मुद्दालाई लिएर गएनन्। त्यसकारण पनि जेन–जीले विद्रोह गरेका हुन् जस्तो लागेको छ।

nullविद्रोहमा जतिजना नेपालीले सहादत प्राप्त गर्नुभएको छ, त्यसलाई रोक्न सकिन्थ्यो कि। त्यो निराशाको मुद्दा हामीले बोल्नुपर्थ्यो, तर नबोलेको जस्तो लाग्छ। 

अहिलेको संस्थापनासँग चित्त नबुझेकै हो। संस्कार नै व्यक्ति केन्द्रित भयो, त्यसो भएपछि जनताको मुद्दा माथि आएन। संसद्मा १–२ मिनेट बोलेर जनताको समस्या समाधान हुँदैन, सम्पूर्ण पार्टीपंक्ति लाग्नुपर्छ। तर पार्टीपंक्ति एक व्यक्तिको पछि लागेर नतिजा आएन।

ती समस्या दलभित्र बसेर समाधान गर्न सकिँदैन थियो वा प्रयास गर्नुभएन?
मैले धेरै प्रयास गरेको हो। सहमहामन्त्रीबाट राजीनामा पनि दिएँ, त्यो पनि एक हदसम्म विद्रोह नै थियो। धेरैपटक हाम्रो समूह र बैठकमा आवाज राखियो। हरेक पटक प्रश्न गर्दा त्यसको जवाफ सोसल मिडियामा मात्र पाएँ। त्यसो भएपछि त छलफल नै नहुने भयो। हरेक फरक आवाजलाई आक्रमण गरिएपछि मैले यो भएन भनेको हो।

त्यो पार्टी धेरै जनाको मेहनत, पसिना र पैसाले बनेको हो। नेतृत्वको गल्तीका कारण पूर्ण पार्टीलाई कसैले पनि नराम्रो रूपमा नहेरिदिनु होला। यो विद्रोह नेतृत्व परिवर्तका लागि गरिएको हो। यो संस्कार अरू पार्टीमा पनि लाखौँ गुणा बढी छ, यतिका वर्षमा एउटै नेतृत्व दिएर बसेको छ। त्यो परिवर्तन गर्नुपर्छ। रास्वपामा पनि त्यही प्रवृत्ति मौलाएका कारण मैले विद्रोह गरेको हो।

जेन–जी आन्दोलनलाई तपाईंले कसरी हेर्नुभएको छ?
यो एकदुई दिनमा भएको आन्दोलन होइन। ३०–३५ वर्षदेखि गुम्सिएर बसेको आक्रोस हो। कहिले व्यवस्था परिवर्तन भयो, कहिले व्यक्ति परिवर्तन भयो, तर नतिजाचाहिँ जनतामा उकुसमुकुस मात्र भयो। यो उकुसमुकुसका कारण टिकटकमा नेपोबेबी र एन्टी करप्सनको ट्रेण्ड चलेको थियो।

कोही व्यक्ति कुनै परिवारमा जन्मेकै भरमा अर्कै खालको जिन्दगी जिउँछ। हामीले जति मेहनत गरे पनि अवसर पाउँदैनौँ। यस्तो भएन भनेर यो आन्दोलन उठ्यो। शुरूमा सामाजिक सञ्जालमा आयो, त्यसपछि स्वःस्फूर्त सेप्टेम्बर ८ (भदौ २३) मा परिणत भयो।

हामीलाई सदनमा केटोकेटी भनेर हेपियो। सदनमा पुगेका युवालाई पुराना पार्टीले गर्ने हेपाहा व्यवहार र प्रवृत्ति थियो। ‘केटाकेटी आउँछन्, गुलेली खेलाउँछन्, मट्यांग्राको सत्यानाश’ भनेर हेप्थे। हरेक पटक ‘अल्ट्रा नेसनालिस्ट’ भाष्य बनाउन खोजियो। भूँइचालो गइसकेपछि र अहिले पनि एउटै भाष्य बनाउन खोजिएको छ। ‘बा आई लभ यु’ भन्छन् भन्ने सोच्नुभएको होला, त्यस्तो हुँदैन। म सबैलाई अनुरोध गर्छु, यो दुई दिनको आन्दोलन थियो भनेर नसोचिदिनु होला। अहिले विस्फोट भएको हो। मेरो राजीनामा पनि त्यसरी नै विस्फोट भएको हो।

nullसरकारले जेन–जी आन्दोलनमा दमन गर्यो, टाउको तोकेर गोली बर्सायो, एउटा बच्चाको ज्यानमा आठ वटासम्म गोली हान्यो– त्यस्तो गर्नुपर्ने थियो र? त्यो त बर्बरताको पराकाष्ठा भयो। ती त आफ्नै बच्चा हुन्। यो कुनै पार्टीले गरेको आन्दोलन होइन, भविष्यले गरेको विद्रोह हो। आफ्नै बच्चा, भाइबहिनी, नाति पुस्ताले गरेको विद्रोहमा यस्तो दमन आवश्यक थिएन। 

सेप्टेम्बर ८ मा जुन दमन भयो, ९ मा ‘गोली ठोक्ने भए पहिला सांसदबाट शुरू गर’ भनेर गइयो। मानव अधिकार आयोग प्रमुखलाई ह्वाट्सएपमा लेखेरै गएको हो। म माइतीघर जाँदैछु, गोली हान्ने हो भने हान्दा हुन्छ भनेर गएको हो। पहिलो वेभ जेनजीको थियो, उनीहरू स्कुल ड्रेसमै थिए। उनीहरूलाई गोली हानियो। दोस्रो दिन उनीहरूभन्दा अलि बढी उमेरका हामी सडकमा गएको हो। त्यस्तो घटना भएपछि कतिजनाले ‘आई एम सरी’ भने? छैन।

जेन–जीले शुरू गरेको आन्दोलन नै अरूले ‘हाइज्याक’ गरेको भन्दै आलोचना पनि भयो नि?
राजनीतिक रोटी सेक्ने मान्छे धेरै छन्। जुनसुकै क्रान्तिमा पनि आन्दोलनको बुई चढेर आफ्नै स्वार्थ पूर्ति गर्ने धेरै हुन्छन्। तर यसको मर्म अहिलेको यथास्थिति भएन भन्ने हो। समान अवसर चाहियो भन्ने हो। यो उकुसमुकुसबाट हामीलाई मुक्ति चाहियो भन्ने हो।

nullजेन–जी पनि समूह–समूहमा छरिएका छन्। मुख्य दलले ‘हामीबाट गल्ती भयो’ भनेका छैनन्, बरु पुन उठ्ने बताइरहेका छन्। फेरि पुराना नेता हाबी हुने देखियो, हैन?
त्यो भयो भने कुन अनुहारले के भाषण दिन्छन्? सदनमा गएर के बोल्छन्? मैले तिनीहरूलाई मारेर फेरि आएँ भन्लान्? उहाँहरू आफैले आत्मग्लानि महसुस गर्नुहोस्। पुस्तान्तरण गर्नुहोस्। गर्दैनन् भने तेस्रो, चौँथो, पाचौँ जेनेरेसनले आँट गरून्। कि हटुन्, कि हटाउन्। जेन–जी आन्दोलन स्वःस्फूर्त रूपमा भएको हो। यो कुनै एउटा दल वा टिमले गरेको होइन। उनीहरूलाई हामीले सघाउने हो। अबको निर्वाचनमा नयाँ पुस्ताहरूबीच प्रतिस्पर्धा होस् न।  

अहिले बनेको नयाँ सरकारमा तपाईं पनि जाने चर्चा थियो, के मिलेन?
म मन्त्रिपरिषद्मा जानेवाला छैन। म केही पनि पद लिनेवाला छैन। मलाई पहिला नै भाइबहिनीहरूले आऊ भन्नुभएको थियो। त्यतिबेला पनि भनेको थिएँ– यो तिमीहरूको आन्दोलन हो, म दलमा छु, दलको लेभल लाग्छ। कुनै दलले यसमा श्रेय दान नखोज्नु। भविष्यले गरेको विद्रोहमा कुनै पनि दल चोक्टा खान नजानू। यो उहाँहरूले गरेको आन्दोलन हो, हामीले पछाडिको सिटमा बस्नुपर्छ भन्ने कुरामा म शुरूदेखि नै स्पष्ट थिएँ।

मन्त्री भन्ने पदलाई धेरै ग्ल्यामराइज नगरौँ। यो असाध्यै धेरै तनाव हुने पद हो। कर्मचारीतन्त्रलगायत जताततै दलीयकरण छ। तपाईंलाई सहयोग चाहिँ कसले गर्छ? यो (मन्त्री हुनु) स्ट्रेसफुल काम हो।

यो चुनावी सरकार हो। यस सरकारलाई भयानक सुधार गर्ने म्याण्डेट छैन। यसले निर्वाचन गराउने हो। विगतमा उमेर खाइसकेका मानिसहरू धेरै थिए, अब आउने चुनावबाट नयाँ पुस्ता धेरै आउन्। त्यसका निम्ति हामी सबैले प्रयास गर्नुपर्छ।

nullयो सरकारलाई तपाईंको सहयोग छ। मन्त्रिपरिषद्मै जानुहुन्छ कि सचिवालयमा मात्र बस्नुहुन्छ?
हामी सबैले सहयोग गर्नुपर्छ। विभिन्न दलका नेताले ‘जेन–जीलाई काट्छु, मार्छु, खुकुरी लिएर बस’ भनेका छन्। यो स्वीकार्य छैन भनेर आवाज राख्नु पनि सहयोग हो। यो सरकारलाई गुणदोषमा हेर्नु पनि सहयोग हो।

म अहिले पनि शिक्षा समितिको ह्वाट्सएप ग्रुपमा छु। त्यसमा नेपाली कांग्रेसका सांसदहरूले ‘मिस इन्फरमेसन’वाला भिडियो शेयर गरिरहनु भएको छ। त्यो गर्नुपर्ने जरूरी छैन नि! त्यहाँ त्यस्तो गर्न नदिनु वा त्यसविरुद्धमा आवाज उठाउनु पनि सहयोग हो। मैले जुन अनुभव लिन पाएँ, त्यो अनुभव अरूलाई सुनाउनु पनि सहयोग हो। मेरो मोडालिटी यही हुन्छ।

तपाईंं के सोचेर रास्वपामा जोडिनु भएको थियो?
पुराना पार्टीले लोकतन्त्रको आवरणमा जहिले पनि एउटै कुरा भनिरहे। एउटै अनुहार देखाइरहे। त्यो मलाई लोकतन्त्र लागेन। गठबन्धन गरेर एउटै मान्छेलाई जिताउने जुन प्रपञ्च रचे, त्यो चित्तबुझ्दो भएन। बरू अबको जेन–जीले जितुन्। नयाँ अनुहार, नयाँ संस्कार बोकेर आउन्। शासन गर्छु भनेर होइन, सेवा गर्छु भनेर आउन्। पुराना दल र नेताले लोकतन्त्रको मर्म मार्न गठबन्धन गरे। भ्रष्ट गठबन्धनविरुद्ध म यो पार्टीमा जोडिएको थिएँ। त्यो बेगर अरू चाहना थिएन। 

nullरास्वपाको अन्तरपार्टी लोकतन्त्र किन बलियो हुन सकेन?
शुरूमा आफ्नै मान्छे मार्फत एउटा पोस्ट लेखाइन्छ। त्यो लेखिसकेपछि लालिगुँरास टीभी भन्नेले समाचार बनाउने, त्यसपछि नारी टिभीले बनाउने। अरू एकदुई जनामार्फत मेनस्ट्रिम अनलाइनमा समाचार लेखाइन्थ्यो। त्यो साइकल सिर्जना गरिन्थ्यो। बालेन शाहसँग पार्टी खोल्न लाग्यो भनेर प्रचार गरियो। यस्तो कुरा कहाँबाट आउँछ? यसले मेरो कामभन्दा पनि बढी मिस इनफरमेसनलाई चिर्दैमा समय सकिने भयो। यस्तो घटना पटकपटक भएको छ। प्रश्न केन्द्रीय समितिमा राखिन्छ, त्यसको उत्तर सोसल मिडियामा आएर नेतृत्वले दिन्छ। त्यो त गलत भयो।
 
अरूमा पनि असन्तुष्टि होला कि, तपाईं मात्र असन्तुष्ट हुनुहुन्थ्यो? अरूले पनि पार्टी छाड्ने जानकारी छ? 
अरूले आफ्नो विवेक प्रयोग गरुन्। मैले पटक–पटक प्रयास गरेर यो विद्रोह विस्फोट भएको हो। पार्टीमा नेतृत्व निकटका मान्छे प्रयोग गरेर बुलिङ गर्ने प्रवृत्ति छ। प्रश्न सोध्ने बित्तिकै आक्रमण गरिन्छ। एकदम तुच्छ रूपमा टिप्पणी गरिन्छ। बुलिङ गरेर त्यसलाई संस्कार दिइन्छ, त्यो संस्कार परिवर्तन हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन भुईं तहको मान्छेले ठूलो चुनौती मोलेका छन्। आफ्नो समुदायमा रास्वपालाई कसैले विश्वास नगरेको बेलामा हिँडेका मानिस छन्। यो सबै आशालाई पुराना पार्टीको संस्कार बोकेर नेतृत्वले जसरी चलाउन खोजेको छ, त्यो तल्लो तहका राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेप्रति विश्वासघात हो। यो पार्टी सुध्रिनुपर्छ। यो सुध्रियोस् भन्ने अपेक्षा हो।

भिडियो

I appreciate her commitments to nation but she needs to understand that the party exists due to one founder image and thats what it IS. she wants to crack the very foundation where she stands. So i think she is kaliyug ko kalidas and cutting the branch where she is sitting. Sayed Dherai padera hola holistically nabujheko. It not always about work and commitments. In politics its about public image

Manoj shrestha

1 month, 3 weeks ago