१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?
काठमाडौँ– जेन–जी आन्दोलनपश्चात गठन भएको सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरेको छ। उक्त निर्वाचनमा मतदान गर्न कात्तिक मसान्तसम्ममा नयाँ मतदाताले नाम दर्ता गरिसक्नु पर्छ।
निर्वाचन आयोगले कात्तिक १५ गतेसम्म ९३ हजार ३५१ नयाँ मतदाताको नाम दर्ता भइसकेको जनाएको छ। आयोगले तोकेको सम्बन्धित निर्वाचन कार्यालयमा गई नाम दर्ता गर्न सकिन्छ।
मतदाता नामावलीमा १६ वर्षदेखिका किशोरकिशोरीले नाम दर्ता गराउन सक्छन्। यद्यपि, मतदान गर्न भने १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ।
के हो मतदाता नामावली र मतदान?
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे मतदाता नामावली संकलन र मतदातामा थोरै तर महत्त्वपूर्ण अन्तर भएको बताउँछन्। कानूनबमोजिम योग्यता पुगेको जोसुकै व्यक्तिले १६ वर्ष बालिग उमेर पुगेपछि नागरिकता प्राप्त गर्छ। नागरिकतासँगै अहिले राष्ट्रिय परिचयपत्र पनि बनाउनुपर्छ।
नागरिकता वा राष्ट्रिय परिचय पत्र प्राप्तिसँगै त्यस्तो व्यक्ति नागरिक हुन्छ। सोही व्यक्ति १८ वर्ष पुगेपछि मात्र उसले मतदानको अधिकार पाउँछ।

निर्वाचनको समयमा नागरिकताअनुसार नै मतदाता नामावली संकलन हुन्छ। नामावली संकलन पूर्ण भएसँगै निर्वाचन आयोगले मतदान गर्न योग्यको सूची प्रकाशित गर्छ। सूचना अधिकारी घिमिरे भन्छन्, “हामीले संकलन गरेको नाममा आगामी फागुन २० गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदान गर्न पाउँछ।”
त्यसैले, नागरिकले मतदान गर्न पाउने प्रमुख आधार उमेर नै हो। नागरिकता वा राष्ट्रिय परिचयपत्र बनाउँदा नै मतदाता नामावलीमा १६ वर्ष पुगेका जोसुकैको नाम संकलन हुन्छ। तर निर्वाचन आयोगले प्रकाशित गर्ने मतदाता नामावली सूचीमा भने १८ वर्ष पुगेका व्यक्तिको नाम मात्र समाविष्ट हुन्छ।
आयोगको दर्तामा रहेका १६–१७ वर्ष उमेरका नागरिकको अभिलेख आयोगकै प्रणालीमा रहन्छ। भविष्यमा हुने निर्वाचनको लागि योग्य भएपछि मतदाताको सूचीमा राखिने घिमिरे बताउँछन्। “मतदाता सूची प्रकाशित भएपछि मतदाता परिचयपत्र बन्छ,” उनी भन्छन्, “त्यही परिचयपत्रको आधारमा चुनावको दिन भोट गर्न मिल्छ।”
यसबाट के स्पष्ट हुन्छ भने, मतदाता नामावली दर्ता र मतदाता परिचयपत्र फरक प्रक्रिया हुन्। मतदाता नामावलीमा नाम दर्ता १६ वर्ष उमेर पुगेका जोकोहीको हुन्छ। तर मतदान गर्न योग्यको सूची निर्वाचन आयोगले प्रकाशन गरे बमोजिम हुन्छ।
“पछिल्लो समय नागरिकता बनाउने क्रममा निर्वाचन आयोगका लागि आवश्यक जानकारी हाम्रो सफ्टवेयरमा पनि साझा गरिन्छ, यसले गर्दा १८ वर्षको पुगेका सँगै निर्वाचन आयोगले ती व्यक्तिको नाम मतदाताको अन्तिम सूचिमा राख्ने, परिचयपत्र बनाउने काम स्वतः गरिदिन्छ,” घिमिरे भन्छन्।
यसका बाबजुद छुटेका नामका लागि हरेक निर्वाचनअघि नामावली दर्ता गर्न आयोगले निश्चित समयावधि तोकेर नाम दर्ता खुलाउँछ। यसरी नाम दर्ता गर्नेले पनि मतदान गर्न पाउँछ। त्यसका लागि निर्वाचन आयोगले औपचारिक आह्वान नै गर्छ।
मतदाता परिचयपत्र हराएमा के हुन्छ?
२०७४ सालको निर्वाचनमा निर्वाचन आयोगले नामावली दर्ता गरी मतदाता परिचयपत्र प्रदान गरेको थियो। घिमिरेका अनुसार, २०७९ सालमा भने नयाँ परिचयपत्र प्रदान गरिएन।
पुरानो मतदाता परिचयपत्र भएकाले त्यही देखाएर मतदान गरे। नयाँ मतदाता र पुरानो परिचयपत्र हराएकाले निर्वाचनबाट हरेक मतदातालाई दिइने मतदाता नम्बरसहित अन्य कुनै सरकारी परिचयपत्रको आधारमा मतदान गरे।

यसपटक, नयाँ दर्ता भएका नामावलीको अन्तिम सूची आएसँगै मतदाता परिचयपत्र पनि प्रदान गरिने आयोगको योजना छ। यद्यपि, कुनै कारणवश नयाँ मतदातालाई परिचयपत्र प्रदान गर्न नसकिए अघिल्लो निर्वाचनमा जस्तै मतदातालाई प्रदान गरिने मतदाता परिचय नम्बरसहित अन्य सरकारी परिचयपत्रमार्फत मतदान गर्न दिइने छ।
आयोगले पुराना मतदाताको हकमा पनि उस्तै योजना रहेको घिमिरेले बताए। “यसपटकको निर्वाचनमा पुराना मतदाता, जसले आफ्नो मतदाता परिचयपत्र हराएका छन्, कसैले पनि नयाँ परिचयपत्र पाउने छैनन्। उहाँहरूले अन्य आफ्नो मतदाता परिचयपत्रको नम्बर र अन्य कुनै सरकारी परिचयपत्रसहित भोट हाल्न अनुरोध गरिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
