लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?
ललितपुर– पाटन दरबार स्क्वायरमा भक्त सुरदास ध्यानमुद्रामा देखिए। उनको ध्यान भंग गर्न आइन् मोहिनी। गत सोमबार साँझ ७ बजेको दृश्य हो यो।
दरबार स्क्वायरको चार नारायण मन्दिरसामु कात्तिक डबलीमा भक्त सुरदास नामक पात्र ध्यान मुद्रामा हुन्छन्। तर मोहिनी (अप्सरा)को साैन्दर्यमा मोहित भएर उनको ध्यान मात्र भंग हुँदैन सांसारिक मोहमै फस्छन्।
केही समयपछि सुरदासलाई सम्झना हुन्छ, आफ्नो जीवनको उद्देश्य के थियो? उनी भगवान् कृष्णका भक्त थिए। आँखा देख्न नसक्ने सुरदासलाई उनका दुई साथी कान्वादास र बिन्वादासले आँखा देख्न सके अझै राम्ररी कृष्णभक्तिमा लिन हुन सक्ने भनि उक्साउँछन्। यससँगै सुरदासले कृष्णसँग नेत्रदृष्टि दानको लागि माग गर्छन्। भगवान्ले उनको प्रार्थना सुन्छन्।
तर आँखा देख्न सक्ने भएसँगै भगवान्प्रतिको उनको भक्ति क्षीण हुन्छ। उनी सांसारिक मोहमायामा फस्छन्। यसरी सांसारिक मायामा फसेका सुरदासले अन्ततः लोभ मोह त्याग्छन्। भौतिक दृष्टि नभई आध्यात्मिक मार्गबाट कृष्णको आराधनामा फर्कन्छन्।

संवादसहितको नाच र नाटकमार्फत 'सुरदास प्याखँ'मा प्रस्तुत गरिएको छ।
मंगलबार च्वले खुदाँ दाँ खुदाँ (बाख्रा बेच्ने कथा) र बुधबार कौला खिचा (बाह्मणलाई मुर्ख बनाउने कथा) नाच प्रहसन भए। यी नाच/नाटकलाई बाथः प्याखँ भनिन्छ। मानिसहरूको बठ्याइको किस्सालाई नाटक र नाचमार्फत प्रस्तुत गरिने बाथः प्याखँ भन्नाले बाठा मान्छेको कथा भन्ने बुझिन्छ।
“पहिले–पहिले यो नाच २७ दिन हुन्थ्यो रे। जसमा पहिलो ९ दिन त बाथः प्याखँ मात्रै हुन्थ्यो,” कात्तिक नाचमा सहभागी सह्श्रिक महर्जन (१२) ले भने। सह्श्रिकलाई कात्तिक नाचको सबैभन्दा मनपर्ने पाटो बाथः प्याखँ नै हो। बाथः प्याखँमा मानिसहरूको चतुर्याइँले कथा हरेक पटक हेर्दा हाँसो उठ्ने अनि रमाइलो लाग्ने उनी बताउँछन्।
बाथः प्याखँअन्तर्गत सुदामा प्याखँ, दाँ खुँदा, भिन्द्यः पूजा लगायतका बाथः प्याखँ(नाच) मञ्चन हुन्छन्। हरेक वर्ष आलोपालो गरी यी नाच मञ्चन हुँदै आएका छन्।
अहिले १० दिनको नाचमा पहिलो ३ दिन बाथ प्याखँः का कथा मञ्चन हुने गरेको छ। यसबाहेक, बाँकी सात दिन धार्मिक तथा पौराणिक कथामा आधारित रही युद्धकला, देवी प्याखँ, जल शयण, वराह अवतार, नरसिंह अवतार, वस्त्रहरण लीला, दधि लीला, नाच प्रहसन आदि हुन्छन्।
लौकिक र अलौकिक संसारका घटनालाई कथाको माध्यमबाट नैतिक गुण, मानवीय गुण, अवगुण, त्रुटि अनि नैतिकताको महत्त्व उजागर गर्ने संस्कृतिविद् बताउँछन्।

२०८० सालबाट कात्तिक नाच प्रशिक्षण लिइरहेका सह्श्रिक यसपालि पहिलो पटक डबलीमा नाच मञ्चनमा सहभागी भए। बाल्यकालदेखि कात्तिक नाच हेर्दै आएका उनी कृष्ण गण र जलाशयण गणमा नाच्ने छन्।
उनी सानैदेखि मोबाइलमा हेर्दै नाच सिक्ने गर्थे। औपचारिक रूपमा भने किस्सी चढाएर (नाच सिक्नको लागि माटोको सानो पालामा चामल, सुपारी, पैसाको सिक्कासहित नाच सिक्ने वाचा) नाच गणमा दुई वर्षदेखि प्रशिक्षण लिँदै आएका छन्।
कात्तिक शुक्लपक्ष द्वादशीबाट शुरू हुने गरेको कात्तिक नाचलाई अहिले कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्याइएको छ। यस नाचलाई नेपाल भाषा (नेवारी)मा काँत्ती प्याँख भनिन्छ।
बजेट अभावसँगै छोटिएका दिन
देशमा जनतालाई कल्याण होस् भन्ने ध्येयका साथ शुरू भएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्य बताउँछन्। ३८५ वर्ष पुरानो लोक नाचको जीवित अनि ज्येष्ठ कलाकार पनि उनै हुन्। ४३ वर्षयता आफू कात्तिक नाचमा आबद्ध रहेको उनले बताए।
कुनै समय २७ दिने चल्ने यो नाच अहिले १० देखि १२ दिनमा सीमित हुनुमा बजेट मुख्य कारण भएको कोषाध्यक्ष तथा प्रशिक्षक शाक्यले बताए।
“नाचको लागि १ करोडको अक्षय कोष ललितपुर महानगरपालिकाले स्थापना गरिदिएको छ,” कोषाध्यक्ष शाक्य भन्छन्, “कोषको साँवा चलाउन पाइँदैन। ब्याज मात्रले नाच सञ्चालन गर्न पर्याप्त हुँदैन।”

यसबाहेक, विभिन्न दातृ निकाय तथा कात्तिक नाचमा सम्बन्धित समूहको स्वयंसेवक भूमिकाले गर्दा नै नाचले निरन्तरता पाउन सकेको पनि उनी बताउँछन्। समितिमा २०० भन्दा बढी सदस्य छन्।
आर्थिक अभावबाहेक देशमा आइपरेको विषम परिस्थितिअनुसार, नाच मञ्चन अवधि थपघट गर्ने गरेको उनले बताए। शाक्यका अनुसार, २००७ सालअघिसम्म २७ दिन चलिरहेको नाच जनक्रान्तिपछि केही अवधिमा दुई दिन मात्र भयो। २००८ देखि २०३७ सालसम्म नाच १५ दिनमा सीमित भयो। २०३८ सालमा गठन भएको कात्तिक नाच संरक्षण समितिले २०६९ सालसम्म आठ दिन नाच देखाउने निर्णय गर्यो।
त्यसपछि, २०७० सालमा वस्त्रहरण र दधिलीला थपेर कात्तिक नाचको अवधि १० दिन पुर्याइएको थियो। कोरोना महामारीको समयमा पनि स्वास्थ्य सुरक्षाका हिसाबले वराह अवतार र नरसिंह अवतार मात्रै गरी नाचको अवधि दुई दिनमा खुम्चियो।
इतिहास
ऐतिहासिक तथा पौराणिक कात्तिक नाचलाई पाटनका राजा सिद्धीनरसिंह मल्लले नेपाल संवत् ७६१ मा शुरू गरेका थिए। उनका शिक्षागुरु हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्यायको सहयोगमा कात्तिक नाच लेखिएको जानकार बताउँछन्।
३८५ वर्ष पुरानो नाच शुरूमा पाँच दिनमात्र प्रदर्शन भएको थियो। सिद्धीनरसिंहका छोरा श्रीनिवास मल्लले बाथः प्याँख थपेर यसलाई सात दिन पुर्याएको बताइन्छ। श्रीनिवासको छोरा योगनरेन्द्र मल्लले उषाहरण लीला र माधवनर लीला नाच थपेर १५ दिनको बनाए।

यसरी कात्तिक नाच २७ दिनसम्म लम्बियो। खासमा कात्तिक नाचको संवाद शुरूमा मैथिली भाषामा थियो। मैथिली भाषा सबैले नबुझ्ने भएपछि नेपाल भाषामा अनुवाद गरिएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्य बताउँछन्।
उनका अनुसार लोक कथालाई नाटक र नाचमार्फत समुदायलाई देखाइने यस नाचमा यन्त्र(बाजा), तन्त्र र मन्त्र हुन्छ। सोही कारण पनि यस नाचमा आबद्ध कलाकारले नीतिनियम र विधि मान्नुपर्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
