उहिलेका गुरु-चेलीबीच अहिले पुस्तक, प्रेम र फिल्मका कुरा (भिडियोसहित)

फिल्म निर्देशक केसाङ र लेखक मन्जुश्री गुरु-चेली हुन्। आ–आफ्ना प्रेमको बन्दोबस्त र पारिवारिक चाँजोपाँजो मिलाउने क्रममा जोजहाँ पुगे पनि यी गुरु–चेलीका लेखन, पठन, फिल्म र प्रेमका संयोगहरू भने उस्तै छन्।

केसाङ छेतेन र लेखक मन्जुश्री थापा/तस्वीर: मनिष पाैडेल

काठमाडौँ– फिल्म निर्देशक केसाङ छेतेन र लेखक मन्जुश्री थापाबीच अनौठो साइनो छ– गुरु चेलीको साइनो।

सन् ९० को दशकमा हिमाल साउथ एशिया म्यागेजिन(अंग्रेजी)को प्रकाशन काठमाडौंबाट शुरू भएपछि त्यसमा सहायक सम्पादक थिए केसाङ र फोटो सम्पादक थिइन् मन्जुश्री। विशेषत: अंग्रेजीमा लेख्ने नेपाली लेखकको संख्या एकदमै न्यून रहेका बेला तत्कालीन पत्रकार तथा लेखक केसाङले मन्जुश्रीलाई समेत लेखनमै तानेका रहेछन्। र, अंग्रेजी लेखनमा हात बसाल्दिने पनि उनै केसाङ रहेछन्।

नेपालको भित्री गाउँबस्ती र ग्रामीण जीवनको पाटोबारे पत्तो पाउन एउटा आईएनजीओको काममा मुस्ताङ पुगेकी मन्जुश्रीले केसाङकै उक्साहटमा परेर लेखेकी रहिछन्– मुस्ताङ भोट इन फ्रेगमेन्ट्स (१९९२)।

“मेरो गुरु नै हुनुहुन्छ केसाङ, लेखन विधामा तान्ने,” उकालो संवादमा आएका दुई सर्जकमध्येकी मन्जुश्रीले भनिन्—“त्यसबेला अंग्रेजीमा लेखन गर्ने नेपाली पत्रकार, लेखकहरू कहींकतै कसैको घरमा भेला हुँदै एकअर्काको लेखनबारे चर्चा गर्थ्याैं। एकअर्काको सुधार र सुझाव लेनदेन चल्थ्यो। त्यस कुराले मभित्र लेखक बन्ने कन्फिडेन्स बढाएर लग्यो।”

संयोग के भने भर्खरै मात्रै एउटा डकुमेन्ट्री चर्चामा छाएको थियो– ‘ह्वी होम च्याप्स’ जहाँ भारत, कालिम्पोङमा रहेको डा. ग्राहम्ज् होम (स्कुल)को एक शताब्दी पुरानो कथा जोडिएको छ र, जहाँ यो डकुमेन्ट्रीका निर्देशक केसाङ छेतेन स्वयम् केही वर्षअघि विद्यार्थी बनेर छात्रबासमा बसेका थिए।

null

“मलाई धुरुक्कै रुवाउने केसाङका फिल्ममध्ये पहिलो यही ‘ह्वी होम च्याप्स’ हो, आफूले बिताएको स्कुले जीवन र साथीभाइसँगको सहचार्य बारेको यो फिल्म मेरो मनैमा गढेको छ,” मन्जुश्रीले भनिन्—“केसाङका त्यसपछिका ‘हामी कुनाको मान्छे’ र ‘द लामाज् सन’ले पनि मलाई राम्रैसँग रुवाएका छन्।”

झण्डै ३ दशकयता समानान्तर ढंगमा र सक्रियतापूर्वक लेखन, सम्पादन, अनुवाद, निर्देशन वा सृजनात्मक विधाको अभियन्ता बनेर हिँडिरहेका मन्जुश्री र केसाङ एकअर्काका चर्कै प्रशंसक पनि हुन्। साथै, दुबैमा एक–अर्काप्रति आलोचनात्मक दृष्टि पनि छँदैछ। जस्तो, मन्जुश्री केसाङका ३/४ फिल्मको मात्रै ‘मनैमा गढेको’ भनेर नाम लिन रुचाउँछिन् भने केसाङ मन्जुश्रीको ‘फर्गेट काठमाडौँ’ नन–फिक्सनलाई मात्रै उत्कृष्ठ पुस्तकका रूपमा दोहोर्याउँदै नाम लिइरहेका हुन्छन्।

“मलाई ‘ब्रेन–वर्क’ भन्दा बढी ‘इमोसनल’ काम मन पर्छ,” केसाङले पत्रकारिता कर्म बिसाएर फिल्मी जगत, लेखन, निर्देशनतिर लाग्नाको कारण पनि खुलाइहाले– “खासमा पत्रकारिता पनि मन परेन। बरु पत्रकारिताभित्रका ससाना घटनाहरू जसको अर्थ र महत्त्व निकै ठूलो हुन्छ, त्यसलाई फिल्ममा उतार्न पाए कस्तो हुन्थ्यो भनेर फिल्मतिर लागेको हुँ।”

यही कारण गाउँमा झोलुंगे पुल पुग्दाको आनन्द र परिवर्तनमाथि ‘हामी कुनाको मान्छे’ वा रियाल पैसाको खोजी गर्दै कतार–दुबई वा कुवेत पुगेका नेपाली युवायुवतीको दैनिकीमाथि ‘रियालको खोजीमा’ वा ‘सेभिङ्ग डोल्मा’ बनाएका रहेछन्।

null

प्रत्यक्ष वा परोक्ष, जानेर वा नजान्दै यी सबै कथामा आप्रवासी बनेका, बन्दै गएका नेपालीको ‘माइग्रेन्ट’ कथालाई पनि केसाङले जोडेका छन्। जस्तो— राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पुरस्कृत ‘हु विल बि अ गुर्खा’ फिल्ममा पनि पुस्तौंदेखि गोर्खा सैनिकका नाममा बाहिरिंदै गरेको नेपालीको कथा छ नै।

“फिल्ममा सानो कुरामा ठूलो अर्थ खोजिन्छ, जस्तो—हामी कुनाको मान्छे,” केसाङ भन्छन्।

केसाङको अर्को पाटो पटकथा लेखन पनि हो। उनले छिरिङ रितार शेर्पाका 'मुकुन्डो' र 'कर्मा' फिल्मका लागि लेखेको पटकथा अब्बल छ, सफल पनि।

लेखक मन्जुश्रीका बुझाइमा पनि भर्खरै आएको केसाङको ‘द लामाज् सन’मा मुस्ताङदेखि डोल्पासम्मको परिवर्तित जगत, ग्लोबल प्रभाव र आधुनिकताको प्रभाव–पहुँचले बदलिंदै गएको गाउँ, समाज, धर्म वा सभ्यताकै प्रश्नलाई आवाज बनाएर उठाइएको छ। मुस्ताङको लुब्रा गाउँमा जहाँ १५ मात्रै घरपरिवार छन्, बोन्पो धर्ममार्गी बौद्ध समुदाय त्यहाँ छ। परम्पराअनुसार, पुस्तैनी स्वरूपमा अर्थात बाबुपछि छोरो आफ्नो धर्म, गुम्बाको लामा बन्नुपर्नेमा लुब्राका मुख्य लामाको छोरो अमेरिका (ज्याक्सन हाइट) गएको २१ वर्ष नाघिसकेको छ। तर, ऊ फर्केर घर आउँदैन, आउन मान्दैन।

निर्देशक केसाङ लुब्रा गाउँ हुँदै ज्याक्सन हाइट पनि पुगे, लामाको छोरा खोज्न। ऊ भेटिन्छ पनि तर, कुराकानी गर्न वा घर फर्कन मानिरहेकै हुन्न।

“हो, यो कथा सुन्दा मात्रै सामान्य लाग्न सक्छ, देखेसुनेकै घटना जस्तो लाग्छ,” भर्खरै मन्जुश्रीले ‘द लामाज् सन’ हेर्न पाएको अनुभवमा भन्दै थिइन्—“तर, यसले त बदलिंदै गएको समय, पुस्तान्तरण र सिंगो संस्कृति/समाजकै हेराफेरीलाई देखाइरहेको छ।”

मौलिक लेखनसँगै अनुवादमा पनि नाम बनाइरहेकी मन्जुश्रीको पछिल्लो अनुवाद काम ‘दियर इज अ कार्भिनल टुडे’ (इन्द्रबहादुर राईको आख्यान ‘आज रमिता छ’) निकै प्रसंसित छ। अबको चरणमा भने उनी पारिजातको ‘तोरीबारी, बाटा र सपनाहरू’, बीपी कोइरालाको ‘तीन घुम्ती’ र शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन: प्याज’ कृति अनुवाद गर्ने हतारोमा छन्।

“अनुवाद गर्नु भनेकै गल्ती गर्नु हो भन्ने मलाई थाहा छ। तर, लेखनभन्दा अनुवादमा बढी आनन्द आउने, बढी सृजनात्मक र शब्दार्थमा यो कि त्यो भन्दै चयनमुखी हुनुपर्ने मुश्किलको अवस्था पनि यथावतै रहनेछ।”

नेपाली समाज र विशेषत: सामाजिक संजालमा चल्ने ‘ट्रोल’ र ‘कन्स्पिरेसी थ्योरी’ बारेमा मन्जुश्री र केसाङ दुबै जानकार रहेछन्। कुनै सानो छिद्र फेला पर्यो भने पनि अफवाह फैलाउनेदेखि ‘भाइरल’ बनाउने यो शैलीबारेमा बहस र तक–बितर्क गरिरहनुको पनि त्यति अर्थ छैन।

“मैले नेपाल गहिरिएर बुझेकी छु भन्ने घमन्ड छैन, मलाई लेखक बनाएको नेपालले हो,” मन्जुश्री भन्छिन्–“मेरो जीवनको आधाभन्दा बढी हिस्सा नेपालसँगै जोडिएर बसेकी छु, मलाई आउटसाइडर वा इन्साइडर कसैले भनिगएमा पनि त्यसको अर्थ छैन।”

null

बातचित आफ्नो ठाउँमा छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, यी दुबै पात्रहरू आ–आफ्ना प्रेमको बन्दोबस्त र पारिवारिक चाँजोपाँजो मिलाउने क्रममा बिदेसिएको धेरै वर्ष भएको छ। लेखक मन्जुश्री क्यानडा पुगेकी छन्, केसाङ स्वीजरल्यान्ट। जोजहाँ पुगे पनि यी गुरु–चेलीका लेखन, पठन, फिल्म र प्रेमका संयोगहरू उस्तै छन्।

सबैभन्दा घतलाग्दो संयोग भने लेखक मन्जुश्री आफ्ना प्रेमी पत्रकार ड्यानियल ल्याकको क्यानडा (टोरन्टो) बसाइमा देश छाडेर निस्किएकी हुन् भने निर्देशक केसाङ स्वीजरल्यान्ड पुग्नुमा उनकी प्रेमिका बारबरा वेयरम्यानको सबैभन्दा ठूलो हात छ। तर, दुबैले आफ्ना सृजनकर्ममा नेपाल–नेपाली विषय छानेका छन्।

प्रेम, संयोग वा बियोगहरू नेपाली समाजकै छन्। विदेशी भूमिमा पुगेर बसोबास गरे पनि अझै त्यहाँको कथावस्तु र भित्री आरोह–अवरोहमा उनीहरू जोडिन सकेकै छैनन्।

“हामी दुबै आ–आफ्ना प्रेमका खातिर देशबाहिर पुगेका हौं, यसमा निकै खुशी छौं,” मन्जुश्री–केसाङ दुबैले हो–मा–हो मिलाउँदै भने।

भिडियो संवाद: