साउदीमा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरण शुरू

श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको काम शुरू भएको छ।

काठमाडौँ–  श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको काम शुरू भएको छ।

शुक्रबार रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा नरेशविक्रम ढकालले श्रम वैधानिकीकरण औपचारिक रूपमा शुरू गरेका हुन्।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृतिबिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकीकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए।

श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन तथा वैदेशिक रोजगार बोर्डबाट पाइने सेवासुविधा पाउन गाह्रो हुने भएकाले वैधानिकीकरण अभियान शुरू गरिएको उनले बताए। साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने पनि बताए।

राजदूत ढकालले श्रम वैधानिकीकरणलाई अभियानकै रूपमा सञ्चालन गरिने बताए। उनले यस कार्यमा विभिन्न संघ संस्थाहरूको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गरे।

राजदूत ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरूले श्रम स्वीकृतिका  लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।