मल्चिङ प्रविधिले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउँछ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ प्रविधिमा तरकारीखेती गर्न थालेका छन्। ‘’
परम्परागत रूपमा खेती गर्दै आएका मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्रविधिमा तरकारीखेती गर्न सिकाएको हो। तरकारीखेतीमा संलग्न २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लास्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले बताइन्।
“प्राविधिकको व्यवस्था गरी मुक्तकमैया परिवारको आयस्तरमा सुधार ल्याउन आधुनिक तरिकाले तरकारीखेती गर्न सिकाएका छौँ,” उनले भनिन्, “बीउविजन, रासायनिक मल, कीटनाशक, ढुसीनाशक विषादी अनुदानमा उपलब्ध गराएका छौँ।”
यस प्रविधिबाट तरकारीखेती गर्न थालेपछि पहिलेको जस्तो रोग कीरा, झारपातको समस्याबाट मुक्ति पाइएको स्थानीय स्वस्तिमा चौधरीले बताइन्। “माटो चिस्यान राख्नका लागि यो प्रविधि सक्षम छ,” उनी भन्छिन्, “तरकारीखेतीमा संलग्न परिवारले तीन वर्षदेखि खुर्सानी, गोलभेँडा र सिमला मिर्चखेतीका लागि मल्चिङ प्रविधिको प्रयोग गर्दै आएका छन्।”
यस प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको उनको भनाइ छ। एकै किसानले विगतमा मुस्किलले सिजनमा ५० हजारदेखि ७० हजारसम्मको तरकारी बिक्री गर्थे। हाल यस प्रविधिको प्रयोग हुन थालेपछि २ लाखदेखि ५ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्न थालेको उनले सुनाइन्।
नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्लास्टिकको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताए। तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारले यस प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढाउन सफल भएको उनको भनाइ छ।
“यो प्रविधिले माटोको आर्द्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बालीको उत्पादन वृद्धि गर्ने उद्देश्य राख्छ,” उनले भने, “मल्चिङ प्लास्टिकले माटोमा रहेका पानीको वाष्पीकरण हुन दिँदैन, यसले सिँचाइको आवश्यकता घटाउँछ र पानीको सदुपयोग सुनिश्चित गर्छ।”
उनका अनुसार सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन पाउँदैन, जसले श्रम र लागत दुवै घटाउँछ। यो प्रविधिले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने, माटोबाट सर्ने रोग र कीराको जोखिम घटाउने तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने कार्य पनि गर्छ।
मल्चिङले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने उनले बताए। मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तरकारीखेती, बंगुरपालन, कुखुरापालन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
दुई दिनअघि मात्र तरकारीखेतीमा संलग्न १६ जना मुक्त कमैयालाई मल्चिङमा प्रयोग हुने प्लास्टिक पूर्ण अनुदानमा उपलब्ध गराइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
