खडकबहादुर खड्काले जिते नेपालगन्ज म्याराथन

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणका पनि च्याम्पियन हुन्।

खडकबहादुर खड्काले जिते नेपालगन्ज म्याराथन
तस्वीर सौजन्य: अमित रावल

काठमाडौँ– बाँकेको नेपालगन्जमा सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन्।

शनिबार बिहान सम्पन्न म्याराथनमा खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणका पनि च्याम्पियन हुन्।

नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो तथा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए। उनीहरूले क्रमशः २ घण्टा १६ मिनेट ४८ सेकेन्डमा र २ घण्टा १९ मिनेट १८ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे। 

खड्काले उपाधिसँगै नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो भएका शाहीले १ लाख तथा तेस्रो भएका पार्कीले ५० हजार रुपैयाँ पाए। 

यस्तै, हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जित्न सफल भइन्। सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो तथा आश्मा विश्वकर्मा तेस्रो भए। 

न्यौपानेले उपाधिसँगै नगद ७५ हजार पुरस्कार प्राप्त गरिन्। रानाले ५० हजार तथा विश्वकर्माले २५ हजार रुपैयाँ पाए।