चितवन राइनोजको विजयी शुरूआत, कर्णाली याक्स ४ विकेटले पराजित

कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदै पूरा गर्‍यो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले सुखद सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा चितवनले कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य ५ बल बाँकी रहँदै पूरा गर्‍यो।

चितवनको जितमा रवि भोपाराले अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा समान ३-३ चौका र छक्कासहित ५० रन बनाए। दीपक बोहोराले पनि ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोडे। यस्तै, सैफ जैबले आक्रामक शैलीमा १६ बलमा २ चौका र ४ छक्काको मद्दतमा ३८ रन बनाए भने कप्तान कुशल मल्लले १५ बलमा २० रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। युनिश सिंह, मार्क वाट र युवराज खत्रीले समान एक-एक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो। कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए। उनी शतक बनाउनबाट १० रनले चुके। पहिलोपटक एनपीएल खेलिरहेका पन्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा ९० रन बनाएका हुन्।

त्यसैगरी, कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौकासहित २० रन जोडे। मार्क वाटले २१ बलमा १६, पवन शराफले अविजित २७ तथा नजिबुल्लाह जद्रानले अविजित चार रन बनाए।
बलिङतर्फ चितवनका सोहेल तन्वीर, सैफ जैब र रवि भोपाराले समान एक-एक विकेट लिए।

दिनको दोस्रो खेलमा अब विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सोमबारदेखि शुरू भएको एनपीएलको दोस्रो सिजन मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। लिग चरणका खेल, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेलहरू हुनेछन्।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीहरू जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दैछन्।