एनपीएलमा दुई खेल हुँदै

बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दिउँसो ३ः३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ।

लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।

दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन्। करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ। विराटनगरले पहिलो खेलमा पोखरालाई हराएको थियो।