बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उक्त घटनाको वास्तविकता अध्ययन गर्न निर्देशन दिएको जानकारी गराएकी हुन्।

प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले आफूलाई मर्माहत बनाएको जनाएकी छन्।

“उहाँहरू दुवैको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। यदि न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु” उनले भनेकी छन्, “यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु।”

नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षलाई सहजीकरण गर्न अपिल गरेकी छन्।