रवि लामिछानेलाई नक्खु कारागारबाट घर पठाइएपछि त्यसबाटै सिकेर बबण्डर मच्चाउँदै देशभरका कारागारबाट १३ हजार ५७२ कैदीबन्दी भागेका छन्। गम्भीर अपराधका अभियुक्तहरू नै समाजमा पुग्दा अपराधको जोखिम बढेको छ।
काठमाडौँ– मंगलबार दिउँसो काठमाडौँलगायत धेरै ठाउँमा ‘जेनजी’ युवाको आन्दोलन चलिरहँदा एक समूह ललितपुरको नक्खुस्थित कारागार बाहिर जम्मा भइसकेको थियो। नक्खु कारागारमा सहकारीका बचतकर्ताको रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको थियो।
त्यो समूहले लामिछानेलाई रिहा गर्नुपर्ने, नभए कारागारमै आगजनी गर्ने धम्की दिएर प्रदर्शन गर्न शुरू गरेपछि कारागार प्रशासन त्रस्त बन्यो। र लगत्तै उनलाई रिहा गरिदियो। लामिछाने रिहा भइसकेपछि त्यहाँ रहेका अन्य कैदीबन्दी पनि आन्दोलित बने। उनीहरूले कारागारमै आगो लगाउने चेतावनी दिएपछि त्यहाँ भएका सबै कैदीबन्दी बाहिर निस्किए। सुरक्षाकर्मीले उनीहरूलाई जान दिए। त्यही समूहमा मिसिएर जन्मकैदको सजाय काटिरहेका जनकपुर बमकाण्डका अभियुक्त सञ्जय साह पनि कारागारबाट बाहिरिए।
लामिछाने नक्खु कारागारबाट बाहिर निस्कनु भन्दा अघिसम्म देशभरका कारागारको अवस्था सामान्य थियो। कैदीबन्दीहरू शान्तपूर्वक बसिरहेकै थिए। जब नक्खु कारागारबाट पहिले लामिछाने रिहा भएको र पछि एक हजार दुई सयभन्दा धेरै कैदीबन्दी बाहिरिएको खबर फैलियो, अवस्था एकाएक अर्कै बन्नपुग्यो। त्यसपछि देशभरका कैयौँ कारागारमा प्रदर्शन हुनथाल्यो। कैदीबन्दीले कारागारलाई नियन्त्रणमा लिएर प्रदर्शन गर्न थाले। अवस्था यसरी बिग्रिँदै गयो कि कारागार प्रशासन त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि विभिन्न कसूरमा कैद सजाय काटिरहेका र पूर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीहरू कारागारबाट भाग्ने अवस्था बन्यो।
मंगलबार राति देशकै सबैभन्दा धेरै कैदीबन्दी राखिएको सुन्धारास्थित केन्द्रीय कारागारमा, नक्खु कारागारबाट भागेर आएका कैदीबन्दीले आक्रमण थालेपछि त्यहाँ रहेका तीन हजार दुई सय कैदीबन्दी पनि भाग्न सफल भए। बुधबार बिहानैदेखि डिल्लीबजार कारागारमा पनि कैदीबन्दीले आगजनी गरेर भाग्ने प्रयास गरे। तर सेनाले कारागारलाई नियन्त्रणमा लिएपछि उनीहरूको त्यो प्रयास भने सफल हुन सकेन। त्यहाँबाट कतिपय कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएर अन्य कारागारमा स्थानान्तरण गरेको छ।
यो समाचार तयार पार्दैगर्दा धादिङबेसीस्थित कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सुरक्षाकर्मीले गोली चलाउँदा दुई जना कैदीको मृत्यु भएको छ। अरु केही घाइते छन्।

अहिलेसम्म कतिवटा कारागारबाट जम्मा कति कैदीबन्दी निस्किए (भागे) भन्ने यकिन तथ्यांक भने उपलब्ध भइसकेको छैन। कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले देशभरका कारागारबाट कैदीबन्दी निस्किएको र विभागले एकीकृत तथ्यांक संकलन गरिरहेको बताए।
“कति कैदीबन्दी कारागारबाट बाहिरिए भन्ने यकिन तथ्यांक आइसकेको छैन। नक्खुबाट शुरू भएर देशभर फैलिएको छ,” उनले भने, “सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ। अहिले हामीसँग तथ्यांक छैन। संकलन गरिरहेका छौँ।”
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विनोद घिमिरेले भने देशभरका कारागारबाट अहिलेसम्म १३ हजार ५७२ कैदीबन्दी फरार भएको बताए। “कारागारबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन्,” उनले भने, “त्यस्तै प्रहरी हिरासतमा रहेका ५६० थुनुवा पनि भागेका छन्।”
यसमध्ये करिब तीन सय जनालाई बुधबार नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।
शरणार्थी काण्डदेखि बमकान्डका अभियुक्तसम्म भागे
कारागारबाट भाग्नेहरूमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, यो प्रकरणका प्रमुखमध्येका पात्रका रूपमा रहेका बिचौलिया बेचन झासम्म छन्। उनीहरू सुन्धारास्थित केन्द्रीय कारागारमा थिए। त्यस्तै जन्मकैदको सजाय पाएर नक्खु कारागारमा रहेका जनकपुर बमकान्डका मुख्य योजनाकार सञ्जय साह पनि कारागारबाट भागेका छन्।
कैयौँ कारागारमा हत्या, बलात्कार, मानव बेचबिखन, लागूऔषध तस्करी लगायतका कसूरमा सजाय पाएर कैद भुक्तान गरिरहेका र पूर्पक्षका लागि थुनामा रहेकाहरू पनि बाहिर निस्केका छन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शर्मा नक्खु कारागारको (रवि लामिछानेलाई बाहिर निकाल्ने) घटनाले देशभरका कैदीबन्दीले रविजस्तै छुट्नुपर्ने माग राखेपछि समस्या उत्पन्न भएको बताउँछन्। “नक्खुको घटनाले अहिले देशभरका कारागारमा समस्या सिर्जना भएको छ। यसलाई हामी सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ,” उनले भने।

विभागका एक अधिकारी ठूलो संख्यामा कैदीबन्दी देशभरका कारागारबाट बाहिरिएको बताउँछन्। “यसले ठूलो समस्या निम्त्याउने अवस्था देखिएको छ। जसरी हुन्छ अब नियन्त्रणमा लिनका लागि राज्यका निकाय परिचालन हुनु जरुरी देखिन्छ,” उनले भने, “सिंहदरबार, संसद् र न्यायालय नै असुरक्षित रहेको अवस्थामा कारागारलाई हामीले चाहेर मात्र त कसरी सुरक्षा दिन सकिन्थ्यो र।”
समाजमा आपराधिक गतिविधि बढ्ने जोखिम
जघन्यखालका अपराध लगायत अरु विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट निस्किएर समाजमा फुक्काफाल भई घुम्न थालेपछि जनमानसमा भय र आतंक बढ्न थालेको छ। कारागार बाहिर जेनजी प्रदर्शनकारीहरूको आन्दोलन चलिरहँदा भित्र कारागार प्रशासन र सुरक्षाकर्मीलाई धम्काएर–तर्साएर निस्किएका उनीहरू समाजमा पुगिसकेका छन्। कानूनले नै अभियोगमा दोषी करार गरेर कैद सजाय काटिरहेकाहरू नै भागेपछि त्यसले सुरक्षा चुनौती बढाएको छ। प्रहरी अधिकारीहरू यसले समाजमा आपराधिक गतिविधि बढ्ने जोखिम देखिएको बताउँछन्।
“भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिनुपर्ने ठूलो जोखिम आएको छ। आन्दोलनले प्रहरीका कार्यालयदेखि आवाससम्ममा क्षति पुगेकाले यसै पनि प्रहरीको मनोबल ह्वात्तै घटेको छ,” प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, “तर जसरी पनि फरार भएकालाई कानूनी दायरामा ल्याउनै पर्छ।” शान्ति सुरक्षाको अवस्था कमजोर भएका बेला समाजमा पुगेका कैदीबन्दीबाट थप अराजक गतिविधि बढ्ने खतरा देखिएको उनी बताउँछन्।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई अपराध गरेर कारागारमा राखिएकाहरू नै भागेर समाजमा पुग्दा त्यसले शान्ति सुरक्षामा खलल पुग्ने बताउँछन्। “समाजमा अपराध बढ्ने, लुटपाट लगायतका धेरै घटना बढ्न सक्ने जोखिम बढेको छ,” उनले भने, “जतिसक्दो चाँडो राज्यका निकायले नियन्त्रणमा लिनेतर्फ पहल गर्नुपर्छ।”
उनले यो परिस्थितिमा असन्तुष्ट पक्षले फरार भएका कैदीबन्दीलाई प्रयोग गरेर थप बितण्डा र क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षा निकाय अझ चनाखो हुनुपर्ने बताए। “अहिले सरकारबिहीनताको अवस्था छ। यो बेला छिटो निकास दिनेतर्फ ध्यान दिएर प्रहरीको मनोबल पनि उच्च बनाउनु जरुरी छ,” उनले भने, “बाहिर निस्केका अपराधीले लुटपाट लगायतका घटना बढाउन सक्छन्। त्यसैले फरार भएकालाई फर्काउने वातावरण बनाउनेदेखि नियन्त्रणमा लिने काम अबिलम्ब गर्नुपर्छ।”
प्रहरी प्रवक्ता, डीआईजी विनोद घिमिरेले देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने काम शुरू भइसकेको बताए। “अन्य सुरक्षा निकायसँगको समन्वयमा फरार भएका कैदीबन्दीलाई पक्राउ गर्ने काम शुरू भइसकेको छ,” उनले भने।
बुधबार मात्र नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, सप्तरीबाट भागेका ४, सुनसरीबाट भागेका २०२, रुकुम (पश्चिम) बाट भागेका ४३, कपिलवस्तुबाट भागेका ५० र म्याग्दीबाट भागेका ४ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।
सम्बन्धित समाचार:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
लोकेन्द्र विश्वकर्मा


