जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट शुरू भई देशभर बिस्तारित अराजकताबीच १४ हजार ५५ कैदीबन्दी भागे। तीमध्ये करिब ९ हजार फरार छन्, जसले समाजमा भय र असुरक्षा बढाएका छन्।
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भएको अचाक्ली बल प्रयोगबाट ७४ जनाको मृत्यु, आगजनी, तोडफोड र लुटपाटसँगै मच्चाइएको विध्वंसले त्राहिमाम र असहज बनेको जनजीवन क्रमशः सहज बन्ने क्रममा छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको गैरदलीय अन्तरिम सरकारले पूर्णता पाउन बाँकी रहे पनि सिंहदरबारको कमान सम्हालिसकेको छ। तर समाज भने अझै ढुक्क हुन सक्ने स्थितिमा देखिएको छैन। किनभने त्यहाँ सुरक्षा जोखिम झन् बढेको छ।
जेनजी आन्दोलनको दोस्रो दिन, गत भदौ २४ को प्रदर्शन भड्किएपछि देशभरका कारागारबाट साढे १४ हजार भन्दा धेरै कैदीबन्दी भागे। गम्भीर प्रकृतिका अपराधदेखि डकैती लगायतका मुद्दामा दोषी ठहर भएकादेखि त्यस्तै अरु गम्भीर कसुरमा मुद्दा पुर्पक्ष भइरहेका ती कैदीबन्दीमध्ये करिब ९ हजार अहिले पनि समाजमै छन्। उनीहरू फर्केर आएका छैनन्, राज्य–संयन्त्रले पनि तिनलाई पहिल्याउन सकेका छैनन्। र उनीहरुकै कारण समाजमा सुरक्षा जोखिम बढेको छ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका भनाइमा अपराध गरेको कसूरमा कानूनतः दोषी ठहर भइसकेकाहरू नै कारागारबाट भागेर समाजमा लुक्दा समाज नै त्रस्त र आतंकित हुने बताउँछन्। “अपराध गरेको मानिस समाजमा गएर थप अपराध गर्न सक्छ, लुटपाट, डकैती लगायतका घटना बढ्न सक्छन्,” राईले भने, “उनीहरूलाई जतिसक्दो चाँडो कारागार फर्काउनैपर्छ, चाहे पक्राउ गरेर होस् वा अरु कुनै उपायबाट।”
प्रहरीको अभियान, विभागको सूचना
भदौ २३ गते जेनजी आन्दोलनको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले अनियन्त्रित रुपमा गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि भोलिपल्ट, भदौ २४ को प्रदर्शन उग्र बन्नपुगेको थियो। त्यसपछि संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरीका कार्यालय, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, होटलदेखि नेताका निजी निवासमा समेत आगजानी र लुटपाट गरिएको थियो। त्यहीक्रममा विभिन्न कारागारमा रहेका कैदीबन्दी भगाउने शृंखला देखापरेको थियो।
यसको शुरूआत ललितपुरको नक्खु कारागारबाट भयो जहाँ सहकारी ठगी प्रकरणका अभियुक्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि थिए। लामिछानेलाई कारागारबाट निकाल्नुपर्ने मागसहित प्रदर्शनकारीले नख्खु कारागार नियन्त्रणमा लिएपछि असुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले उनलाई छाडिदिएको थियो। लामिछाने निस्किएपछि देशभरका कारागार प्रदर्शनकारीको निशानामा परे। बाहिर प्रदर्शनकारी र भित्र कैदीबन्दी नै तोडफोडमा उत्रिएपछि कारागारहरु सुरक्षा निकायको नियन्त्रणमा रहेनन्। त्यसको फाइदा उठाएर देशभरका २७ कारागार र ९ बालसुधार गृहबाट १४ हजार ५५५ जना कैदीबन्दी फरार भए।
भाग्ने क्रममा प्रहरीको कारबाहीमा बाँकेको नौबस्ता बालसुधार गृहमा ५, रामेछापमा ३ र धादिङमा २ जनाको मृत्यु भयो। “फरार भएका कैदीबन्दीबाट समाज नै असुरक्षित बनेको छ। कतिपय ठाउँमा फरार भएका कैदीबन्दीले पुनः अपराध गरेका घटना सार्वजनिक भइरहेका छन्,” एक कारागार प्रशासकले भने, “सुरक्षा दिने प्रहरीले नै आफ्नो ज्यान जोगाउनुपर्ने अवस्था आएपछि कारागार सुरक्षा गर्न सक्ने कुरा रहेन। त्यसकै फाइदा उठाएर सबै भागे।”
जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले काम शुरु गरेसँगै परिस्थिति केही सहज बनेको छ। योसँगै कारागार व्यवस्थापन विभाग, मातहतका कारागार कार्यालय, प्रहरी प्रधान कार्यालय र मातहतका प्रहरी कार्यालयहरुले फरार भएका कैदीबन्दीलाई कारागार फर्कन सूचित गरिरहेका छन्। कारागारबाट भागेको दोस्रो दिनदेखि नै कैदीबन्दीलाई नियन्त्रणमा लिने काम शुरू गरिए पनि अहिलेसम्म ठूलो संख्या कारागारबाहिरै छ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विनोद घिमिरेले कारागारबाट भागेर फरार रहेका कैदीबन्दी पक्राउका लागि प्रहरी परिचालन भइसकेको बताए। “उनीहरुलाई पक्राउ गर्ने अभियान चलाएका छौँ, कतिपय कैदीबन्दी आफै पनि कारागार र प्रहरीको सम्पर्कमा आइरहेका छन्,” उनले भने, “यसबाहेक उनीहरुबारे सूचना दिन नागरिकसँग पनि समन्वय गरिरहेका छौँ।”
तर भदौ २४ गते चार सयभन्दा धेरै प्रहरी कार्यालय आगजनी र तोडफोड भएको, प्रहरीका कैयौँ हतियार प्रदर्शनकारीबाट लुटिएको, केही प्रहरीलाई कुटीकुटी मारिएको, कैयौँ घाइते भएको र अझै पनि कतिपय प्रहरी ड्युटीमा फर्कन डराइरहेको अवस्थाले प्रहरीको मनोबल ह्वात्तै गिरेको छ। यो अवस्थामा फरार कैदीबन्दीलाई कानूनी दायरामा ल्याउन प्रहरीले कति प्रभावकारी काम गर्नसक्ला भन्ने प्रश्न पनि छ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने भागेका कैदीबन्दीलाई कारागारमा उपस्थित हुन विभाग र मातहतका कार्यालयबाट सार्वजनिक रूपमै आह्वान गरिएको बताउँछन्। “विभिन्न कारागार कार्यालय र बाल सुधार गृहबाट निस्किएका बन्दी र बालबिज्याईकर्ताहरुलाई अविलम्ब आफु बसेको कारागार कार्यालय, सुधार गृह वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन सूचित गरेका छौँ,” उनले भने, “कतिपय आफै फर्किरहेका छन्, कतिपयलाई प्रहरीले पक्राउ गरिरहेको छ।” उनले कारागारबाट भागेकामध्ये बुधबार बेलुकीसम्म ५ हजार ४९५ र सुधार गृहबाट भागेका २४४ समेत ५ हजार ७३९ जना कारागार फर्किएको बताए। अर्थात् भागेका ८ हजार ८१६ जना अहिलेसम्म फरार छन्।
थप सजायको हिसाबकिताब, के गर्दै छ कारागार विभाग?
कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारागारमा रहेका कैदीबन्दी कानूनले तोकेको सजाय भुक्तान नगरी बाहिर निस्कन पाउदैनन्। आगजनी, तोडफोड जस्ता अपराधकर्ममा उनीहरुको संलग्नता त झन् कल्पनाबाहिरको कुरा हो। तर जेनजी आन्दोलनका क्रममा यही बाटो अपनाएर नेपालका कारागारहरुमा रहेका ३० हजार ६३४ मध्ये १४ हजार ५५५ कैदीबन्दी भागे।
त्यसरी भाग्ने कैदीबन्दीलाई कानूनतः थप सजाय हुने व्यवस्था छ। कारागार ऐन २०७९ को दफा ४९, मा उपदफा १ को खण्ड ‘क’ ले दश वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था गरेको छ। यो सजाय कारागारको पर्खाल, झ्याल–ढोका फोडेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा वा कारागारबाट गोप्य रूपमा भाग्न सकिने कुनै मार्ग बनाएमा वा त्यसको उद्योग गरेमा थप हुने सजाय हो।
त्यस्तै, कारागारभित्र हुलदंगा गरेमा, बन्दी, कारागार कार्यालयका कर्मचारी वा आगन्तुकको शरीर बन्धक, निजलाई आक्रमण गरेमा वा यातना दिएमा, कारागारभित्रको संरचना वा कुनै बस्तु नष्ट गर्ने उद्देश्यले आगजनी गरे वा गराएमा, कारागार तथा बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हातहतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा पनि सजाय थप हुन्छ।
खण्ड ‘ख’ मा कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। खण्ड ‘ग’ ले प्रचलित कानून बमोजिम सजाय पाई खुल्ला कारागार, सुधार गृह, पुनस्र्थापना केन्द्र, बाल सुधार गृह, प्रोवेशन वा प्यारोलमा रहेको व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा पचास हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
उपदफा २ मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। के कारागारबाट भागेर फरार भएकाहरूलाई यो सजाय हुन्छ?
“कसैले आगजनी, तोडफोड लगायतका गतिविधि गरेर आफू भाग्ने र अरूलाई पनि भगाउने काम गरे,” कारागार व्यवस्थापन विभागका एक अधिकारी भन्छन्, “कानून अनुसार जाने हो भने त भागेका जति सबैलाई थप सजाय हुन्छ। तर त्यतिबेलाको परिस्थितिलाइ पनि हेर्नुपर्छ। कति त असुरक्षाका कारण बाहिर गए र अहिले आफै फर्किसकेका छन्।”
विभागका निर्देशक चोमेन्द्र न्यौपाने कारागारबाट भागेर फरार रहेका कैदीबन्दीलाई थप सजायबारे अहिल्यै केही यकिन नभएको बताउँछन्। “हामीले सूचना निकालेपछि केही फर्किरहेका छन्, कतिलाई प्रहरीले पनि पक्राउ गरिरहेको छ,” उनले भने, “अरु पनि कानूनले तोकेको थप सजाय हुने बुझेर फर्किन्छन् भन्ने हाम्रो आशा हो।”
उनले असुरक्षा महशुस गरेर कारागारबाट बाहिर निस्केकाहरू सहजै फर्किए कारागार प्रशासन र प्रहरीले हेर्ने बताए। “थप सजायका सम्बन्धमा कारागार प्रशासनले प्रतिवेदन तयार पार्छ। प्रहरीले पनि कसरी बाहिरिएको भन्ने अनुसन्धान गर्छ। अनि मात्र प्रक्रिया अघि बढ्छ,” उनले भने, “कतिपयमाथि सामान्य अनुशासन उल्लंघनको कारबाही हुन सक्छ, आगजनी, तोडफोड नै गर्नेहरूको हकमा सजाय पनि हुन सक्छ। तर यसबारे विभागले कुनै परिपत्र गरेको छैन। यो अधिकार सम्बन्धित कारागार प्रशासनलाई छ।”
कारागार व्यवस्थापन विभागको महानिर्देशक रहिसकेका एक सहसचिव आउँदा दिनमा कारागारमा यस्ता घटना हुन नदिन पनि यो प्रकरणमा कानूनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउँछन्। “अहिले कारबाही नगरेर त्यसै छाडियो भने भोलि पनि यस्तो जोखिम आउन सक्छ,” उनले भने, “जसले आगजनी, तोडफोड गरेर स्थिति नियन्त्रण बाहिर पुर्याए, तिनलाई कारबाही गर्नुपर्छ। असुरक्षाले बाहिर गएर फर्किएकाको हकमा केही सहजीकरण पनि गर्नुपर्छ।”
विभागका निर्देशक न्यौपानेले अहिले अवस्था सहज बनिसकेकाले विभागको अनुरोध अटेर गरेर बस्नेहरुलाई भोलि प्रहरीले पक्रेर ल्याएमा उनीहरुमाथि थप सजाय हुने संकेत गरे। “अपराध गरेर दोषी ठहर भएका व्यक्ति कारागारबाट भागेर समाजमा बस्न त कठिन नै छ। समाजले नै भोलि प्रहरीलाई खबर गरिदिन्छ। त्यसकारण भागेकाहरु फर्किएर आउँछन् भन्ने नै हो,” उनले भने, “नआएको अवस्थामा त भोलि थप सजाय हुन्छ नै। कसैलाई १० वर्ष कैद भएको थियो, उसले सजाय भुक्तान गर्न ४ वर्ष बाँकी थियो। ऊ अहिले फर्केर आएन र भोलि पक्राउ पर्यो भने ५ वर्ष सजाय थप त हुन्छ नै।”
पूर्पक्षका लागि थुनामा रहेको व्यक्ति फर्केर आएन र भोलि पक्राउ पर्यो भने फरार भएको कसूरमा सजाय भुक्तान गर्नुपर्ने हुन्छ। “अहिले त आएन, तर मुद्दा फैसला हुँदा उसले सफाइ पायो र पछि पक्राउ पर्यो भने थुनामा रहँदा भागेको कसूरमा जेल बस्नुपर्ने हुन्छ,” उनी भन्छन्, “त्यसैले पनि अहिले भागेकाहरु कानून बुभेर फर्किनुपर्छ। घरपरिवार र अरु नागरिकले पनि भागेका कैदीबन्दीलाई फर्काउन भूमिका खेल्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
