स्थानीय प्रणालीले गर्दा उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठूलो प्रणाली नभई स्थानीयस्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताए। उनका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज वर्षा भएको हो।

देशको मधेश र बागमती प्रदेशलगायत कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको दाहालले जानकारी दिए। उनका अनुसार गण्डकीदेखि पूर्वका अधिकांश स्थानमा आज मध्यम वर्षा भएको छ।

मौसमविद् दाहालले पछिल्लो तीन घण्टामा काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको जानकारी दिए। उनका अनुसार तीन घण्टामा भक्तपुरको ताथलीमा २४.६ मिलिमिटर वर्षा भएको जनाउँदै रानीपोखरीमा १४.६ मिलिमिटर र नैकापमा १४ मिलिमिटर वर्षा भएको छ।

यो प्रणालीका कारण भोलिसम्म मध्यम वर्षा जारी रहने र भोलिदेखि उक्त प्रणाली कमजोर हुँदै जाने मौसमविद् दाहालले बताए।

विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी गोरखामा ८७.६, गुल्मीमा ६२, लमजुङमा ६१.८ मिलिमिटर वर्षा भएको छ। अन्य सिन्धुपाल्चोक, पर्सा, सुर्खेत, चितवनलगायत जिल्लामा पनि वर्षा भएको छ।