सीपअनुसार अवसर, खटाइअनुसार पारिश्रमिक र काम गर्ने वातावरण नपाएर जटिल सर्जरी गर्ने अनुभवी सर्जन धमाधम पलायन भइरहँदा सर्जरी पढ्नेको आकर्षण पनि घटिरहेको छ। जसको अर्थ हो– देश मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरीका चिकित्सक संकटको अवस्थामा पुग्दैछ।
काठमाडौँ- डा. दिनेश गुरुङ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा काम शुरू गरेको ६ वर्ष नाघिसकेको थियो। सन् २०१७ मा बांग्लादेशबाट आफ्नै खर्चमा कार्डियोथोरासिक एन्ड भास्कुलरमा मेडिकल सर्जरी (सीटीभीएस सर्जरीमा मास्टर) पढेर उनी मनमोहन सेन्टरमा ‘टिचिङ असिस्टेन्ट’ भएका थिए।
मुटु, फोक्सो र रक्तनली (सीटीभीएस) विषयमा तालिमप्राप्त उनी त्यहाँ भने रक्तनलीको शल्यक्रियामा केन्द्रित थिए। दुर्घटनामा परेर आएका घाइतेको क्षतविक्षत भएका रक्तनली र मष्तिस्क पक्षघातको शल्यक्रियामा उनले नाम कमाइरहेका थिए। तर अहिले मनमोहन अस्पतालमा उनको ‘नेमप्लेट’ देखिँदैन।
‘असिस्टेन्ट प्रोफेसर’को स्थायी दरबन्दीमा कार्यरत उनी बेलायत पुगिसकेका छन्। वर्षौं काम गरेका सर्जन कसरी पलायन भइरहेका छन् भनेर देखाउने दृष्टान्त हुन् डा. गुरुङ। यसबाट जटिल प्रकारका शल्यक्रियामा समस्या उत्पन्न हुने जोखिम बढेको छ।
चीनबाट एमबीबीएस गरेर सन् २००५ मा नेपाल फर्किएका डा. शंकर भण्डारीले दुई वर्षपछि नेपाली सेनाको चिकित्सकमा नाम निकाले। सैनिक अस्पतालमा काम गरिरहेको बेला त्यहाँ सीटीभीएस सर्जरी गर्ने ‘सेटअप’ र जनशक्ति थिएन। अस्पतालले सीटीभीएस सर्जरी गर्न आफै जनशक्ति उत्पादन गरी सेटअप पनि तयार गर्ने योजना बनाइरहेको थियो।
डा. भण्डारीलाई सानैदेखि मुटु सर्जन बन्ने धोको थियो। सैनिक अस्पतालमा राम्रो गरिरहेका उनलाई त्यहाँका उच्च तहका कर्मचारीले भनेका थिए– तिमी सीटीभीएस सर्जरी पढेर आऊ, यहाँ सेटअप बनाएर काम थाल्नुपर्छ।
भण्डारीलाई नेपाली सेनाले नै सीटीभीएस सर्जरी पढ्न बांग्लादेश पठायो। पाँच वर्षे कोर्ष पूरा गरेर भण्डारी सन् २०१७ मा नेपाल फर्किए। त्यसपछि सैनिक अस्पतालमा सीटीभीएस सर्जरीको सेटअप तयार गर्न विभिन्न योजना प्रस्तुत गरे, तर कार्यान्वयन भएन।
डा. भण्डारी विभिन्न प्रस्ताव लेख्दा र छलफलमा भाग लिँदालिँदा थाकिसकेका थिए। सैनिक अस्पताल बाहिर गएर काम गर्ने अनुमति नभएकाले सिकेको सीप खेर गइरहेको मात्रै थिएन, बिर्सिइएला कि भन्ने डर पनि उनलाई थियो।
अनेक योजना र दर्जनौँ छलफलमा नै तीन वर्ष बित्यो, तर सीटीभीएस सर्जरी गर्ने आधारभूत सेटअप तयार भएन। सामान्य उपकरण पनि ल्याइएन। त्यति बेला उनी सेनाको मेजर पदमा थिए, लेफ्टिनेन्ट कर्नेलमा बढुवा हुन केही महिना बाँकी थियो।
डा. भण्डारीले सैनिक अस्पताल छाडेर नेपालकै अन्य अस्पतालमा काम गर्ने प्रयास पनि गरे, तर कतै ठाउँ खाली थिएन। नियमअनुसार, सेनाले पढाएको विद्यार्थीले काम नगरी छोड्दा पैसा फिर्ता गर्नुपर्थ्यो। उनले सन् २०२० मा २६ लाख रूपैयाँ नेपाली सेनालाई बुझाएर अस्ट्रेलिया गए। भन्छन्, “सेनाले सपोर्ट गरेको भए म नेपाल नै बस्थेँ, तर उहाँहरूलाई सीटीभीएस सर्जरीको महत्त्व बुझाउनै सकिएन।”
न्युरो सर्जन डा. किरण निरौला पनि आफ्नो पेसागत सीप सही ठाउँमा उपयोग गर्न नपाएर बिदेसिएको बताउँछन्। उनले सन् २०१८ मा पाकिस्तानको किङ एडबर्ड मेडिकल युनिभर्सिटीबाट न्युरो सर्जरीमा एमएस कोर्ष गरेका थिए। त्यहाँबाट फर्किएका उनी ठूला सरकारी अस्पताल पुगे, तर करारमै काम गर्न पनि खाली ठाउँ थिएन।
लोकसेवा आयोगले कुनै उपयुक्त दरबन्दीका लागि मागसमेत गरेको थिएन। निजी अस्पताल उनको रोजाइमा थिएनन्, तर तत्काल विकल्प नभएपछि झापाको बिर्ता सिटी अस्पताल गए। त्यहाँ उनले न्युरो सर्जरी गर्ने सानो टिम बनाएर अपरेसन थिएटर तयार गरे।
त्यहाँ न्युरो सर्जरी शुरू भए पनि अन्य विधाका जनशक्ति र अत्यावश्यक पूर्वाधार नभएकाले सीपअनुसारको काम गर्न सहज भएन। त्यही बेला उनलाई माल्दिभ्सको एडीके अस्पतालबाट मासिक १२ हजार डलर पारिश्रमिकको प्रस्ताव आयो। त्यो उनले यहाँ कमाइरहेको भन्दा पाँच गुणा बढी थियो।
अहिले उनी माल्दिभ्सको त्यही अस्पतालमा न्युरो सर्जरी विभाग प्रमुख छन्। त्यहाँ उनीसहित अन्य दुई नेपाली न्युरो सर्जन पनि कार्यरत छन्। “विशेषज्ञ सर्जन टिकाउन सरकारले कुनै कदम चालेन भने अबको केही समयपछि जटिल सर्जरी गर्ने मान्छे टर्च बालेर खोज्नुपर्छ,” डा. निरौला भन्छन्।

जनशक्तिको चरम अभाव
अवस्था कस्तो भने अहिले देशभर मुटु, फोक्सो र रक्तनली सर्जन ५० जना मात्र छन्। जसमध्ये बेलायत पुगेका डा. दिनेश गुरुङजस्ता रक्तनली शल्यक्रिया गर्ने १२ जना छन्। फोक्सोको शल्यक्रिया गर्ने पनि १२ जना छन्। अस्ट्रेलिया गएका डा. शंकर भण्डारीजस्ता मुटुको सर्जन २४ जना हाराहारी छन्।
‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९-८७’ ले पनि देशमा सर्जनको अभाव देखाएको छ। मुटु शल्यचिकित्सक जनसंख्याको अनुपातमा १०६ जना चाहिनेमा २४ जना मात्र छन् भने प्लास्टिक सर्जन ६८ जना चाहिनेमा १९ जना मात्र छन्।
माल्दिभ्स गएका डा. किरण निरौलाजस्ता न्युरो सर्जन देशभर ११५ जना छन्। बिरामीको चाप र रोगभारको अनुपातमा चिकित्सकको यो संख्या निकै कम हो। जटिल किसिमको सर्जरी गर्न यति थोरै जनशक्तिले पुगिरहेको छ त?
मनमोहन सेन्टरमा कार्यरत डा. रञ्जन सापकोटा भन्छन्, “बिरामीको चाप हेर्ने हो भने पुग्दैन, तर यति थोरै जनशक्तिले समेत आफ्नो सीप र क्षमताअनुसार काम पाइरहेका छैनन्।”
सीपअनुसार काम र सेवा सुविधा नपाएकाले गएको १० वर्षमा १२ जनाभन्दा बढी सीटीभीएस सर्जन बिदेसिए।
नेपाल प्रहरीका अनुसार, हरेक वर्ष सवारी दुर्घटनामा झन्डै २५ सयको मृत्यु हुन्छ। दुर्घटनामा विशेषगरी टाउको, मेरुदण्ड र रक्तनलीमा गम्भिर चोट लाग्छ। त्यस्तै, नेपालमा मुटु तथा रक्तनलीको रोग, श्वासप्रश्वास सम्बन्धी रोग, ट्युमर तथा क्यान्सर र फोक्सोको संक्रमण जस्ता रोग मुख्य छन्।
यस्ता रोगको उपचारका लागि सीटीभीएस तथा न्युरो सर्जन नभई हुँदैन। तर देशमा भएका सीमित जनशक्ति काठमाडौँजस्ता ठूला शहरका अस्पतालमा मात्रै उपलब्ध छन्।
मुटु, फोक्सो, रक्तनलीका जटिल शल्यक्रिया हुने सरकारी अस्पताल गंगालाल र त्रिवि शिक्षण अस्पतालभित्रको मनमोहन सेन्टर मात्रै हुन्। त्यस्तै, त्रिवि शिक्षण, वीर र पाटन अस्पतालमा मात्रै न्युरो सर्जरी विभाग छ। सरकारले न्युरोसम्बन्धी छुट्टै अस्पताल भने बनाइसकेको छैन।
त्यसैले, देशभरका मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरीका बिरामी यिनै अस्पतालमा थुप्रिन्छन्। यी अस्पतालमा आकस्मिकबाहेकका अन्य सर्जरी (इलेक्टिभ) गर्न एक सातादेखि दुई महिनासम्म कुर्नपर्छ।
मनमोहनमा मुटु, छाती र रक्तनलीसमेत गरेर जम्मा ११ र गंगालालमा १५ जना सर्जन छन्। वीरको न्युरो सर्जरी विभागमा न्युरो सर्जन सात र कार्डियो सर्जन तीन जना छन्। त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी विभागमा पनि सातै जना सर्जन छन्। क्यान्सर उपचार गर्ने सरकारी अस्पतालमा नभई नहुने यस्ता सर्जन नै छैनन्।
गंगालाल, मनमोहन, त्रिवि शिक्षण, वीर र पाटनमा बिरामीको चाप धान्न अहिलेभन्दा कम्तीमा दुई गुणा बढी सर्जन चाहिने त्यहाँ कार्यरत सर्जनहरू बताउँछन्। तर सर्जन मात्र थपेर हुँदैन, पर्याप्त अपरेसन थिएटर छैनन्। गंगालालमा तीन र मनमोहनमा दुई वटा मात्रै थिएटर छन्। न्युरो सर्जरीका लागि वीरमा दुई र शिक्षण अस्पतालमा एउटा मात्रै थिएटर छन्।
यो अवस्थामा देशमा भएका जनशक्ति बिदेसिनु राम्रो संकेत नभएको मनमोहन सेन्टरका डा. सापकोटा बताउँछन्। “यस्ता जनशक्ति कति उत्पादन गर्ने र उत्पादन भएकालाई कहाँ काम लगाउने भन्ने दीर्घकालीन योजना नहुँदा एकातिर जनशक्ति अभाव भएर बिरामी मरिरहेका छन्, अर्कातिर हामीले तयार गरेका अनुभवी जनशक्ति विदेशीले सस्तोमा उपयोग गरिरहेका छन्,” उनी भन्छन्।

सर्जन बन्न घट्दैछ आकर्षण
अहिलेको चिकित्सा शिक्षा प्रणालीअनुसार, एक जना विशेषज्ञ सर्जन तयार हुन १५ देखि २० वर्ष लाग्छ। कोही २० वर्षको उमेरमा एमबीबीएस पढ्न शुरू गर्यो भने, विशेषज्ञ सर्जन भइसक्दा ३५ वर्ष नाघिसक्छ।
कसैले एमबीबीएस (साढे पाँच वर्ष) छात्रवृत्तिमा पढेको छ भने, दुई वर्ष सरकारले तोकेको ठाउँमा खटिनैपर्छ। जनरल सर्जरीको तीन वर्षको कोर्ष सकेपछि पनि एक वर्ष सरकारले तोकेको ठाउँमा जानैपर्छ। त्यतिञ्जेल उमेर ३१ वर्ष पुगिसक्छ।
त्यस्तै, जनरल सर्जरीपछि न्युरो, मुटु, छाती तथा रक्तनलीलगायत विषयको विशेषज्ञ हुन तीन वर्षे मास्टर अफ सर्जरी (एमसीएच) कोर्ष गर्नैपर्छ। यसरी बीचमा कुनै जागिर नगरी पढ्नलाई सिट पाउँदा र लगातार पास हुँदा विशेषज्ञ सर्जन बन्न डेढ दशकभन्दा बढी लाग्छ।
आफ्नो खर्चमा पढ्ने विद्यार्थीको यतिञ्जेल १ करोड रुपैयाँभन्दा बढी खर्च भइसक्छ। तर विशेषज्ञ सर्जनको प्रमाणपत्र लिनासाथ उसले काम पाउँदैन। काम पाउने चिकित्सकले पनि शुरूको पाँच वर्ष न्यून पारिश्रमिकमा वरिष्ठ सर्जनको सहायक हुनुपर्छ। कतिपयले त्यस्ता अग्रजबाट पर्याप्त सहयोग पाउँदैनन्।
मनमोहन अस्पतालबाट ६ महिनाअघि करार जागिर छाडेर स्कटल्याण्ड पुगेका सीटीभीएस सर्जन डा. निकेश भण्डारी अग्रज सर्जनले नयाँलाई सहजै सीप हस्तान्तरण नगर्ने अनुभव गरेको बताउँछन्। चार–पाँच वर्ष वरिष्ठ सर्जनको छेउमा उभिनबाहेक सर्जरीमा हात राख्न पाइँदैन।
त्यो समय अस्पतालमा सर्जनको ‘नेमप्लेट’ समेत नराखिँदा काम शुरू गरेदेखि नै निराश बनाइने डा. भण्डारी बताउँछन्। उनी भन्छन्, “सिनियरले पनि वर्षौं लगाएर सिकेको भएर होला हरेक सर्जरी गर्न आफै अघि सर्नुहुन्छ, त्यसैले सर्जरीको प्रमाणपत्र लिइसकेपछि पनि काम गर्नसक्ने हुन पाँच–सात वर्ष लाग्छ।”
पछिल्लो वर्ष त जटिल विधाका सर्जरी पढ्ने आकर्षण पनि घट्दै गएको चिकित्सा शिक्षा आयोगको तथ्यांकले देखाउँछ। शैक्षिक वर्ष २०२४ का लागि आयोगले कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरीमा ११ वटा सिट निर्धारण गरेको थियो, जसमा तीन जना मात्रै भर्ना भए। न्युरो सर्जरीमा ११ सिट छुट्याइँदा पाँच जना र प्लाष्टिक सर्जरीमा चार सिट छुट्याइँदा तीन जना मात्र भर्ना भए।
सन् २०२२ देखि २०२४ सम्म कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरीमा २९ वटा सिट छुट्याइँदा गत वर्ष तीन जना मात्र भर्ना भए। अघिल्ला वर्ष छुट्याइएका सबै सिट खाली गए। न्युरो सर्जरीमा ४१ सिट छुट्याइँदा २० जना मात्र भर्ना भए।
सर्जरी विधा पढ्ने विद्यार्थीको आकर्षण कम हुनु र पढिसकेका पलायन हुनुको अर्को कारण सीपअनुसारको काम र खटाइअनुसारको पारिश्रमिक नपाउनु हो। गंगालाल, मनमोहन, त्रिवि, वीरजस्ता अस्पतालमा १० वर्ष काम गरिसकेका असिस्टेन्ट प्रोफेसर तहका सर्जनले पाउने तलब कर कटाएर लगभग ८५ हजार रुपैयाँ हो। तर छिमेकी देश भारतमा सोही तहका सर्जनलाई ५ लाख, माल्दिभ्समा १५ लाख र यूएई, कतारजस्ता देशमा २० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिइन्छ।
बेलायत बसिरहेका डा. दिनेश गुरुङ आठ वर्षअघि ४५ हजार पारिश्रमिकमा मनमोहन सेन्टरमा टिचिङ असिस्टेन्ट भएका थिए। बढी पारिश्रमिक पाउने अन्य विकल्प नभेटेर र आफ्नो तथा परिवारको सामाजिक सुरक्षा नदेखेर बिदेसिएको गुरुङ बताउँछन्। उनी भन्छन्, “भोलि आफूलाई तलमाथि भएर काम गर्न नसक्ने अवस्था आयो भने परिवारको भविष्य के होला, बालबच्चा कसरी पढ्लान् भन्ने कुराले धेरै चिन्ता लाग्दो रहेछ।”
हालै मात्र स्कटल्यान्ड पुगेका कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन डा. भण्डारीले छात्रवृत्तिमा मनमोहनबाट एमसीएच गरेका हुन्। पढाइ सकेपछि सरकारले उनलाई अनिवार्य सेवामा दुई वर्षका लागि चितवनको भरतपुर अस्पताल पठाएको थियो। त्यहाँ उनको सीपअनुसार काम गर्ने सेटअप थिएन। जसोतसो दुई वर्ष कटाएर काठमाडौँ फर्किएपछि उनले मनमोहन सेन्टरमा नै करार सेवा शुरू गरे।
त्यहाँको पारिश्रमिकले परिवारको अपेक्षा पूरा गर्न नसकेको डा. भण्डारी बताउँछन्। “करौडौँ खर्च गरेर र वर्षौं लगाएर पढेपछि परिवारको साधारण अपेक्षा पनि पूरा गर्न सकिन्न भने त यहाँ किन दौडिरहेको छु भन्ने सोच्नुपर्छ,” उनी भन्छन्, “पुर्ख्यौली सम्पत्ति हुनेबाहेक अन्यले डाक्टरले तलबबाट सन्तानलाई राम्रो स्कुलमा पढाउन तथा घरखर्च चलाउन सक्दैनन्।”
कलेजो प्रत्यारोपण गर्ने सर्जन डा. रमेशसिंह भण्डारी जटिल उपचारका सर्जनभन्दा फिजिसियनलाई काम पाउन सहज हुने बताउँछन्। एमबीबीएसपछि एमडी मात्रै गरेका चिकित्सकलाई पनि अस्पताल, क्लिनिक वा एनजीओमा राम्रो अवसर हुनसक्छ। आफै क्लिनिक खोलेर पनि जीविकोपार्जन गर्न सक्छन्।
तर सर्जरीका लागि ठूलो सेटअप, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, रक्त सञ्चार केन्द्र, विषयगत फिजिसियन र नर्सको ठूलो टिम चाहिन्छ। त्यसैले क्लिनिक खोलेर काम गर्न सहज हुँदैन। निजी अस्पतालले पनि खर्चिलो हुने भएकाले यस्ता सेटअप तयार गर्न प्राथमिकता दिँदैनन्।
त्यति मात्र होइन, अन्य विधाका चिकित्सकको दैनिक कार्यावधि तोकिएको हुन्छ। तर जटिल किसिमका बिरामी हुने भएकाले सर्जन जुनसुकै बेला अस्पताल पुग्न तयार हुनुपर्छ। “कामको अवसर धेरै नहुने, सेवा सुविधा फिजिसियनभन्दा धेरै नहुने र अन्य चिकित्सकभन्दा धेरै खटिनुपर्ने भएकाले सर्जन बन्न आकर्षण छैन,” डा. रमेशसिंह भण्डारी भन्छन्।
छैन अनुसन्धान र फेलोसिपको अवसर
जटिल किसिमका सर्जरी गर्ने अस्पतालमा जनशक्ति थोरै राख्ने भएकाले कामको चाप धेरै पर्छ। सोही कारण उनीहरूले आफ्नो विषयको अनुसन्धान गर्न, हरेक दिन अपडेट भइरहेका नयाँ प्रविधि र ज्ञान सिक्न फेलोसिप तथा तालिमको अवसर पाउँदैनन्।
त्रिवि शिक्षण अस्पताल न्युरो सर्जरी विभागका सहप्राध्यापक डा. गोपाल सेडाईं अनुसन्धान र तालिमका लागि जनशक्ति पठाउन अहिलेभन्दा दोब्बर जनशक्ति राख्नुपर्ने बताउँछन्। उनी भन्छन्, “यदि कोही डाक्टर तालिम वा फेलोसिपमा गयो भने यहाँको सेड्युल नै बिग्रन्छ।”
वीर अस्पताल न्युरो सर्जरी विभागका सहप्राध्यापक डा. समीर अर्याल जनशक्ति कम भएकाले हप्तामा ८० घण्टा हाराहारी खटिनुपर्ने बताउँछन्। जबकि, श्रम ऐनमा हप्तामा ४८ घण्टाभन्दा बढी खटाउन नपाउने व्यवस्था छ। यो अवस्थामा अनुसन्धान गर्न वा फेलोसिपमा जान पाइँदैन। “यदि कोही जान चाह्यो भने पनि आफ्नै खर्चमा जानुपर्छ, जबकि चिकित्सकको स्तरवृद्धि गर्न राज्यले नै यस्ता अवसर दिलाउनुपर्ने हो,” उनी भन्छन्।
पेसागत असुरक्षा देखेर देश छाड्ने सर्जन धेरै भएको डा. सेढाईं बताउँछन्। किनकि, मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरी गर्नुपर्ने अधिकांश बिरामी दुर्घटनामा परेका वा गम्भीर रोग लागेका हुन्छन्। यस्ता बिरामीलाई चिकित्सकले बचाउने शतप्रतिशत प्रयास गरे पनि मृत्यु हुने सम्भावना धेरै हुन्छ।
नेपालमा बिरामीको मृत्यु हुँदा चिकित्सकलाई दोष थुपारेर हातपात र तोडफोड गर्ने मात्र नभई उपभोक्ता अदालतमा मुद्दा हाल्ने प्रवृत्ति छ। रोगको जटिलतालाई नबुझी हातपात गर्ने र मुद्दा लगाउने कारण पनि सर्जरी विधा पढ्ने र देशमै काम गर्ने मोह घटेको न्युरो सर्जन डा. किरण निरौला बताउँछन्।

समाधान कति सहज?
जटिल सर्जन बन्न आकर्षण घट्दै जाने र उत्पादन भएका सर्जन बिदेसिँदा केही वर्षमै उपचार नपाइने अवस्था हुनसक्ने न्युरो सर्जन डा. सेढाईं बताउँछन्। यो समस्या अन्त्य गर्न स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने उनको भनाइ छ।
हरेक प्रदेशका सरकारी अस्पतालमा आवश्यक सेटअप तयार गरेर उत्पादित जनशक्ति खटाउन सकिन्छ। सीटीभीएस तथा न्युरो सर्जरीको सेवा हरेक प्रदेशमा पुर्याउँदा केन्द्रीय अस्पतालमा चाप पनि घट्छ। “सेवाको विकेन्द्रीकरण नगरी उत्पादन भएका जनशक्तिलाई केन्द्रमा मात्रै जागिर दिन सकिँदैन,” उनी भन्छन्।
सन् २०१४ मा अमेरिकाबाट नेपालमै काम गर्ने उदेश्य लिएर फर्किएका कार्डियोथोरासिक सर्जन डा. सम्पूर्णमान तुलाधार भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आबद्ध भए। त्यहाँ कार्डियोथोरासिक सर्जरी गर्ने सेटअप तयार गरेर टिम पनि बनाइयो, केही समयमा नै टिम छिन्नभिन्न भयो।
सोही कारण मानव अंग प्रत्यारोपण केन्द्रमा करोडौँका उपकरण थन्किइरहेको छ। केन्द्रमा उपकरण थन्किइरहँदा भक्तपुरका नागरिकलाई मुटु तथा न्युरोसम्बन्धी आकस्मिक तथा इलेक्टिभ सर्जरी गर्न गंगालाल तथा मनमोहन पुग्नुपर्ने बाध्यता छ।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा पनि मुटुको चिरफारबिना उपचार गर्ने ‘क्याथल्याब’ १२ वर्षदेखि प्रयोगविहीन छ । जनशक्ति अभाव देखाएर उक्त क्याथल्याब नचल्दा दुर्घटनामा परेर मुटु वा रक्तनलीमा रगत जमेका बिरामी अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ।
सरकारले किनेका यस्ता उपकरण प्रयोग मात्र गर्दा पनि काठमाडौँ उपत्यकाभित्रै २० जनाभन्दा बढी सर्जनले काम पाउने डा. तुलाधार बताउँछन्। “एकातिर काम नपाएर सर्जन पलायन भइरहेका छन्, अर्कातिर सर्जरी गर्ने करोडौँका मसिन थन्किइरहेका छन्। योभन्दा ठूलो भद्रगोल के हुन्छ” डा. तुलाधार भन्छन्।
कार्डियोथोरासिक सर्जन डा. सापकोटा काठमाडौँबाहिरका अस्पतालमा पनि जटिल सर्जरी सेवा विस्तार गरेर यो विधामा आकर्षण बढाउनुपर्ने बताउँछन्। यो सेवा विस्तार गर्दा सम्बन्धित अस्पतालको समग्र सेवा सुध्रने उनको भनाइ छ।
जटिल किसिमको सर्जरी गर्ने सेटअप सञ्चालन गर्दा अस्पतालमा ल्याब, रक्त सञ्चार केन्द्र, क्रिटिकल केयर विज्ञ, एनेस्थेसियोलोजिस्ट, शल्यक्रियापछि बिरामी राख्ने वार्ड र विविध विषयका फिजिसियन तथा सर्जरी गर्ने जनशक्ति तथा पूर्वाधार थपिन्छ। डा. सापकोटा भन्छन्, “पूरा देशका जनता र चिकित्सकलाई गंगालाल र मनमोहन अस्पतालले मात्रै धान्दैन, त्यसैले सेवा विस्तार नगरी यो समस्या समाधान हुँदैन।”
सीटीभीएस तथा न्युरो सर्जनको थप दरबन्दी खुलाउने हो भने पनि यो विषय पढ्ने आकर्षण बढ्ने वीर अस्पतालका न्युरो सर्जन डा. समीर अर्याल बताउँछन्। दुई वर्षअघि वीर अस्पतालमा नवौँ तहका लागि एक जना न्युरो सर्जनको दरबन्दी खुलाउँदा २२ जनाले आवेदन दिएका थिए। उनी भन्छन्, “पढेर काम गर्ने ठाउँ नदेखेपछि कोही किन यत्रो दुःख गरेर सर्जन बन्छ र!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
