श्रीलंकामा बाढीपहिरो: मृत्यु हुनेको संख्या ५६ पुग्यो

बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।

श्रीलंकामा लगातारको भारी वर्षापछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलंका संकटमा परिरहेको छ। बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन् भने थुप्रै स्थानमा पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ। 

राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलियाको मध्य पहाडी क्षेत्र बढी प्रभावित बनेका छन्। त्यहाँ बिहीबार गएको पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीले बताएका छन्।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला र नुवारा एलिया क्षेत्रमा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन्। साथै, देशका अन्य धेरै भागमा खसेका पहिरोका कारण थप व्यक्तिले ज्यान गुमाउनुपरेको छ। 

लगातारको भारी वर्षाले जलाशय तथा नदी भरिँदै गएको र सडक अवरुद्ध भएको जनाइएको छ। ढुंगा, माटो तथा रुख सडक र रेलमार्गमा खसेपछि थुप्रै ठाउँमा यातायात सेवा बन्द गरिएको छ। केही स्थानमा रेल सेवासमेत रोकिएको छ।