एजेन्टको आन्दोलनले देशभरको भन्सार जाँचपास ठप्प

मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ का प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्।

काठमाडौँ– भन्सार एजेन्टको आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ। सरकारले मंसिर २० गतेदेखि भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ लागू गरेको थियो। 

यसका प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्। आन्दोलनका कारण मंगलबार देशभर पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो। 

बुधबार पनि पेनडाउन गर्ने भन्सार एजेन्ट महासंघले जनाएको छ। भन्सार जाँचपास नहुँदा देशैभरका भन्सार कार्यालयबाट राजस्वसमेत असुली हुन सकेको छैन।

भन्सार एजेन्टमार्फत गरिने कुनै पनि काम नभएको कारण आयात–निर्यात प्रभावित भएको छ। ऐनमा रहेका व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। 

तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएको भन्दै भन्सार जाँचपास नै अवरुद्ध गर्नु परेको महासंघको भनाइ छ।

भन्सार ऐनमा अव्यवहारिक व्यवस्था रहेको महासंघको दाबी छ। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२  बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिए। 

भन्सार विभागले एजेन्टका जायज माग सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको बताए।