परिवर्तन सम्भव छ भनेर अगाडि सरेका महिलाको यस्तो व्यवहारबाट के सिक्ने? कक्षा १२ पढ्दै गरेका जानकी नेपालीजस्ता जल्दोबल्दो युवाले के सिक्ने? के आस गर्ने?
म महिला, त्यसमा पनि उत्पीडित समुदायको! मलाई मेरा दुवै पहिचान जोखिमयुक्त लाग्छन्। दुवै पहिचानले दक्षिण एसियाको समाजमा गरीमा पाउन सकेको छैन। यस समाजमा धेरै हदसम्म स्वतन्त्र र स्वच्छन्द बन्न उच्च भनिने समुदायको पुरुष हुनुपर्छ। जोखिमयुक्त पहिचान बेलाबेला मेरो उडानमा तगारो बन्छ। मैले थप प्रयत्न गर्नुपर्छ र उल्झन झेल्नुपर्छ। संरचनात्मक लाभको खुड्किलोमा भन्दा अगाडि उभिएकाहरूलाई चाहिँ शायद मेरा यस्ता कुरा गनगनझैं लाग्दो हो।
दलित समुदायमा जन्मेकाको सीमा यो हो भनेर समाजले मलाई सानो उमेरदेखि नै सिकायो। आज पर्यन्त सिकाउन खोजिरहेछ। यति धेरै क्रान्ति र परिवर्तनपश्चात् पनि मलाई समाजले त्यसैगरी पोलिसिङ गर्ने (मनोवैज्ञानिक रूपमा धम्क्याउने) काम गरिरहेछ।
'विषाक्त पानी'
केही पहिले सुदूरपश्चिमको डोटी पुगेको थिएँ। एक कार्यक्रममा विभिन्न समुदायबाट आएका लगभग २५ महिला थिए। सारा घरका काम र परिवारको जिम्मेवारीबाट समय निकालेर दुई दिन घरबाहिर नयाँ कुरा सिक्नका लागि उनीहरूले समय छुट्याउन सकेको देख्दा खुसी लागेको थियो।
कार्यक्रम सुरु हुँदै गर्दा सहभागीहरू जम्मा हुँदै थिए। कार्यक्रम कक्षको एउटा कुनामा पानीको कार्टन राखिएको थियो। जेठ महिनाको धूप, एक महिलाले पिउने पानी मागिन्। कार्यक्रमको स्वयंसेवकका रूपमा रहेकी एक बहिनी (जो दलित समुदायकी थिइन्) पानी दिन उठिन्।
तर उनी पानी लिन जानुभन्दा अगाडि नै एक परिपक्व देखिने महिलाले हत्त न पत्त कार्टनबाट दुई चार बोतल पानी लिइहालिन् र आफुसँगैका अन्य महिलालाई दिन भ्याइहालिन्। उनको हरकत किन पनि अस्वाभाविक देखियो भने अर्को बहिनी त्यही पानी लिन जाँदै थिइन्। केही क्षण हेरेको हेर्यै भएँ। ती पाको महिलाको जात/थर हेरेपछि कुरो प्रस्ट भयो। उनी तथाकथित उच्च जातको थिइन्।
दिउँसोको खाजाको समय भयो। आफूलाई श्रेष्ठ नस्ल/रगतको ठान्ने केही महिला दलित महिलाबाट अलग बसेर खाजा खान थाले। केही सिक्न आएका यी महिलाहरूले त्यहाँ प्रदर्शन गरेको व्यवहार देखेर उदेक लाग्यो।
दोस्रो दिनको कार्यक्रमको सुरुवातमा कार्यक्रममा सहभागी जानकी नेपाली बहिनीले असहमतिको हात उठाइन्। विभेदमा जकडिएका यी महिलाप्रति लक्षित गर्दै भनिन्, "तपाइहरू समाज परिवर्तन हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रममा आउनुभएझैँ लाग्छ, तर हिजो बेलुका हामीसँग छुट्टिएर घर जाने बेला किन 'सुनपानी' हालेर जानुभयो?"
नयाँ पुस्ताका कतिपय मित्रलाई अनौठो लाग्ला–मान्छेलाई 'चोख्याउने' एउटा विचित्रको विभेदकारी अभ्यास हो-सुनपानी। तपाईँ कथित उच्च जातको हुनुहुन्छ र तपाईँले झुक्किएर कथित तल्लो जातको व्यक्तिलाई छुन पुग्नुभयो भने तपाईँ बिटुलिनुभयो रे! सुनमा डुबाएको पानी छर्केपछि भने तपाईँ पुनः 'शुद्ध' हुन सम्भव छ! अहिले पनि समाजमा यो घिनलाग्दो र अमर्यादित हरकत जारी छ। ती महिलाले पनि अघिल्लो दिन आफ्नो कानमा लगाएको गहना पानीमा डुबाएर सोही पानी आफूलाई छर्केका थिए।
जानकीजीको त्यो प्रश्नले ती महिला अक्क न बक्क परिन्। एक छिन कार्यक्रमका सबै सहभागी चुप रहे। सहभागीमध्ये केही बिस्तारै नयाँ नयाँ बनावटी उत्तर दिन थाले। एक महिलाले आफू महिनावारी भएकाले सुनपानी छर्केको बहाना सुनाइन्। (महिनावारीको सार्वजनिक छोइछिटो आफैमा अपराध हो।) अर्की दिदीले "मेरो व्रतमा कसैलाई छुँदिन" भन्नसमेत भ्याइन्। अर्की महिलाले "आफ्नो इच्छा हुन्छ, कोसँग बसेर खाने र कसलाई छुने नछुने" भन्नसमेत भ्याइन्। लाज पचाएर कुतर्क राखिरहँदा उनीहरूले के भुलिरहेका थिए भने यो सार्वजनिक कार्यक्रम थियो। यहाँ सबैले जानीजानी सबैलाई 'छोइएकै' हुन्थ्यो।
यो सबै सुनेपछि जानकी कार्यक्रम हलबाट बाहिर निस्किइन्। म उनको पछिपछि लागेँ। उनले भावुक हुँदै भनिन्, "हामी मान्छे हौँ भन्ने कुरा कहिले अनुभूत गर्न पाउने?" उत्तर मसँग पनि नभएपछि मौन भएँ।
महिला अधिकारको लागी भान्सादेखि संसद् भवनसम्म आवाज उठाउन हामी सबै निरन्तर जुटिरहँदा एउटा महिलाले अर्को महिलालाई जातको आधारमा यो स्तरको व्यवहार गर्दा समताको हाम्रो अभियानले कहिले सार्थकता पाउला?
परिवर्तन सम्भव छ र हुनपर्छ भनेर अगाडि सरेका महिलाको यस्तो व्यवहारबाट समताको अभियानमा हिँडेकाले के सिक्ने? कक्षा १२ पढ्दै गरेका जानकी नेपालीजस्ता जल्दोबल्दो युवाले के सिक्ने? के आस गर्ने?
…
यो समाजको अर्को विचित्र स्वभाव के छ भने यहाँ 'मायाप्रेम गर्न' जात चाहिन्न। तर विवाहका लागि भने चाहिन्छ। विवाहसम्म कुरा पुग्दा घरकाले मानेनन् भन्ने बहाना बनाउँदै छोड्ने अभ्यास छ। आखिर 'प्रेमको मजा' जो लिइसकियो!
गोरखा सहिद लखन गाउँपालिका १ बक्राङकी मनिका परियार नेवार समुदायको केटासँग प्रेममा परिन। केटाले घर परिवारसँग जात ढाँटेर विवाह गर्यो, पछि घर परिवारमा थाहा हुँदै जाँदा गर्भवती भएको अवस्थाकी मनिकालाई नै छोडेर केटा भाग्यो। एक महिनाको शिशु र आफूलाई स्याहार्दै टिनको छानामुनि जीवन गुजारिरहेकी छन् मनिका।
केही महिनाअघि मात्र ठुलो जातको भनिने केटासँग जनकपुरकी दलित समुदायकी अन्सा सदा (मुसहर) ले बिहे गरिन्। 'सानो जात'को भन्दै उनलाई प्रताडित गरिएपछि मानसिक तनावका कारण आत्महत्या गरिन्।
यौन अपराधमा उच्च जातिको भनिने महिला नै पीडामा छन्। तर जब दलित महिला घर, परिवार र लोग्नेबाट हिंसामा पर्छन्, तब तिनमा न बोल्न आँट हुन्छ, न त तिनका लागि कोही बोलिदिन्छ। अन्यबाट हुने दुर्व्यवहार र बलात्कारमा समेत उनको पक्षमा उभिइदिने कोही हुँदैन। त्यसमाथि, बलात्कार/यौनहिंसा प्रतिको घृणा समाजमा यति विषाक्त छ कि 'इज्जत जाने' डरले महिला बोल्न डराउँछन्। र, उत्पीडनको पिँधमा रहेका समुदायका महिलाको बलात्कार र हत्या हुँदा शासक पक्षीय राज्यले तदारुकतासाथ अनुसन्धान समेत गर्दैन।
यस्ता घटनामा दलित महिलाले न्याय माग्दा तिनको आवाज दबाइन्छ, धम्की दिइन्छ या उजुरी नै दर्ता हुँदैन। पीडित दलित महिला प्रहरीमा उजुरी गर्न गए प्रहरीले नै त्यसलाई गम्भीरतापूर्वक लिँदैन। 'मिलापत्र' गर्न सल्लाह दिन्छ।
…
नेपाल प्रहरीको विवरणअनुसार कुल हिंसापीडितमा दलित महिलाको ११.५४ प्रतिशत र दलित बालिकाको १९.४४ प्रतिशत हिस्सा छ। राष्ट्रिय महिला आयोगमा दर्ता भएका हिंसाका घटनामा दलित महिलाको हिस्सा ११.३४ प्रतिशत रहेको तथ्यांक छ। ओरेक नेपालको तथ्यांकअनुसार हिंसापीडित महिलामध्ये दलित महिलाको हिस्सा २७ प्रतिशत छ। साथै, इन्सेकको अभिलेखमा हिंसामा पर्ने दोस्रो बढी महिलामा दलित छन्; जसमा दलित महिलाको हिस्सा २२.५८ प्रतिशत देखाइएको छ।
नेपालमा दलित महिलामाथि हुने बलात्कार र यौनजन्य हिंसाका घटना प्रायः गरिबी, शिक्षा र अवसरको अभावसँग मात्र नभई सामाजिक हैसियतको असमानतासँग जोडिएका हुन्छन्। धनी र उच्च भनिइने जातका पुरुषले दलित महिलालाई सजिलै नियन्त्रण गर्न सकिने वस्तु वा मनोरञ्जनको साधनझैँ व्यवहार गर्छन्। (आफ्नै समुदायका ले गर्ने उत्पीडन पनि छँदै छ।)
विभेदका हरेक तह केलाउँदै जाने हो भने दलित महिलाको स्थिति अति दयनीय र कष्टकर छ। महिलाको मुख्य जिम्मेवारी खाना पकाउने, सफा गर्ने, बालबच्चा हेरचाह गर्ने र परिवारका सदस्यको सेवा गर्ने हो भन्ने मान्यता समाजमा गहिरोसँग गढिएको हुन्छ। उनीहरूको कामलाई ज्यालामा मापन गर्ने चलन पनि त छैन। अधिकांश महिलाले गर्ने कामलाई ‘जाबो काम’को ट्याग आज पनि उस्तै सुनिन्छ। यो सोच दलित समुदायमा पनि व्याप्त छ।
…
शरद पौडेलको 'लिखे' उपन्यासमा वर्णित चाउरी दमिनीको हालत धेरै महिला र दलित महिलाको हो। महिलाको श्रमलाई श्रमको रूपमा होइन, कर्तव्यको रूपमा लिने सोचले महिलाको अस्तित्व मात्र नभई आत्मविश्वास र स्वतन्त्रता पनि दबाइएको छ।
बि.सं २०७८ को दलितसम्बन्धी तथ्यांकीय प्रतिवेदनअनुसार नेपालमा ५ देखि २५ वर्षसम्मको कुल जनसङ्ख्याको ८.१ प्रतिशत मानिस कहिल्यै विद्यालय नगएकामा, दलिततर्फ यही उमेर समूहमा १३.१ प्रतिशत जनसङ्ख्या कहिल्यै विद्यालय नगएको देखिन्छ। ५ देखि २५ वर्ष उमेर समूहका दलित महिलामध्ये ३१.६ प्रतिशत विद्यालय गएकै छैनन्।
दलित समुदायका छोरीको शिक्षामा पहुँच नहुनुका पछाडि सामाजिक, सांस्कृतिक र आर्थिक कारण जिम्मेवार छन्। धेरैजसो अवस्थामा परिवारबाटै छोरीलाई विद्यालय पठाउन अवरोध देखिन्छ। गाउँमा असुरक्षाको डर, आवास, विद्यालय, यातायात र स्वास्थ्य सेवाजस्ता भौतिक सुविधाको अभावका कारण पनि बालिकाको शिक्षामा बाधा पुगेको छ।
बाबुआमा काममा जाँदा भाइबहिनीको हेरचाहको जिम्मेवारी पनि बालिकालाई नै दिइन्छ, जसका कारण तिनको अध्ययन रोकिन्छ। बाउआमा बिरामी भएको अवस्थामा हातमुख जोर्नकै लागि सानै उमेरमा मजदुरी गर्नुपर्ने बाध्यताका कारण पनि कतिपय छोरीको पढाइ रोकिन्छ। दलित समुदायमा बाल विवाह अर्को गम्भीर समस्या हो, जसले बालिकाको अध्ययन रोकिइने गरेको छ। विवाहपछि शिक्षामा निरन्तरता दिनुपर्छ भन्ने सोच नहुनु र विवाहपछि शिक्षामा रोक लगाइनु प्रमुख अवरोध हो।
दलित महिलाको जमिनमा पहुँच र नियन्त्रण अत्यन्त सीमित छ, जसका कारण उनीहरू सिधै खाद्य असुरक्षाको चपेटामा पर्छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको दलित सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन २०७८ अनुसार, नेपालका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये करिब २४ प्रतिशत परिवारका कम्तीमा एक जना महिलाको नाउँमा घर वा जग्गा वा घरजग्गा दुवैमाथि स्वामित्व रहेको देखिन्छ।
दलित र गैरदलित जातजातिमा यसलाई बाँडेर हेर्दा १५.७ प्रतिशत दलित परिवारभित्र कम्तीमा एक जना महिलाको नाउँमा जमिनको स्वामित्व छ भने गैरदलित जातजातिको राष्ट्रिय औसत दलितको भन्दा ९.४ प्रतिशत विन्दुले बढी अर्थात् २५.१ प्रतिशत छ। हिमाल, पहाड र तराईका महिलाको घरजग्गामाथिको स्वामित्व एकनास नरहेको स्पष्ट देखिन्छ।
दलित र गैरदलित जातजातिको तथ्याङ्क तुलना गर्दा पहाडका १४.२ प्रतिशत दलित परिवारका महिलाको घर वा जग्गा वा ती दुवैमाथि स्वामित्व स्थापित देखिन्छ भने गैरदलित जातजातितर्फ पहाडमा यो मान २३ प्रतिशत छ। तराईमा गैरदलित जातजाति र दलित जातजातिका महिलाको सशक्तीकरणको अवस्थामा उल्लेख्य भिन्नता रहेको स्पष्ट हुन्छ।
गैरदलित जातजातिका २८.४ प्रतिशत परिवारमा महिलाको नाउँमा घरजग्गामाथि स्वामित्व छ भने दलिततर्फ यो मान १०.६ प्रतिशत विन्दुले न्यून अर्थात् १७.८ प्रतिशत मात्र रहेको छ। रोजगारीका अवसर र जीविकोपार्जनका विकल्पमा दलित महिलाको पहुँच निकै कम छ। दलित पुरुषलाई जति अवसर छन्, त्यति दलित महिलालाई छैन।
यसरी, लैङ्गिक तथा जातीय विभेदको दोहोरो भारले दलित महिलालाई अझ बढी वञ्चित र कमजोर बनाएको छ। यसले समग्र दलित महिला समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा बाधा पुर्याइरहेको छ।
बोक्सीको आरोपमा पिटाइ खाने र हिंसा भोग्ने पनि दलित महिला नै हुन्छन्, धारा, मन्दिरमा धेरै हिंसामा पर्ने पनि दलित महिला नै हुन्छन्। तर यी सबै घटनालाई सामान्यीकरण गरिन्छ। त्यसैले हरेक दलित महिला समाजदेखि राज्यसम्मको दलन/पेलानमा छन्। यस्तो विषमतापूर्ण अभ्यास र संस्कृतिलाई बिदाइ गर्ने बेला भएन यस युगका नवपुस्ता? सबै तरिकाले भिड्न ढिला भएन र?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
