गत वर्ष असोजमा भएको ठूलो जनधनको क्षतिबाट पाठ सिक्दै यस वर्ष सरकार र सरोकारवालाले विपद् व्यवस्थापनमा तदारुकता देखाए। सरकारको यो सक्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म चर्चाको विषय बनेको छ।
काठमाडौँ– असोज १७–१९ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो, चट्याङ र सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबार मध्याह्नसम्म ४६ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ठूलो जनधनको क्षति हुँदा पनि यो वर्ष विपद्मा सरकारको उपस्थिति देखिएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
यसरी प्रशंसा गर्नेहरूले गत वर्ष भएको क्षति र सरकारको प्रयासको तुलना गरेका छन्। गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछिको विपद्मा २४९ जनाको ज्यान गएको थियो र १८ जना बेपत्ता भएका थिए। काठमाडौँमै बाढीमा फसेकाको उद्धारमा समेत सरकार चुकेको थियो।
गत वर्ष नक्खु खोलाले बगाउन थालेपछि टहरामाथि चढेर गुहार मागिरहेका चार जना श्रमिकको करिब तीन घण्टासम्म उद्धार हुन सकेन। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलिटी’ नपुगेका कारण उद्धारमा हेलिकप्टर पठाउन नसकिएको बताएका थिए। उनको स्पष्टीकरणको पनि सञ्जालमा आलोचना भएको थियो।
यो वर्ष काठमाडौँ उपत्यकाका नदी किनार बस्ने करिब ३०० परिवारलाई असोज १७ गते राति नै विभिन्न विद्यालयमा सारिएको थियो। उद्धारका लागि सरकारका सबै निकायलाई ‘अलर्ट’ राखिएको थियो।

बाढीपहिरोको कहरकै बीच प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई सम्बोधन गरी अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गर्नुका साथै अप्ठ्यारोमा पर्दा सरकारलाई गुहार्न आग्रह गरेकी थिइन्। प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र डुबान तथा पहिरोको जोखिम क्षेत्रमा सावधानी अपनाउनसमेत अपिल गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीको सम्बोधन सामाजिक सञ्जालमा सरकारको जनताप्रतिको जिम्मेवारी र हेक्काको उदाहरण बन्यो। मन्त्री कुलमान घिसिङ वर्षातकै बीच छाता ओढेर निरीक्षणमा निस्किएका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताले यो र गत वर्षको विपद्को समयसँग सरकारी कामकारबाहीको तुलना गर्ने गरेका छन्।
गत वर्षको विपद्का बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा थिए। बाढीपहिरोको कहरमा पनि भ्रमण छोट्याएर तुरुन्त स्वदेश नफर्किएको भन्दै उनको आलोचनासमेत भएको थियो। मुख्यसचिव एकनारायण अर्याल गृहजिल्ला (स्याङ्जा)मा बाजागाजासहित नागरिक सम्मान ग्रहण गर्नमा व्यस्त थिए। मन्त्रिपरिषद्को बैठकधरि बस्न सकेको थिएन।
सरकारको पूर्वतयारीका विषयमा प्रश्न उठ्दा, तत्कालीन प्रधानमन्त्री ओलीले कटाक्षपूर्ण टिप्पणी गरेका थिए। अमेरिका भ्रमणबाट स्वदेश फर्किएपछि सोधिएको प्रश्नमा ओलीले भनेका थिए, “कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र? अमेरिका भ्रमण गाई दुहुन गएर दूध ल्याएको जस्तो होइन।”
तर, यसपटक सरकारले विपद्का बेला उच्च सक्रियता देखायो। जोखिमयुक्त ठाउँमा सवारीसाधन सञ्चालन गर्न दिइएन। अलपत्र परेका यात्रुका खाना र बासको बन्दोबस्त गर्न गृह मन्त्रालयले सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दियो। सरकारी सक्रियतापछि निजी क्षेत्र पनि अघि सर्यो। राजमार्ग क्षेत्रका होटल–लजले सामाजिक सञ्जालमार्फत निःशुल्क तथा भारी छुटमा भोजन र बासको घोषणा गर्ने लहर चलेको थियो।

अवरुद्ध सडकको अवस्थाबारे सूचित गरी वैकल्पिक सडक प्रयोगका लागि आग्रह गरिएको थियो। अहिले पनि नारायणगढ– मुग्लिङ, बुटवल, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सडक, पृथ्वी राजमार्ग सतर्कताका साथ चलाउन तथा बीपी राजमार्गको नेपालथोक –चौकीडाँडा सडकमा अस्थायी ट्रयाकमार्फत यातायात सञ्चालन र यात्रा सहजीकरण भइरहेको छ।
दशैँ मनाउन थातथलो पुगेका र घुमघाममा निस्केका आन्तरिक तथा बाह्य पर्यटकको यातायातका लागि प्रभावित राजमार्गमा हप्ता दिनमा मर्मत गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता सडक विभागले जनाएको छ। नेपाल वायुसेवा निगमले भैरहवाबाट बिरामी, वैदेशिक रोजगारी तथा अध्ययन गर्न विदेश जाने लागेका लागि प्राथमिकता दिँदै ‘चार्टड फ्लाइट’समेत गरेको छ।
भौतिक–भर्चुअल माध्यममा सरकार
यस वर्षको क्षति न्यूनीकरणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेठमै बनाएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ को कार्यान्वयन महत्त्वपूर्ण रहेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार जल तथा मौसम विभागको पूर्वानुमानअनुसार नै असोज १७ र १८ गते अविरल वर्षा भए तापनि, पूर्वानुमानका सूचनादेखि सरोकारवाला निकायसँगको पूर्वतयारीको तालमेल राम्रो रह्यो।

कार्ययोजनामा निर्देशित गरिएअनुसार सरकार, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, यातायात व्यवसायी तथा नागरिक समाजले आ–आफ्नो जिम्मेवारी बहन गर्दा क्षति न्यूनीकरण भएको उनले बताइन्।
“जिम्मेवारी किटान गरिएको कार्ययोजना बनाएको जेठमै हो,” प्रवक्ता महतले भनिन्, “तदनुरूप नै वडास्तरदेखि संघीय तहका निकायहरू तयारी अवस्थामा रहे।” यसबाहेक, एसमएमस, ब्याक रिङटोन, माइकिङदेखि सामाजिक सञ्जालमार्फत प्रवाह भएका सूचनाले पनि यसपटकको विपद्मा क्षति न्यूनीकरणमा सहयोग पुर्याएको उनको भनाइ छ।
प्राधिकरणकी प्रवक्ता महत प्राकृतिक विपद्मा शून्य गराउन नसक्ने यथार्थलाई पनि औँल्याउँछिन्। जसको उदाहरण बन्यो इलाम। “यस्ता विपद्मा जनधनको क्षति शून्य नै गराउन सकिने स्थिति त हुँदैन तर, जसरी बाढीको जस्तै पहिरो पूर्वानुमान गर्ने प्रविधि विकसित नभइसकेको कारण हामी पछि परिरहेका छौँ,” उनले भनिन्।
स्थानीय तहमा प्रभावकारी समन्वय
गत वर्ष समन्वय अभावमा नख्खु खोलाले चार जनालाई बगाएको घटना ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका लागि पनि तीतो अनुभव थियो। सोही कारण यसपटक बागमती, कर्मनासा, नख्खु लगायतका खोला किनारामा वर्षाअघि नै व्यापक माइकिङ गर्नुका साथै जोखिम क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको उनले बताए। काठमाडौँ महानगरमा पनि जोखिमयुक्त बस्ती नजिकका स्थानीयलाई सामुदायिक विद्यालयमा सारिएको थियो। सुरक्षाकर्मीको सहयोगले काम सहज भएको घिमिरे बताउँछन्।
चार दिन भारी वर्षा हुने पूर्वानुमानअनुसार पालिका र वडास्तरसम्मै सम्भावित जोखिमको पहिल्यै आकलन गरिएको थियो। “यो विपद् पूर्वतयारी कार्ययोजना–२०८२ अनुसार नै चलेको हो,” प्रमुख जिल्ला अधिकारी घिमिरे भन्छन्।
कान्तिलोक पथमा ६ वटा रिस्क पोइन्टको पहिचान गरी समयमै यातायात रोक लगाइएको थियो। साथै, अवरोध भएका स्थानका लागि स्क्याभेटर पनि तयारी अवस्थामै राखिएको थियो। उनका अनुसार, सुरक्षाकर्मी, सेनादेखि सडक र पूर्वाधार विकासका सबै कर्मचारीलाई ‘स्ट्यान्ड बाइ’ राखिएका कारण सडकको अवरोध हटाउन सकियो।

“गत वर्षको तुलनामा वर्षा कमै भयो, क्षति पनि कम भयो। यस्तोमा अघि र पछि के कस्ता कमीकमजोरी भएभन्दा पनि आगामी समय जोखिम कसरी नियन्त्रण गर्न सकिन्छ त्यसमा फोकस हुनुपर्ला,” घिमिरे भन्छन्।
गत वर्षको घटनाबाट पाठ सिकेर विपद् व्यवस्थापनका सामग्री थपेको उनले बताए। ललितपुर महानगरदेखि लायन्स लगायतका क्लबले लाइभ ज्याकेट, ढुंगालगायतका साधनस्रोतको व्यवस्थापन गरेका थिए।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले बाढीपहिरोका कारण राजमार्ग अवरोध भएपछि विपद् व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयबीचको समन्वय अझ महत्त्वपूर्ण रहेको औँल्याएका छन्। गत वर्ष अविरल वर्षाकै क्रममा यातायात सञ्चालनमा हुँदा धादिङस्थित झ्याप्लेखोलामा बाढीले गाडी बगाएर ३५ जनाले ज्यान गुमाएका थिए।
यसपटक सावधानी अपनाउँदा जिल्लामा हालसम्म जनको क्षति शून्य रहेको धादिङका सूचना अधिकारी मोहनप्रसाद न्यौपानेले बताए। गत वर्षको दुर्घटना प्रशासन र सुरक्षा निकायका लागि ठूलो पाठ बनेको भन्दै उनले भने, “यसपटक हाम्रो टिमवर्क राम्रो रह्यो यसकारण पनि सम्भावित चेक पोइन्टमा परिस्थितिअनुसार यातायात सञ्चालन र आवगमनमा रोक लगायौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
