नियात्रा
बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ। बुद्धले ज्ञान प्राप्त गरेको बरगद (बर) को रूखमुनि भन्ने प्रस्तुति महत्त्वपूर्ण रह्यो।
दक्षिण-पूर्वी एशियाका निकै धेरै ठाउँमा समान खालका स्तम्भहरू भेटिए पनि ती सबै अशोककै हुन् भन्नेमा विरोधाभास भेटिन्छ। 'बुद्ध नेपालमै जन्मेका हुन्' लेखिएको स्तम्भ तिनैमध्ये एक हो। लुम्बिनीमा रहेको त्यही स्तम्भले बुद्धको जन्मथलो चिनाएको हो। उक्त स्तम्भलाई 'अशोक स्तम्भ' भनेर चिनिन्छ। तर, सम्राट् अशोकको नाम उनका शिलालेखमा कहीँ पनि उल्लेख भएको भेटिन्न।
स्मारकमा उत्कीर्ण शिलालेखमा 'देवानाम पियदस्सी' (देवानाम प्रियदर्शी) उपाधिबाट सम्बोधन गरिने एक शासकबारे उल्लेख छ। उनले लुम्बिनीका स्थानीय समुदायलाई करबाट मुक्ति दिएका थिए भन्ने उल्लेख छ। तर यो सम्मानजनक उपाधिबाट कुन शासकलाई चिन्ने भन्ने प्रश्न पहिले पहिले अनुत्तरित थियो। विशिष्ट राजवंश शासक चिन्ने महत्त्वपूर्ण कडी हराइरहेको थियो।
बुद्धको अस्तित्व नै करिब एघारौँदेखि १९औँ शताब्दीसम्म ओझेलमा परेको थियो। भारतमा बेलायतको शासन हुँदा कनिङ्घम र होजसनले सामुएल बेलद्वारा अनुवादित ह्वेनसाङको वृत्तान्त पढेपछि बुद्धको इतिहास उजागर हुँदै गएको हो। लुम्बिनी पनि त्यसैमध्ये एक कडी हो।
त्यस्तै, अर्को कडी साँचीका स्तूपहरू पनि हुन्। भारतको मध्यप्रदेशको विदिशा शहरनजिक ती स्तूपहरू छन्। सयौँ वर्षसम्म प्राचीन ब्राह्मी लिपिको प्रचलन हराएकाले उक्त लिपी पढ्न सकिएको थिएन। त्यसले गर्दा स्तम्भको वास्तविक ऐतिहासिक महत्त्व अनुसन्धानकर्ताहरूका लागि चुनौती बनेको थियो।
सावधानीपूर्वक प्राज्ञिक कडीहरू जोडेर उक्त प्रश्नको समाधान खोजिएको हो। सर्वप्रथम प्राच्यविद जेम्स प्रिन्सेपले सन् १८३७ मा ब्राह्मी लिपिलाई डिकोड गरेर अर्थ निकाल्न सफल भए। उनको योगदानबाट दक्षिण एसियाका धेरै शिलालेखहरूमा 'देवानाम प्रियदर्शी' उपाधि उल्लेख गरिएको पुष्टि भयो। उक्त उपाधिलाई अशोकसँग सीधा जोड्ने अन्तिम र अकाट्य प्रमाण भने साँचीको स्तूपबाट उजागर हुन पुग्यो।
बुद्धले महानिर्वाण प्राप्त गरेपछि उनका अस्थिहरू अनुयायीहरूले आठ भागमा विभाजन गरेका थिए। सो वितरणका विषयमा विवाद रहेको भनाइसमेत पाइन्छ। त्यसमध्ये अहिले नवलपरासी जिल्लामा पर्ने रामग्रामको स्तूप भित्रको अस्थि जस्ताको तस्तै रहेको मान्यता छ। अन्य सात स्तूपबाट अस्थि झिकेर सम्राट् अशोकले ८४ हजार भाग लगाएर विभिन्न ठाउँमा स्तूप बनाएको बताइन्छ। अस्थिलाई यति धेरै भाग लगाउन सम्भव होला-नहोला, यसबारे छुट्टै चर्चा गर्न सकिन्छ। तर त्यसबारे महापरिनिर्वाण सूत्रमा उल्लेख छ। अस्थिहरू लोटाभित्र राखेर घोप्टाएर राखिएकै ढाँचामा स्तूपहरू बनाउने चलन छ। हेर्दा पनि स्तूपहरूको आकार घोप्टाएको लोटाझैँ देखिन्छ।
सन् १५०-७० मा नागार्जुनले बुद्ध दर्शनलाई महायान सम्प्रदायका रूपमा सुरुवात गरेको मानिन्छ। त्यसपछि मात्र बुद्धका चित्र र मूर्तिहरू बनाउन, स्थापना गर्न र पुज्न थालिएको हो। त्यसअघि बुद्ध दर्शनलाई थेरवादका रूपमा 'व्यक्ति' नभएर 'विचार' पुज्ने तथा मनन गर्ने चलन थियो। बुद्धका सबै सम्प्रदायले बुद्धलाई सम्झने माध्यमका रूपमा उनका स्तूपलाई बुझ्ने र बुझाउने गर्छन्।
बुद्धका मात्र नभई बुद्धका चेलाहरूको अस्थि राखिएका स्तूपहरू पनि छन्। साँचीका बासिन्दाले 'बहु-बेठा' भन्ने गरेको तुलनात्मक रूपले बुद्धको स्तूपभन्दा सानो स्तूपमा सरिपुत्र (सरिपुत्त) र मौद्गल्यायन (महामोग्गल्लान) को अस्थि राखिएको छ।
साँचीका एक टुरिस्ट गाइड स्थानीय नै रहेछन्। त्यहीँ जन्मे-हुर्केका। यही अक्टोबर १८ का दिन उनीसँग आफ्नो मनको खुल्दुली उनलाई सोधिहालेँ। ती स्तूप बुद्धसँग सम्बन्धित हुन भन्ने थाहा नहुँदासम्म उनका बाजेबजैहरूले ती स्तूपलाई के भन्थे?
स्थानीय जनताले ठूलो स्तूपलाई 'सास बेठा' र साना स्तूपलाई 'बहु बेठा' भन्ने गरेको बताए। हाम्रै छिमेकी गाउँमा मैले देखे-भोगेजस्तो गुइँठा बनाउने प्रचलन उक्त विषयसँग जोड्दै उनले व्याख्या गरे। तराइका गाउँमा चुलोमा बाल्न दाउराको विकल्प र सहयोगीका रूपमा गुइँठा तयार गरिन्छ। गोबर र भुस मिसाएको डल्लो भित्तामा टाँसिन्छ। घाममा सुकेपछि गुइँठा तयार हुन्छ।
त्यस्तै गुइँठा बनाएर सुकाउने थुम्कोलाई स्थानीय भाषामा 'बेठा' भन्छन्। ठूलो स्तूपलाई सासुले गुइँठा टास्ने सोचाइका साथ 'सास बेठा' भन्ने चलन बसेछ। सासूभन्दा बुहारी मान क्रममा सानो मानिने हुनाले साना स्तूपलाई 'बहु (बुहारी) बेठा' भन्ने गर्थे।
सामान्यतया गुइँठा बनाउन घर छेउमा भत्केका पर्खालका अवशेषजस्ता भित्ताहरू प्रयोग गरिन्छ। तर, व्यवस्थित रूपमा बनेका ती स्तूपलाई स्थानीय जनताले गुइँठा बनाउन तयार पारेको रूपमा बुझेका रहेछन्। स्तूपको अर्थ त्यस्तै गुइँठाहरू टाँसेर सुकाउन बनाएको ढिस्कोको अर्थमा नामकरण गरेको अर्थ देखियो।
दार्शनिक इम्यानुअल कान्ट पूर्व ज्ञानबाट र डेभिड ह्युम आदतबाट मानिसले धारणा बनाउँछ भन्छन्। साँचीका नागरिकलाई गुइँठा बनाउने पूर्वज्ञान थियो। गुइँठा टाँसेर सुकाउने बानी थियो। त्यसैअनुसार बुझे र त्यसै अनुसार स्तूपको नामकरण गरेका थिए।
अस्थिहरू राखिएका स्तूपसम्बन्धी ती तथ्यले पहिले बुद्ध दर्शनबाट प्रभावित जीवनशैली यहाँ विस्तार भएको देखाउँछ। तर, बेलायतीले खोज गर्दा सम्मको बीचको कालखण्डमा बुद्धको दर्शनलाई आदर्श मान्ने जीवनशैली यहाँबाट हराएको पुष्टि हुन्छ। म साँची पुग्दा मेरो मस्तिष्कमा बुद्ध विषयमा जुन ज्ञान थियो, त्यसकै आधारमा मैले ती स्तूपलाई बुझिरहेको थिएँ। जबकि, ती गाइडका पूर्वजलाई बुद्धका विषयमा ज्ञान थिएन। त्यसैले गुइँठा विषयमा भएको ज्ञानको भरमा सास र बहु बेठा नामकरण गरेका रहेछन्।
ती गाइडको परिचयपत्र पढ्न नमिल्ने गरी घाँटीमा झुन्डिएको थियो। सोध्दासमेत उनले आफ्नो नाम बताएनन्। मैले उनलाई कुनै फिस नतिरेको कारण पो उनले त्यसो गरे कि? भोलिपल्ट स्तूप भएको थुम्कोको परिसरमा रहेको सङ्ग्रहालयमा खटिएका सुरक्षाकर्मीले पनि बेठाको प्रसङ्ग जस्ताको तस्तै बताएकाले शङ्का गर्ने ठाउँ रहेन।
अशोकले साँचीमा पनि आफ्नो व्यक्तिगत नाम कहीँ लेखाएका थिएनन्। पहिलो शताब्दी ईसापूर्वको साँचीकै एउटा शिलालेखमा भने अशोकको नाम भेटियो। उक्त शिलालेख श्री सातकर्णी नामक एक अधिकारीद्वारा प्रायोजित थियो। त्यहाँको स्मारकलाई 'भगवान् अशोकको स्तूप'को रूपमा उल्लेख गरिएको छ। साँचीको यही बाह्य शिलालेखसम्बन्धी प्रमाणले अन्तिम रूपमा अशोकको नाम पुष्टि गर्यो।
त्यसपछि बल्ल 'देवानाम प्रियदर्शी' वास्तवमै सम्राट् अशोक नै थिए भन्ने पुष्टि भएको हो। लुम्बिनीको स्तम्भले २६०० वर्षभन्दा पहिले बुद्धको जन्मस्थलको रूपमा यस ठाउँको पुष्टि गर्छ। तर यसको संरक्षकको रूपमा अशोकको भूमिका पुष्टि गर्न यसरी धेरै लामो समय लाग्यो। साँचीको प्रमाण र १९औँ र २०औँ शताब्दीको प्रारम्भिक वर्षहरूको वैज्ञानिक प्रयासहरूले यसरी सफलता हासिल गर्यो।
मेरो यस पटकको साँची यात्रा चित्रकार एमएफ हुसेनले गर्दा जुरेको हो। उनले प्रदर्शन गरेका चित्रहरूको विरोध भएको सन्दर्भमा पत्रकारलाई उनले दिएको जवाफले नै मलाई साँचीसम्म पुग्ने बनायो। देवीहरूको नग्न चित्रका सन्दर्भमा पत्रकारहरूले गरेको प्रश्नको उत्तर दिने क्रममा उनले 'त्यसको उत्तर अजन्ताका गुफामा भेटिने' बताएका थिए। तर, अजन्ताका गुफामा २०२३ को फेब्रुअरीमा पुगेपछि त्यहाँका बुद्ध अध्ययन केन्द्रका गुफाले फेरि मलाई नालन्दा विश्वविद्यालय हुत्त्यायो। गत जनवरीमा म त्यहाँ पुग्न पाएँ।
त्यो शृंखला अहिले यता लम्केको हो। बुद्ध हुर्केको आँगनबाट ८ किलोमिटर पश्चिममा जन्मनुको काकतालीले गर्दा पनि मलाई यता डोहोर्याउन मदत गरेको हुनसक्छ। पुग्न पर्ने गन्तव्यमध्ये एउटा थियो साँचीको मेलो। तर, यसपालि त्यहाँ पुग्नु अर्कै संयोगले जुराएको हो। म वास्तवमा ब्रह्मगुप्त सूत्र लेखिएको भूमि उदयगीरीका गुफा पुग्ने ध्येयसाथ त्यता जाँदै थिएँ। ती गुफा र साँची स्तूप करिब ८ किलोमिटरको दुरीमा हुनुले एकै पटक दुवै गन्तव्य पुग्ने संयोग पर्यो।
नालन्दामा आर्यभट्टले प्रतिपादन गरेका दुई सिद्धान्तमध्ये हामीले पढ्ने गणितको सिद्धान्त ब्रह्मगुप्तले तीनै गुफामा बसेर व्याख्या गरेका थिए। त्यसलाई अल ख्वारिज्मीले अनुवाद गरे, अरबीमा पढाइयो। त्यहाँबाट त्यो सिद्धान्त युरोप पुग्यो। युरोपबाट बेलायतीले भारतमा शासन गर्दा फर्किएर यतै आयो। यो लहरो बताउने पनि बेलायती नागरिक विलियम डाल्रिम्पल हुन्। द गोल्डन रोड नामको पुस्तकमा यो सन्दर्भ उनले उजागर गरेका छन्।
दिनभर स्तूप वरिपरि भ्रमण गर्दा थाहा नपाएको कुरा भोलिपल्ट म्युजियम पुग्दा थाहा पाएँ। साँझ, अँध्यारो भएपछि सङ्ग्रहालय अगाडिको पार्कमा छोटो र माथि डाँडाको स्तूपमा अलि लामो श्रव्यदृश्य प्रसारण हुने रहेछ। ती दुवै अवसर छोप्ने युक्ति जुराएँ। पार्कभित्रको छोटो प्रस्तुति हेर्ने एक मात्र ग्राहकका रूपमा म थिएँ।
त्यसको आधा घण्टापछि स्तूपमा पर्ने गरी देखाइएको प्रस्तुति हेर्ने क्रममा भने मसहित १२ जना भए। आधुनिक प्रविधिले प्रस्तुतिलाई थप रोचक बनाएको थियो। अझ एउटा जानकारी मेरा लागि विचारोत्तेजक पनि बन्यो। बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ। बुद्धले ज्ञान प्राप्त गरेको बरगद (बर) को रूखमुनि भन्ने प्रस्तुति महत्त्वपूर्ण रह्यो।
सामान्य बुद्धसम्बन्धी चर्चामा पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धले ज्ञान प्राप्त गरेको भनिन्छ। बोधगयाको त्यो पीपलको रूखमुनि करिब आधा घण्टापछि बुद्धले ज्ञान प्राप्त गरेको जनविश्वास व्याप्त छ।
तर, साँचीको अडियो भिजुअल प्रस्तुतिमा बुद्धले बरको रूखमुनि ज्ञान प्राप्त गरेको भन्नुको अर्थ सुजाताको खीरसँग हो भन्ने रूपमा मेरो बुझाइ रहेको छ। यसको तात्पर्य ध्यान गरेर बाह्य जगतबाट ज्ञान प्राप्त हुने हो कि आफूभित्र विकास गर्ने हो भन्ने गहन प्रश्नसँग पनि सान्दर्भिक छ।
खानपिन नगरेर मर्नै लागेको अवस्थामा खीर खाएपछि मस्तिष्कले काम गर्न थाल्नु नै बुद्धले प्राप्त गरेको मूल ज्ञान हो भन्ने ठान्छु। त्यस पछिको पिपलको रूखमुनि त उनले त्यस यथार्थलाई बोधसम्म गरेको हुनुपर्छ।
सुजाताको खीरले बुद्धको शारीरिक पुनर्जन्मलाई सम्भव पारेको हो। उक्त तथ्यलाई मस्तिष्क विज्ञानको दृष्टिले पनि हेर्नुपर्छ। बुद्धको जमानामा थाहा नभएका धेरै विज्ञानका तथ्य अहिले उजागर भइसकेका छन्। मस्तिष्कले कसरी काम गर्छ भन्ने विज्ञान अहिले धेरै हदसम्म चिकित्सा विज्ञानका रूपमा हेरिन्छ।
यसले संज्ञानात्मक प्रक्रियाहरूमा शारीरिक स्वास्थ्य र पोषणको गहिरो भूमिका रेखाङ्कन गर्छ। ज्ञानको खोजी केवल अन्तर्मुखी चिन्तनमा मात्र होइन, बरु एक 'बेस्ट पर्फमिङ ब्रेन'को लागि आवश्यक शारीरिक आधारभूत आवश्यकताहरू पूरा गर्नु पनि हो। यसले 'एम्बोडाइड कग्निसन'को विज्ञानसँग सम्बन्ध जोड्छ। हाम्रो शरीर, मस्तिष्क र वातावरणको अन्तरक्रियाले नै ज्ञान र बुद्धिमत्ता गठन हुन्छ। त्यसैले, बाह्य जगत् र भित्री विकासबीचको दिगो बोध नै बुद्धत्वको मार्ग हो।
(यहाँ व्यक्त विचार लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
