सडकले देखाएको समाजको ऐना

ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

अनुभव र दिक्दारीबाट प्रेरित नेपाली सहरी क्षेत्रको सडक (अ)सभ्यता माथिको टिप्पणी हो यो लेख। यो कुनै निश्चित सवारी चालकहरूलाई लक्षित गरेको जस्तो लाग्छ भने त्यस्तो लाग्नु सही हो। 

हामी सधैँ हतारमा हुन्छौँ। सधैँ पहिलो हुन चाहन्छौँ। आफ्ना कारणले अरूलाई नराम्रो असर परेको समेत हामी याद गर्दैनौँ। हामीलाई सवारीमा ब्रेक लगाउनुभन्दा हर्न बजाउन सजिलो लाग्छ। हाम्रो समाज बुझ्ने ऐना हो हामीले सडकमा गर्ने व्यवहार, जहाँ हाम्रो समाजको अर्थ-राजनीति लुकेको छ र जहाँ सक्नेले नसक्नेलाई हेपेकै छ। सडकमा हामीले विषाक्त पुरुषत्वको खुला प्रदर्शन गरिराखेका हुन्छौँ, जसमा ठूलो स्वर गर्नु र अरूलाई हेप्नु सामान्य कुरा हो, जसका कारण नेपालमा सडक दुर्घटना र मृत्युदर निकै उच्च छ। निचोडमा भन्नुपर्दा हाम्रो संवेदना मर्दै गएको छ।

कुरा धेरै नघुमाईकन अब विषय प्रवेश गरौँ।

कथन १ – हतार
हामी निरन्तर हतारमा छौँ। मानौँ धेरै कुरा छुटिरहेको छ र हामीले हतारो नगरे ठूलै क्षति हुनेवाला छ। हामी दौडिरहेका छौँ। आफूलाई हतार भएको बेला आफ्नो बाटो छेक्न कोही आउला भनेर वा आएपछि हामी त्यो अगाडीको अवरोध हटाउन प्रयासरत छौँ। बाटो छेक्नेलाई धपाउन लागिपरेका छौँ। उस्तै परे एम्बुलेन्सलाई ओभरटेक गर्छौँ वा उसकै पछिपछि कुद्छौँ।

आफूले बाइक कुदाउँदै गर्दा कसैले बाटो काट्दै छ (जेब्राक्रसिङबाटै किन नहोस्) भने हामी हर्न बजाउँदै भन्छौँ, “ओइ, बाटो छोड्!” प्रकाश सपूतको अलि पहिलेको आधुनिक दोहोरी सुन्नुभएको छ भने, “आयो तेरो सर, बाटो खाली गर!” भनेजस्तो हाम्रो सडक (अ)सभ्यता छ।

कतिपय सरकारी उच्च अधिकारी/मन्त्री तथा सेनाको गुड्दै गरेको सवारी साधनमा रहेका सुरक्षाकर्मीले झ्यालबाट हातको इसारा गर्दै “बाटो छोड्” भनेको देख्दा हाँसो लाग्छ। (जबकि, पहिल्यै उनीहरू साइरन बजाउँदै हिँडिरहेका हुन्छन्।)

अर्कोतिर लाग्छ–उनीहरू कामको चटारोमा छन्। उनीहरूले तुरुन्तै नगरी नहुने कुनै काम छ। सेवा चुस्त छ। सेवाग्राहीलाई कुनै गुनासोको मौका नै दिएका छैनन्। हामी सडकमा जसरी हतार गरिरहेका हुन्छौँ, त्यो हतारो हेर्दा त हामी काम गर्न आतुर भएर दौडादौड गर्दैछौँ र देश भकाभक बनिरहेको छ।

तर यो केको हतार हो, कसैलाई थाहा छैन। हतार भने सबैलाई भएको छ। एउटा ठट्यौली छ नि–११ बजे भेट्छु भनेको साथीलाई भेट्न घरबाट ११:३० मा निस्किएर समयमै पुग्न दौडिएजस्तो! 

कथन २ – पहिलो हुने होड
हामी सबैलाई अन्तिम वा दोस्रो हुनुभन्दा पहिलो नै हुन मन लाग्छ। पहिलो हुने होड सबैभन्दा रमाइलो त त्यति बेला देखिन्छ, जब काठमाडौँको कुनै सडकमा अति लामो जाम परेको हुन्छ र परबाट कुनै मान्छे त्यो जामको पुछारमा पुग्न बाइक कुदाउँछ। उसलाई थाहा छ कि त्यो जाममा पुगेर रोकिनु त छँदैछ। तर पनि उसले बाटो काट्ने मान्छेलाई जान दिँदैन। हर्न बजाउँदै, मान्छे तर्साउँदै, 'आयो तेरो सर'कै शैलीमा आफू पहिले जान्छ र जामको पुछारमा गएर कुर्छ। मानौँ, जाममा अड्किन पहिला पुग्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ। फर्स्ट प्राइज इन वेटिङ!

यहाँ सधैँ पैदलयात्री र साइकल यात्रीलाई नै प्राथमिकता दिइनुपर्छ भन्न खोजिएको होइन। तर्क के भने सवारीधनीसँग त सवारीको शक्ति छ। पैदलयात्री त निहत्था छ। उसलाई सवारीले आएर ठोकिदिने डर छ। अरूको ज्यान जोखिममा पार्नुभन्दा सवारी कम गतिमा चलाएर पैदलयात्री र साइकल यात्रीलाई पहिले जान दिँदा दुर्घटना कम हुन्छ भन्न खोजेको हुँ। जबकि, त्यो सवारी चलाउने मान्छेसँग त पेट्रोलियम वा विद्युतको साथ छ। उसले सवारी रोकेर वा बिस्तारै हाँकेर पैदल हिँड्ने वा साइकल चलाउने मानिसलाई नतर्साईकन जान दिएर आफू अगाडी बढे पनि एकपल्ट एक्सिलरेटर बटार्दा वा थिच्दा अघि अरूलाई जान दिएर 'खेर' गएको समयलाई भेट्टाउन सहजै सकिहाल्छ।

कथन ३ – बिथोलिएको निद्रा
म नेपालको कुनै एउटा सहरमा छु। रातीको १२ बजेको समय। मस्त निद्रामा छु। सुतेको कोठा मुनिको सडकमा एउटा बाइक हुइँकिन्छ। ठूलो आवाजले एक्सिलरेटर मात्र बटार्दैन, हर्न बजाउँदै अति तीव्र गतिमा हुइँक्याउँछ। उसले अरू सुतिरहेको बेला पनि 'आयो तेरो सर' भन्दै छ र बाटोमा चरोमुसो कोही नभए पनि सम्भावित अवरोधलाई 'बाटो खाली गर' भन्दैछ।

झस्केर बिउँझन्छु। यो बाइक शुरूआती 'बिन्दु क'बाट अन्तिमको 'बिन्दु ख'मा पुग्दा कति जना सुतिरहेका मान्छे तर्सेर उठे होलान्? कतिले उसलाई सरापे होलान्? 

राती अरू मानिस सुतिरहेको बेला यसरी बाइक कुदाउँदै हर्न बजाउँदा उसले अरूको निद्राको ख्याल त पक्कै गरेन, तर यसो गर्दा उसको नशामा बगेको एड्रिनलिनले गर्दा उसले कति आनन्द पायो होला? आफ्नो रोमाञ्चक यात्राको लागि अरूको निद्रा बिगार्ने अधिकार उसलाई छ? निजी सम्पत्तिको प्रयोगले अरूलाई नराम्रो असर पुर्‍याउँछ भनी संवेदनशील हुनु पर्दैन? किन हामी असंवेदनशील हुँदै गयौँ?

कसैको हातमा घन छ भने उसले सबैतिर ठोक्दै हिँड्नु पर्छ र? मादल वादकले गीत गाउँदा र नाच्दा मादल बजाउने हो कि बाटोमा हिँड्दा पनि ठटाइराख्ने? रातभरि ठटाउने? बाइकमा हर्न छ भन्दैमा जति बेला पनि प्याँप्याँ पारिराख्ने हो र?

कथन ४ – मृत्यु 
नेपाल प्रहरीले २०८१ पुषमा निकालेको रिपोर्टअनुसार दैनिक सवारी दुर्घटना ७५ वटा हुन्छन्। प्रहरीसम्म पुगेका घटना मात्र हुन् यी। प्रहरीसम्म नपुगेका 'साना' दुर्घटना अझै कति होलान्! ७५ मध्ये ५३ वटा दुर्घटना मोटरसाइकलको हुन्छ। भनिरहनु पर्दैन, दुर्घटना मुख्यतया: तीव्र गति वा मापसे वा दुवैको मिश्रण भएका कारण हुने गर्छन्। विसं २०७६ देखि २०८० सम्मको नेपाल प्रहरीकै तथ्यांक अनुसार सवारी दुर्घटनाका कारण एकै दिनमा लगभग सात जनाको मृत्यु भयो भने १६ जनालाई चोटपटक लाग्यो। यसरी वर्षमा २५०० भन्दा बढी मानिस सवारी दुर्घटनाका कारण मरिरहेका छन्।

नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे (एनडीएचएस) २०२२ अनुसार नेपालमा प्रत्येक लाख पुरुषमा ११ जना र प्रत्येक लाख महिलामा ३ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक झनै डरलाग्दो छ–नेपालमा प्रत्येक २४ मिनेटमा एक जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको छ। त्यो भनेको एक घण्टामा लगभग ३ जना र दिनमा ६० जना। अलिकति बिस्तारै सवारी हाँके र हर्नको सट्टा ब्रेक लगाए सायद यीमध्ये धेरैको ज्यान बच्थ्यो। सायद!

कथन ५ – सिकाइ
सायद, नेपालमा लाइसेन्स लिने बेला सडक सभ्यताबारे लामै कक्षा हुनुपर्थ्यो। जसरी ट्राफिक नियम मिचेपछि प्रहरीले १ घण्टाको कक्षा लिन लगाउँछ, त्यस्ता कक्षा लाइसेन्स लिने बेला दिइएको भए हामी आफ्नो सवारीले अरूलाई पार्ने असरबारे अझै सचेत हुन्थ्यौँ। वा हुन्थेनौँ! सडक दुर्घटना कम हुन्थे। वा हुन्थेनन्!

सवारी चलाउन सिक्दाताक प्रशिक्षकले तपाईं हामीमध्ये धेरैलाई भनेको हुन्छ, “मान्छे देख्ने बित्तिकै हर्न बजाउनुहोस्” वा “मोडिने ठाउँमा हर्न बजाउनुहोस्।” हामी सवारी सिकिसकेर सडकमा चलाउँदा पनि त्यही गुरुमन्त्र जप्दै हुन्छौँ। हाम्रा प्रशिक्षकले नै “हर्न बजा” को सट्टा “ब्रेक लगा” भनिदिएको भए हामी मान्छे, गाडी, वा मोडमा ब्रेक लगाएर सचेत भएर सवारी चलाउँथ्यौँ होला। अहिलेजस्तो “आयो तेरो सर, बाटो खाली गर” भन्दै हर्न बजाउन्न थियौँ होला।

यहाँ एउटा प्रतिवाद आउला, “हर्न बजाएर अगाडीको मान्छेलाई सचेत गराएको हो।” तर होइन, हर्न बजाएर अगाडीको मान्छेलाई धपाउनै खोजेको हो। सचेत त सवारी चलाउने मान्छे हुनुपर्‍यो। ब्रेक लगाउनुपर्‍यो। आफू बाटोमा छु भन्दैमा सारा टोल थर्किने गरी हर्न बजाउनलाई हामी विवेकहीन प्राणी हौँ र? 

यी भए कथनका कुरा, अब गरौँ निचोडका कुरा।

निचोड १ – हँकाइको अर्थ-राजनीति
नेपालमा जेब्राक्रस होस् वा अरू कुनै ठाउँ, पैदलयात्रु प्राथमिकतामा पर्दैनन्। सकेसम्म गाडी वा मोटरसाइकलले साइकल र स्कुटरलाई पेलेर जान्छन्। सवारीमा पनि ठूला गाडी वा जसले पेल्न सक्छ, उसकै बोलवाला सडकहरूमा हुने गर्छ। यसरी ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

तपाईँ नियमितजसो सडक प्रयोग गर्नुहुन्छ भने पक्कै पनि तपाईँले याद गर्नु भएको होला– साइकल चालक र गाडी चालकबीच अन्यले गर्ने व्यवहारको फरक। पैदलयात्रीलाई पानी परेको बेला गाडी र बाइकले सडकमा जमेको पानी छ्यापेको देख्नु वा भोग्नु भएकै होला। पैदलयात्रीले गाडीवालालाई सडकमा जमेको पानी छ्याप्ने गरेको त कतै देखिन्न। 

एउटा ठूलो बिजुली गाडी चलाउने एक जना दाइ भन्थे, “पहिले बाइक चलाउँदा सानो गाडीले हेप्थे। पछि सानो गाडी चलाउन थालेँ, ठूलो गाडीले हेप्न थाल्यो, अचेल यो ठूलो विद्युतीय गाडी चलाउन थालेपछि त ट्राफिक प्रहरीले समेत इज्जत गर्छन्। सानोतिनो गल्ती गर्दासमेत चिट काट्दैनन्।” नेपालमा पैदलयात्री र साइकलवाला भन्दा बाइकवालाको बढी 'इज्जत' छ। सानो गाडीवाल भन्दा ठूलो गाडीवालको बढी इज्जत छ। ठूलाले सानालाई हेप्ने चलनजस्तै देख्न पाइन्छ, आफूसँग भएको सम्पत्ति र विषाक्त पुरुषत्वको प्रदर्शन।

निचोड २– विषाक्त पुरुषत्वको प्रदर्शन
मानिसहरू अनेक तरिकाले आफ्नो पुरुषत्व देखाउँछन् र सबै पुरुषत्व नकारात्मक हुँदैनन्। डरलाग्दो त त्यति बेला हुन्छ जब हिन्दी सिनेमाका 'कबिर सिंह'हरूलाई मानिसले अनुसरण गर्न थाल्छन्। आफूलाई र अरूलाई आफ्नो पुरुषत्वले नकारात्मक असर गर्दागर्दै पनि त्यस्तो व्यवहार प्रदर्शन गरिरहेका हुन्छन्। जोखिम छ भनेर थाहा हुँदाहुँदै पनि त्यो जोखिम लिन खोजिरहेका हुन्छन्। त्यस्तो पुरुषत्व विषाक्त हुन पुग्छ।

सडकमा देखिने विषाक्त पुरुषत्व ठूलो आवाजमा एक्सिलरेटर बटार्दै अरूलाई धपाउँदै साँढे तालमा लगभग ज्यान जान सक्ने जोखिम मोल्दै सवारी कुदाउँदा देखिन्छ। यसरी सवारी कुदाउँदा दुर्घटना हुन सक्छ र ज्यान जान सक्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छेले त्यस्तो व्यवहार छोड्दैन, किनभने यो उसको पुरुषत्व प्रदर्शनको उपाय हो। 

फ्रान्समा गरिएको अध्ययनअनुसार (नेपालमा त्यस्तै खाले अध्ययन भएको भेटिनँ) मापसे गरेर सवारी चलाएजत्तिकै घातक छ विषाक्त पुरुषत्व। अझै, विषाक्त पुरुषत्व र मापसेको मिलन भएमा झनै कहाली लाग्दो अवस्था आउँछ। नेपाल उच्च सवारी दुर्घटना हुने ठाउँ त्यसैले पनि भएको होला। माथि भनेजस्तै, एनडीएचएस २०२२ अनुसार सडक दुर्घटनामा परेर महिलाभन्दा पुरुषको ज्यान लगभग ४ गुणा बढी जाने गरेको छ।  र, ज्यान गुमाउँदा समेत हाम्रो संवेदना बिउँझिएको छैन।

निचोड ३ – मरेको संवेदना 
स्रोतको कमी भएका धेरै जसो ठाउँमा संघर्ष नगरी बाँच्न सकिन्न। सार्वजनिक सवारी साधन चढ्दा अरूलाई ठेलेर, कुल्चेर, मुक्का नहानेसम्म चढ्न नसकिने हाम्रो बानी सरकारी कार्यालयमा लाइन नमिच्दासम्म काम छिटो नहुने अनुभवका आधारमा आफू पहिलो हुनुपर्ने हाम्रो संस्कृति बनिसकेको छ। नत्र डार्बिनले भनेजस्तै हाम्रो अस्तित्व नामेट हुन्छ।

यसरी आफू पहिलो हुन खोज्दा, बाँच्नलाई संघर्ष गर्दा हाम्रो संवेदना पनि मर्दै गएको छ। आफ्ना कारण अरूले पाएको दुःखलाई उपेक्षा गर्न थालेका छौँ हामी। आफ्नो संवेदना निमिट्यान्नै हुने गरी मर्न दिनुअगाडि आफ्नो सवारीमा ब्रेक लगाऔँ। हर्न नबजाऔँ।

(उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)